बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका मन्त्रीहरुले शुक्रबार राजीनामा दिए।
प्रदेश सभा बैठकमै मन्त्रीपदबाट राजीनामा बुझाएका मन्त्रीहरु घर फर्कने क्रममा तीन जनाले आफूले प्रयोग गर्दै आएको मन्त्रालयकै गाडीमा फर्किए भने एक मन्त्रीले फर्कंदा मन्त्रालयको गाडी प्रयोग गरेनन्।
मकवानपुरबाट प्रदेश सभामा निर्वाचित भएका एकालाल श्रेष्ठ गत माघ ११ गते श्रम रोजगार तथा यातायात मन्त्रीमा नियुक्त भएका थिए।
शुक्रबार मन्त्री पदबाट राजीनामा दिएका श्रेष्ठले ५८ दिन मन्त्रालयको सेवा सुविधा प्रयोग गरे। शुक्रबार ५९ औं दिनमा राजीनामा दिएपछि उनी घर फर्कंदा मन्त्रालयको गाडी चढ्न मानेनन्।
मन्त्री पद छोडिसकेपछि मन्त्रीको सुविधा लिनु उपयुक्त नलागेको भन्दै श्रेष्ठले निजी सवारी मगाएर प्रदेश सभा भवनबाट बाहिरिए। उनी चढ्दै आएको बागमती प्रदेश ०३–००१ झ १११ नम्बरको गाडि रित्तै फर्कियो।
‘मन्त्री नै छोडिसकेको अवस्थामा मन्त्रालयको गाडी चढ्नु उचित लागेन अनि साथीको गाडि मगाएँ’ श्रेष्ठले भने, ‘आज छोडेपनि भोलि छोडेपनि छोड्ने नै हो। पदमा नहुँदा पनि पदीय सेवा सुविधा लिनु गैर कानुनी काम हो। त्यसैले मन्त्री छोडेपछि मन्त्रालयको सबै सेवा सुविधा पनि तुरुन्तैबाट छोडेको हुँ।’
यद्यपी, एमालेकै तीन पूर्वमन्त्रीहरु जगन्नाथ थपलिया, केशवप्रसाद पोखरेल र रामेश्वर श्रेष्ठले भने घर फर्कनको लागि आफूले प्रयोग गर्दै आएको मन्त्रालयकै गाडि प्रयोग गरेका हुन्। घर पुर्याएपछि फिर्ता पठाउने उनीहरुले जानकारी दिए।
शुक्रबार प्रदेशसभा बैठकबाट मुख्यमन्त्री जम्कट्टेल नेतृत्वको सरकारलाई दिइएको समर्थन फिर्ता लिएको एमालेले प्रदेशसभाको बैठक चलिरहेकै अवस्थामा राजीनामा दिएका हुन्। उनीहरुले सदनभित्र मुख्यमन्त्रीलाई राजीनामापत्र बुझाएका थिए।
प्रतिक्रिया