गण्डकी


घरमै पुगेर सामाजिक सुरक्षा भत्ता

घरमै पुगेर सामाजिक सुरक्षा भत्ता

फाइल तस्बिर


नेपालखबर
साउन ४, २०७९ बुधबार ७:१०, बेनी

सामाजिक सुरक्षा भत्ता लिन सास्ती बेहोर्नुपरेको जनगुनासो बढिरहेका बेला म्याग्दीका दुई स्थानीय तहले घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेका छन्। 

रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाले नीतिगत निर्णय गरेर पालिकाको केन्द्रमा रहेको बैंकमार्फत वितरण हुने सामाजिक सुरक्षा भत्ता वडा र बस्तीस्तरमै पुगेर वितरण गर्ने प्रबन्ध मिलाएका हुन्। 

रघुगङ्गा गाउँपालिकाले वडा र बस्तीस्तरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको छ। बैंकिङ प्रणालीमार्फत वितरण भइरहेको सामाजिक सुरक्षा भत्ता लाभग्राहीको थप सहजताका लागि गाउँपालिकाको समन्वयमा बैंकका कर्मचारीलाई वडा र बस्तीस्तरमै पु¥याएर वितरण गर्ने प्रबन्ध मिलाइएको गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारीले जानकारी दिए। 

रघुगङ्गाका आठवटै वडाका लाभग्राहीको प्रभु बैंकमा रहेको खातामा गत वैशाखदेखि असारसम्मको सामाजिक सुरक्षा भत्ता पठाइसकिएको र भौगोलिक कठिनाइका कारण गाउँपालिकाको केन्द्रमा रहेको बैंकसम्म आएर भत्ता बुझ्न कठिनाइ भएपछि बैंकका कर्मचारीलाई बस्तीस्तरमा पु¥याएर वितरण गर्न थालिएको हो। गाउँबस्तीमा पुगेर भत्ता वितरणमा हुने सबै खर्च गाउँपालिकाले बेहोर्ने जनाएको छ।

रघुगङ्गामा कार्यतालिका नै बनाएर मङ्गलबार वडा नं ४ बाट गाउँबस्तीमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालिएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिए। उनका अनुसार मङ्गलबार वडा नं ४ दग्नामको वडा कार्यालय र दरमिजाको शिव आधारभूत विद्यालयबाट भत्ता वितरण गर्ने काम सकिएको छ।

त्यसैगरी बुधबार वडा नं १ को बाँदुक र वडा कार्यालय बेग, बिहीबार वडा नं ७ को चिमखोला, साउन ७ गते वडा नं ६ को कोटगाउँ र वडा कार्यालय पाखापानी, साउन १० गते वडा नं ८ कुइनेमङ्गलेको वडा कार्यालय, साउन १२ गते वडा नं २ को वडा कार्यालय, देउराली आधारभूत विद्यालय र सीताराम टोल तथा साउन १३ गते वडा नं ३ को वडा कार्यालय र मालिका देवी आधारभूत विद्यालयबाट लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्ने तयारी गरिएको छ।

अन्नपूर्ण गाउँपालिकाले वडा नं १ दोबाबाट वडामै पुगेर सामाजिक भत्ता वितरण सुरु गरेको छ। पोखरेबगरस्थित गरिमा विकास बैंकमार्फत बैंकिङ प्रणालीबाट वितरण हुँदै आएकामा ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका नागरिकको सहजताका लागि बैंकका कर्मचारीले जनप्रतिनिधि र सुरक्षा निकायको रोहवरमा वडामै पुगेर भत्ता वितरण गरेका छन्।

दोबाका १२६ लाभग्राहीलाई वडाबाटै भत्ता वितरण गरिएको बैंकले जनाएको छ। अन्नपूर्ण गाउँपालिकाले आठवटै वडामा गाउँमै पुगेर लाभग्राहीलाई सामाजिक सुरक्षा वितरणको प्रबन्ध मिलाउने कार्यपालिका बैठकबाट निर्णय गरेको छ। ज्येष्ठ नागरिक, दलित, अशक्त, असहाय, विधवालगायतका लाभग्राहीलाई बैंकमा आएर भत्ता लिन असहज भएकाले उहाँहरूको सम्मान र सहजताका लागि हरेक वडामै पुगेर भत्ता वितरण गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष भरतकुमार पुनले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad