कला


रंगशालाको ऋणले डिप्रेसनमा धुर्मुस, गर्दै छन् प्राकृतिक उपचार

रंगशालाको ऋणले डिप्रेसनमा धुर्मुस, गर्दै छन् प्राकृतिक उपचार

नेपालखबर
कात्तिक २८, २०८२ शुक्रबार १४:३२, काठमाडौँ

बुधबार बिहानै। कलाकार कुमार कट्टेलले फेसबुकमा गीतसहित एउटा भिडिओ हाले।

क्याप्सन छ : ५ वर्षदेखि न्यायका लागि सिंहदरबार भौतारिँदै गरेको मेरो दाइ!

भिडिओमा उनका दाइ अर्थात् कलाकार सीताराम कट्टेल छन्। 

जो गौतमबुद्ध रंगशालाको मुद्दामा दौडधुप गरिरहेका छन्। 

अनि भिडिओमा गीत बजिरहेको छ :

यो मन पनि मरिसक्यो

ब्युँझने आश छैन

ओइलिसके सारा रहर

अब कुनै मधुमास छैन

कुमारले दाइको पीडा नजिकबाट देखेर होला- गीत पनि त्यस्तो राखे।

हुन पनि सीताराम अर्थात् धुर्मुसलाई गौतमबुद्ध क्रिकेट रंगशाला बनाउँदाको ऋणले निकै पिरोलिरहेको छ।

किनकि पाँच वर्ष भइसक्यो- त्यस सम्बन्धी मुद्दा वारपार हुन सकेको छैन। 

हिजो बिहीबार पनि कुमारले दाइको अर्को भिडिओ पोस्ट गरेका छन्।

क्यापसनमा लेखिएको छ:

रातदिन सिंहदरबारको बास

अनि अहिलेको दाइको अवस्था

देश बनाउनुपर्छ भन्ने युवाले पाएको प्रोत्साहन

उक्त भिडिओमा भने सीताराम बेडमा पल्टिरहेका छन्। 

खासमा उनी प्राकृतिक चिकित्साबाट डिप्रेसनको उपचार गराइरहेका छन्। उनको अहिले थेरापी चलिरहेको छ।

जुन भिडिओ यतिखेर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

यस क्रममा धेरै जनाले उनको अवस्थाप्रति चासो राख्दै स्वास्थ्यलाभको कामना गरिरहेका छन्।

रंगशालाको ऋणले सीताराम लामो समयदेखि तनावमा छन्।

श्रीमती कुञ्जना घिमिरेका अनुसार सीतारामको उपचार नवलपरासीस्थित सामुदायिक प्राकृतिक चिकित्सालयमा चलिरहेको छ। 

पति सीतारामको हालैको तस्बिरसहित कलाकार कुञ्जनाले लेखेकी छन्, ‘उहाँ शारीरिक अनि मानसिक दुवै रूपले धेरै नै गल्नुभएको छ। तर, हजुरहरूको मायाले उहाँ छिट्टै पहिलेको सामान्य अवस्थामा फर्किनुहुनेछ भन्ने आश जागेको छ।’

परिवारले दिएको जानकारीअनुसार सीताराम डिप्रेसन र एन्जाइटीको समस्याबाट गुज्रिरहेका छन्। गत वैशाखदेखि नै उनी उपचारमा छन्। 

डाक्टरले विभिन्न थेरापीद्वारा उनको उपचार गरिरहेका छन्। साथै उनीहरूले धुर्मुसलाई धेरै तनाव नलिन सुझाव दिइरहेका छन्।

हास्य कलाकार धुर्मुसले गत वर्ष झण्डै पाँच वर्षपछि फिल्म खेलेका थिए। तर, उनको मुख्य भूमिका रहेको फिल्म ‘लाज शरणम्’ बक्सअफिसमा खासै चल्न सकेन।

के हो विवाद?

सीतारामले धुर्मुस सुन्तली फाउन्डेसनमार्फत सहयोग संकलन गरेर चितवनमा  २० बिघा ६ कठ्ठा जग्गामा गौतम बुद्ध क्रिकेट रंगशाला बनाउन सुरु गरेका थिए। तर, रकम अभावका कारण २०७८ मा निर्माण रोकिएको थियो। त्यसपछि फाउन्डेसनले रंगशालाको स्वामित्व लिइदिन अनुरोध गर्दै भरतपुर महानगरपालिकालाई पत्र पठाएको थियो।

यसअनुसार भरतपुर महानगरपालिकाले स्वामित्व त ग्रहण गर्‍यो तर रंगशाला निर्माणमा खर्च भइसकेको १८ करोड ४३ लाख ऋण कसले तिर्ने भन्ने विवाद सुरु भयो। 

भरतपुर महानगरपालिकाका अनुसार रंगशाला निर्माणमा ५७ करोड ९२ लाख ८५ हजार ७३८ खर्च भएको छ। त्यसमध्ये १८ करोड ४३ लाख ऋण छ। महानगरपालिकाले गराएको अडिटमा समेत ऋण तिनुपर्ने देखिएको छ। तर, ऋण कसरी तिर्ने भन्ने विषयले निकास पाउन सकेन। 

२०७९ मंसिर २९ गते तत्कालीन मन्त्रिपरिषद्‌ले ऋणमध्ये १२ करोड रकम अनुदान दिने निर्णय गरेको थियो। त्यतिबेला युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्‌मार्फत भुक्तानी दिने पत्रसमेत पठाएको थियो। तर, परिषद्‌ले आफूलाई यसबारे कुनै जानकारी नभएको र सम्झौतासमेत नभएको भन्दै दिन नसकिने जवाफ दियो। 

त्यसपछि २०८० असारमा बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयमार्फत भरतपुर महानगरपालिकालाई स:सर्त अनुदान रकम दिने निर्णय गरेको थियो। असार १६ गते मन्त्रीले तोक लगाएपछि अर्थ मन्त्रालयबाट भरतपुर महानगरपालिकाको खातामा १२ करोड रकम जम्मा भएको थियो। 

तर, महानगरपालिकाले रकम भुक्तानीको प्रक्रिया पूरा गर्न नसक्दा १२ करोड रुपैयाँ रकम संघीय सरकारकै खातामा फिर्ता भयो। जसले गर्दा यो प्रक्रिया गिजोलिएको हो। यद्यपि रंगशाला निर्माण भने सरकारले नै गर्नेगरी काम अघि बढाएको छ।

निर्माण गर्दा लागेको रकम तिर्न नसकेपछि धुर्मुस दम्पती सिंहदरबार धाइरहेका हुन्।

हातभरि फाइल बोकेर सिंहदरबारका कोठाकोठा चहारे पनि राज्यले आफ्नो समस्या नसुनेको दुखेसो उनीहरूले गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad