धनगढीमा विश्व नेपाली नारी साहित्य महोत्सव सुरु भएको छ। महोत्सवको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज उद्घाटन गरे।
आगामी १३ गतेसम्म सञ्चालन हुने महोत्सवमा भारत, अमेरिका, भुटान, म्यानमारलगायत देशबाट दुई सयभन्दा बढी नेपाली साहित्य स्रष्टा सहभागी छन्।
तेस्रोपटक सुदूरपश्चिमाञ्चल साहित्य समाजले महोत्सव आयोजना गरेको हो। यसअघि साहित्य समाजले २०७६ सालमा सात दिन सञ्चालन गरेको विश्व नेपाली साहित्य महोत्सव आयोजना गरिसकेको थियो।
त्यस्तै गत वर्ष नेपाली साहित्य महोत्सव आयोजना भएको थियो। आयोजक साहित्य समाजका अध्यक्ष तीर्थराज पाण्डेयले साहित्यिक स्रष्टाहरूको महोत्सवमा आफ्नो प्रस्तुति राखिने बताए। महोत्सवमा चार दिनसम्म विभिन्न २४ वटा शीर्षकमा साहित्य संवाद सत्र सञ्चालन हुनेछन्।
महोत्सवमा विलक्षण साहित्यिक व्यक्तित्व झमक घिमिरे, अद्भूत प्रतिभा बालिका प्रेन्सा रेग्मी, साहित्यकार सनत रेग्मी, नवराज लम्साललगायत १२ जनाभन्दा बढी व्यक्तित्वलाई सम्मान गरिएको छ। साहित्य समाजद्वारा स्थापना गरिएको रु एक लाख ११ हजार राशिको बद्रि–कृष्णा वाङ्गमय पुरस्कार विलक्षण साहित्यिक प्रतिभा झमक घिमिरेलाई प्रदान गरिने भएको हो।
महोत्सवमा साङ्गीतिक साँझ तथा सुदूरपश्चिम प्रदेशका विभिन्न समुदायका मौलिक संस्कृति गमरा, छलिया, भुवो, हुड्केली, महिला छलिया र पुतला खेल, सखिया नृत्य, ठाडीभाका गायन, रानाथारुको होली र डगौरा थारुको लठौवा नाच प्रस्तुत गरिने छ।
कार्यक्रममा सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले साहित्यिक महोत्सवले सुदूरपश्चिमको संस्कृतिलाई उजागर गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे। ‘सुदूरपश्चिमको साहित्य र कला संस्कृति उजागर गर्नका लागि मेरोतर्फबाट पूर्ण सहयोग रहनेछ” उनले भने, ‘यसमा प्रदेश सरकार जहिले पनि तत्पर रहनेछ।’
साहित्य समाजका अध्यक्ष पाण्डेयले २०७६ सालमा आयोजना भएको विश्व नेपाली साहित्य महोत्सवले नै सुदूरपश्चिमलाई भाषा, साहित्य, कला र संस्कृतिको क्षेत्रमा विश्वस्तरमै परिचय गराइसकेको उल्लेख गर्दै यसपटकको महोत्सवले साहित्यले विश्वलाई जोड्ने बताए।
‘विगतमा मुलुकका अन्य भाग र विश्वभरीले सुदूरपश्चिम सामाजिक, आर्थिक, सांस्कृतिकरुपमा पछाडि परेको अँध्यारो प्रदेशका रुपमा बोध गरिन्थ्यो, तर हामीले विश्व नेपाली साहित्य महोत्सव आयोजना गरेपछि यो भ्रम पूर्ण रुपमा टुटेको छ”, उनले भने।
महोत्सवको संयोजकको भूमिका निर्वाह गरिरहेका संस्कृतिविद् यज्ञराज उपाध्यायले साहित्य महोत्सवले नेपाली भाषा, साहित्यको उद्गमस्थल देवभूमि सुदूरपश्चिमसँग स्वदेश तथा विदेशका मूर्धन्य साहित्यिक स्रष्टाहरूले साक्षत्कार गर्ने अवसर प्राप्त गरेको बताए।
‘वास्तवमा धनगढी चेतना, साहित्य र बौद्धिकताको सहरका रुपमा स्थापित भएको छ”, उनले भने। महोत्सवममा साहित्यकार रामलाल जोशीले कुनैबेला दुर्गम र पिछडिएको ठान्ने सुदूरपश्चिममा अहिले मुलुकका स्थापित स्रष्टाहरूका साथै विश्वभरीका नेपाली साहित्य सर्जकहरू आउन वातावरण भएको बताए। तीनवटा ठूला साहित्य महोत्सवपछि सुदूरपश्चिमका भाषा, साहित्य, कला वाङ्गमयले सगरमाथाको उचाइ प्राप्त गरेको अनुभव उनले सुनाए।
महोत्सवले नेपाली भाषा, साहित्य र सभ्यताकै जननी स्थलका रुपमा रहेको काली–कर्णाली क्षेत्रको गौरवगाथा तथा प्रदेशको कला, संस्कृति, प्रकृति, पर्यटन, इतिहास, सम्पदा, दर्शन, साहित्य, उद्योग, व्यापार र समग्र सामाजिक विकासका पक्षलाई उजागर गर्न योगदान पुर्याउने विश्वास गरिएको छ।
सुदूरपश्चिम प्रदेशबाट उद्गम भएको नेपाली भाषा, संस्कृति, सभ्यता र पहिचानलाई बोकेर संसारका विभिन्न देशमा पुगेका नेपाली भाषी वीर जातिले आफ्नो भाषा, संस्कृति र पहिचानलाई विश्व रङ्गमञ्चमा छुट्टै पहिचान दिलाएको सहभागी साहित्यकारको जोड छ।
संसारभरिका नेपाली भाषीहरूलाई जोड्न र नेपाली भाषा–साहित्यको श्रीवृद्धिमा जुटेका संसारभरिका नेपालीभाषी साधकहरूले एकै मञ्चमा आराधना गर्न विश्व साहित्य महोत्सव आयोजना गरिएको जनाएको छ। रासस
प्रतिक्रिया