गण्डकी


पोखरा महानगरपालिकाले निजी शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याउँदै

पोखरा महानगरपालिकाले निजी शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याउँदै

नेपालखबर
साउन ३, २०७९ मंगलबार ७:४२, पोखरा

पोखरा महानगरपालिकाले व्यक्ति तथा निजी कम्पनीका शौचालयहरूलाई सर्वसाधारणले निःशुल्क प्रयोगका लागि उपयोगमा ल्याउने भएको छ।

देशकै पर्यटकीय सहर पोखराको मुख्य सहरी क्षेत्रमा अत्यावश्यक सार्वजनिक शौचालय नहुँदा सर्वसाधारणले सास्ती पाइरहेको अवस्थामा महानगरले निजी शौचालयलाई समेत सार्वजनिक प्रयोगमा ल्याउने तयारी गरेको हो।

महानगरले सार्वजनिक सूचना जारी गरी सर्वसाधारणलाई शौचालय उपयोग गर्न दिन इच्छुक व्यक्ति तथा संस्थालाई साउन मसान्तभित्रमा महानगरमा निवेदन दिन आग्रह गरेको छ।

सार्वजनिक रूपमा निःशुल्क उपयोग गर्न दिए वापत त्यस्ता व्यक्ति वा संस्थालाई महानगरबाट उपलब्ध हुने सेवा सुविधामा प्राथमिकता दिने गरी नीतिगत व्यवस्था महानगरले गरेको छ।

सहरका मुख्य र व्यस्त सडकमा अवस्थित व्यक्तिका निजी घर, बैंक, वित्तीय संस्था, होटल, रेष्टुरेण्टलगायतका व्यावसायिक, गैर व्यावसायिक वा पेशागत संस्था र कम्पनीले आफ्नो स्वामित्वमा रहेका शौचालय सर्वसाधारणलाई प्रयोग गर्न दिनका लागि इच्छुकहरूसँग सूचना आह्वान गरिएको महानगरका प्रमुख प्रशासकीय अधिकृत बलराम रिजालले बताए।

उनले भने, 'महानगरले शौचालय प्रयोग गर्न दिन मञ्जुर व्यक्ति वा संस्थालाई साउन मसान्तसम्म निवेदन दिन भनेको छ, त्यस्ता शौचालयमा आवश्यक पर्ने सफाइ एवं स्यानिटरी सामग्रीमा महानगरले लागत सहभागिता जनाउने छ।'

सार्वजनिक शौचालयका बारेमा सर्वसाधारणको जानकारीका लागि यस्ता स्थानमा विशेष पहिचान युक्त लोगो वा सङ्केत राख्ने गरी कार्यपालिका बैठकबाट निर्णय भएको छ।

शौचालय प्रयोग गर्न दिने व्यक्ति, संस्था वा कम्पनीको विवरण महानगरको वेबसाइटमा राखिने बताइन्छ।

पोखराका मुख्य सहरी क्षेत्रमा सार्वजनिक शौचालय नहुँदा सर्वसाधारणलाई असहज हुँदै आएको छ।

महानगरले सार्वजनिक शौचालय निर्माणका लागि जग्गा नभएकाले काम अघि नबढेको जनाएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad