ad ad

कला


प्रहरीले बोलाउँदा अनमोलले भनेका थिए– म आउँदिनँ, जे गर्न सक्नुहुन्छ गरे हुन्छ

१ करोड बढी लगानी भएको निर्माण पक्षको दाबी, अनमोलले लिएका थिए १० लाख
प्रहरीले बोलाउँदा अनमोलले भनेका थिए– म आउँदिनँ, जे गर्न सक्नुहुन्छ गरे हुन्छ

नेपालखबर
असोज १२, २०८० शुक्रबार २१:१, काठमाडौँ

अभिनेता अनमोल केसीलाई आइतबार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइने भएको छ। 

‘आपराधिक विश्वासघात’को आरोपमा शुक्रबार पक्राउ परेका केसीलाई सिंहदरबार प्रहरी वृत्तको हिरासतमा राखिएको छ। 

उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार उनलाई साँगाबाट पक्राउ गरेको हो। केसी दोलखा पुगेर फर्किंदै गर्दा बाटोबाटै नियन्त्रणमा लिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले बताए। 

‘रावायण’ नामको फिल्मको अभिनयका लागि अनमोलले निर्मातासँग १० लाख रुपैयाँ लिइसकेका थिए। अनमोल र निर्माताबीचको सम्झौता अनुसार बुधबारदेखि नै फिल्म सुटिङ सुरु भइसक्नु पर्ने हो।

तर फिल्म सुटिङ सुरु गर्ने बेलामा अनमोलले आलटाल गरेपछि निर्मातासँग विवाद बढेको थियो। त्यसपछि अनमोलविरुद्ध जाहेरी दिन निर्माता पक्ष उपत्यका अपराध अनुसन्धान कार्यालयमा पुगेको थियो। 

अभिनेता केसीविरुद्ध जाहेरी लिएर आएपछि प्रहरीले केसीलाई सम्पर्क गरेर छलफलका लागि बोलाएको थियो। 

निर्माताले भने फिल्म सुटिङका लागि एक करोड ५ लाख रुपैयाँ खर्च भइसकेको जनाएको छ। ६५ जना प्राविधिकलाई पनि पारिश्रमिक दिइसकेको र सबै गरेर त्यतिरकम खर्च भइसकेको निर्माताले प्रहरीसामु दाबी गरेका छन्। 

फिल्म सुटिङ नभएपछि निर्माताले पारिश्रमिक बापत दिएको रकम फिर्ता मागेका थिए। तर प्राविधिकहरुले त्यो रकम घर खर्च भइसकेको र तिर्न नसक्ने काम गर्ने बताएपछि निर्माता र प्राविधिक प्रहरी कार्यालय पुगेका थिए। 

‘त्यसपछि हामीले अनमोल केसीलाई छलफलका लागि सोमबार बोलाएका थियौं, तर अनमोल केसीले म आउँदिन, तपाईहरुले सकेको गर्नुस् भने। त्यसपछि हामीले सकेको गरेको हो’, एसएसपी राठौरले नेपालखबरसँग भने।

निर्माताले जाहेरीमा आफ्नो सम्पुर्ण रकम फिर्ता माग गरेका छन्। केसीले छलफलमा आउन नमानेपछि प्रहरीले जाहेरी दर्ता गरेर अदालतबाट पक्राउ अनुमति लिएको थियो। 

यता अनमोल केसीले भने आफूविरुद्ध पक्राउ पुर्जी जारी भएको थाहा पाएपछि पक्राउ नगर्न अन्तरिम आदेशको माग गर्दै उच्च अदालत पाटनमा निवेदन दिएका थिए। उनको माग अनुसार नै उच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेलको इजलासले उनलाई पक्राउ नगर्न अन्तरिम आदेश दिएको थियो। 

तर अदालतले देवानी दायीत्वको विषयमा पक्राउ नगर्नू भनि आदेश दिएको थियो। प्रहरीले उनलाई फौजदारी कसुरको आरोपमा पक्राउ गरेको छ। फौजदारी कसुरको आरोपमा पक्राउ गर्न भने प्रहरीलाई बाधा पर्दैन। 

प्रहरीले अनमोललाई आइतबार अदालतमा उपस्थित गराउने छ। अदालतले अनुमति दिए प्रहरीले २५ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सक्छ। तर जाहेरवालाले सहमती गरेमा भने त्यसअघि नै अनमोल छुट्न सक्छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .