भारतको बिहारमा एक गिरोहले मानिसहरुसँग रकम असुलीको लागि एक प्रहरी स्टेसन नै बनाएको खुलेको छ।
बिहीबार बिहारका प्रहरी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो आठ महिनादेखि एउटा होटलमा प्रहरी चौकी बनाएर असुली गरिरहेको गिरोह पक्राउ परेको हो। यो गिरोहले सयौं मानिसहरुबाट असुली गर्ने गरेको प्रहरीको भनाइ छ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार उक्त नक्कली प्रहरी चौकीमा मानिसहरु उजुरी तथा गुनासोको लागि आउँदा उनीहरुसँग त्यहाँ बसेका मानिसहरुले पैसा मागेर असुली गर्ने गरेका थिए। साथै उनीहरुले केही मानिसहरुलाई प्रहरीमा काम पनि लगाउन सहयोग गर्ने वाचा गरेका थिए।
नक्कली प्रहरी चौकीमा गिरोहमा संलग्न मानिसहरु प्रहरीजस्तै गरी बसेका हुन्थे। उनीहरुले अनुराग गेस्ट हाउसभित्र उक्त नक्कली प्रहरी चौकी बनाएका थिए।
यद्यपि एकदिन सक्कली प्रहरीले दुई नक्कली प्रहरी सेवामा प्रयोग गरिनेभन्दा फरक किसिमको हतियार बोकेर हिँडेको देखेपछि उनीहरुमाथि निगरानी बढाएको थियो।
सोही क्रममा उक्त गिरोहका कम्तीमा छ जना सदस्य पक्राउ परेका छन् भने यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
हिन्दूस्तान टाइम्सका अनुसार प्रहरीले देशभित्रै बनाइएको पेस्तोल, चार प्रहरी पोशाक, पाँच सयभन्दा धेरै प्रधानमन्त्री आवास योजना आवेदन, ४० मतदाता कार्ड, बैंक चेक बुकहरु, पाँच मोबाइल फोनका साथै अन्य आपराधिक गतिविधिमा प्रयोग हुने सामग्रीहरु पनि प्रहरीले बरामद गरेको छ।
प्रतिक्रिया