अमेरिका र बेलायत आफूहरुबीच ‘विशेष’ सम्बन्ध रहेको दाबी गर्छन्। हुन पनि कयौँ दशकदेखि यी दुई मुलुकबीच कुनै पनि विषयमा खास मतभिन्नता देखिएको छैन। नेटो, जी७ सहितका मञ्चमा यी मुलुक सँगसँगै छन्।
तर, अहिले यी दुई मुलुकबीच विमतिको एउटा विषय फेला परेको छ। त्यो विषय हो– चिया कसरी तयार गर्ने?
खासमा एक अमेरिकी वैज्ञानिकले बेलायतीहरुको प्रिय पेय चियालाई स्वादिष्ट बनाउन नुन हाल्नुपर्ने बताएपछि यो विवाद सुरु भएको हो। ब्रिन मावर कलेजका रसायनशास्त्रकी प्राध्यापक मिसेल फ्य्राङ्कलले आफ्नो नयाँ पुस्तक ‘स्टिप्डः द केमिस्टी अफ टी’ मा चियासम्बन्धी एक हजार वर्ष पुराना दस्तावेजहरुको अध्ययन गरेर चिया पकाउने उचित विधि सिफारिस गरेकी हुन्।
उनले उत्तम चियाका लागि अन्य उपायहरु सुझाएकी छिन्। तर, चियालाई आफ्नो पेय ठान्ने बेलायतीहरु सबैभन्दा क्रुद्ध भने नुन हाल्ने सुझावबाट भए। कतिसम्म भने यसमा बेलायतस्थित अमेरिकी दूतावासले नै हस्तक्षेप गर्नुपरेको छ।
‘यसप्रकारको अपमानजनक प्रस्तावले हाम्रो विशेष सम्बन्धको आधारलाई खतरामा पार्दा हामी चुपचाप हेरिरहन सक्दैनौँ,’ अमेरिकी दूतावासले स्पष्ट पारेको छ, ‘चिया हाम्रो मित्रताको अमृत हो, एक पवित्र बन्धन हो, जसले हाम्रा देशहरुलाई एकजुट पार्छ।’
— U.S. Embassy London (@USAinUK) January 24, 2024An important statement on the latest tea controversy. 🇺🇸🇬🇧 pic.twitter.com/HZFfSCl9sD
‘त्यसैले हामी बेलायतका असल मानिसहरुलाई यो स्पष्ट पार्न चाहन्छौँ कि बेलायतको राष्ट्रिय पेयमा नुन हाल्ने अकल्पनीय धारणा संयुक्त राज्य अमेरिकाको आधिकारिक नीति होइन। र, कहिल्यै पनि हुने छैन,’ दूतावासले भनेको छ।
उसो त चियाका कारण दुई देशको सम्बन्धमा दरार आएको यो पहिलो पटक होइन। सन् १७७३ मा बोस्टनमा अमेरिकीहरुले बेलायतबाट आएको चिया समुद्रमा फालेका थिए। बोस्टन टी पार्टी भनिने यो घटनाले अमेरिकी क्रान्तिलाई चर्काउन भूमिका खेलेको थियो।
तर, प्राध्यापक फ्य्राङ्कलले भने कूटनीतिक तनाव सिर्जना गर्ने आफ्नो नभएको बताएकी छन्। एजेन्सी
Shares

प्रतिक्रिया