कला


डोको बोकेर सडक-सडक डुलिरहेकी छन् ‘गौँथली’

डोको बोकेर सडक-सडक डुलिरहेकी छन् ‘गौँथली’

नेपालखबर
असार २८, २०८३ आइतबार १४:५, काठमाडौँ

काठमाडौँको व्यस्त सडक, हजारौँको भीड।

त्यही भीडको माझमा एक युवती डोकोमा घाँस बोकेर हिँडिरहेकी थिइन्। तर अचम्मको कुरा चाहिँ डोको बोकेर हिँडिरहेकी युवतीसँग सेल्फी खिच्नेको भीड थियो। जो सुन्दर युवती थिइन्- अभिनेत्री सिम्रन खड्का।

‘गौँथली’को मुख्य भूमिकामा रहेकी सिम्रन फिल्मको प्रचारका लागि शनिबार डोकोमा घाँस बोकेर काठमाडौं र ललितपुरका सडक-सडक पुगिन्।

सुरुदेखि प्रचारको नयाँ तरिका अपनाइरहेको ‘गौँथली’को निर्माण टिमले शनिबार सिम्रनलाई सिनेमाको क्यारेक्टरमै दर्शक भेट्न डोको बोकाएर सडक-सडकमा पुर्‍याएको थियो।

काठमाडौँको वसन्तपुर र ललितपुरको पाटन क्षेत्रमा डोको बोकेर पुगेकी सिम्रनले दुई हजारभन्दा धेरै दर्शकलाई भेटेर ‘गौँथली’ हेर्न आग्रह गरिन्। सिनेमाको सारांश र डिटेल समेटिएको ब्रोसर दिँदै सिनेमा हेर्न निम्तो दिइन्।

‘हामीले नयाँ तरिकाबाट दर्शकमाझ पुगेर सिनेमा हेर्न आग्रह गर्‍यौँ। धेरैले हाम्रा अन्तर्वार्ता र ट्रेलर हेरेर सिनेमा हेर्ने निर्णय गरिसकेको बताउनु भयो। केहीले त हामी यो सिनेमा हेर्न हलमा गएका थियौँ, तर लागेकै रहेनछ भन्नुभयो,’ सिम्रनले भनिन्।

प्रत्यक्ष भेटेर दर्शकलाई सिनेमा हेर्न निम्तो दिँदा रमाइलो अनुभव गरेको र दर्शकले ‘हामी सिनेमा हेर्न जान्छौँ’ भन्दा आत्मविश्वास बढेको उनले बताइन्।

कपिल रिजालले निर्देशन गरेको चलचित्रले यतिबेला राम्रो चर्चा बटुलिरहेको छ। साउन १ गतेबाट प्रदर्शनको तयारीमा रहेको यो फिल्मको ट्रेलर युट्युबको ट्रेन्डिङ १ मा छ।

भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको यस फिल्ममा सिम्रनसहित अरुण क्षेत्री, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको अभिनय छ। बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपालीले अभिनय गरेका छन्।

चलचित्रको कार्यकारी निर्माता सरला रिजाल छिन्। निर्माताको रूपमा सुमन गिरी र डा. कपिल रिजाल छन्। इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सहनिर्माताको रूपमा रहेका छन्।

डा. भोला रिजालको कथा रहेको चलचित्रको पटकथा तथा संवाद लेखनमा निर्देशक डा. कपिलसँगै निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले सहकार्य गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad