ad ad

कला


काठमाडौँ-कलिङ साहित्यिक महोत्सवमा राजेश हमालदेखि मीन भामसम्म

काठमाडौँ-कलिङ साहित्यिक महोत्सवमा राजेश हमालदेखि मीन भामसम्म

नेपालखबर
भदौ २०, २०८१ बिहिबार १८:२६, काठमाडौँ

ललितपुरस्थित होटल हिमालयमा शनिबारदेखि ‘काठमाडौँ-कलिङ साहित्य महोत्सव’को तेस्रो संस्करण सुरू हुँदैछ।

महोत्सवको मञ्चमा सिनेक्षेत्रका हस्ती महानायक राजेश हमालदेखि निर्देशक मीन भामसम्म देखिँदैछन्। चलचित्र क्षेत्र मात्रै नभई रंगमञ्चदेखि साहित्यका थुप्रै सेसन महोत्सवभरि आकर्षणको रुपमा हुनेछन्। 

महोत्सवको पहिलो दिनको सुरूवातमा ‘सेन्ट्रल थिम: नेपाल-द गेटअवेज टु एसियन आर्ट, कल्चर एन्ड लिट्रेचर’ मा अन्तर्क्रिया हुनेछ। चन्द्रदेव भट्ट सहजककर्ता रहेको सेसनमा डा. अभि सुवेदी, तुलसी दिवस, उदय प्रकाश, रोहिनी राना गफिनेछन्।

१२ बजेदेखि तुलसी दिवस, भुवन ढुंगाना, अशेष मल्ल, मञ्जु काचुलीसहितका दुई दर्जनभन्दा बढी कविहरुको कविता सुनाउनेछन्।

शनिबार दिउँसो १:४५ बजेबाट चलचित्रक्षेत्रको विषयमा अन्तर्क्रिया चल्नेछ। ‘द आर्ट अफ स्टोरीटेलिङ इन फिल्म’ शीर्षकमा भामसहित निर्देशकद्वय सुजित बिडारी र समुन्द्र भट्टले अनुभव साट्नेछन्।

भाम निर्देशित फिल्म ‘शाम्बाला’ भदौ २८ गतेबाट रिलिज हुँदैछ। यो बर्लिन फिल्म महोत्सवको प्रमुख प्रतिस्पर्धामा छनोट हुने पहिलो नेपाली फिल्म हो। हालै यस फिल्मकी अभिनेत्री थिन्ले ल्हामोले लोकार्नो फिल्म महोत्सवमा उत्कृष्ट अभिनयका लागि ‘बोक्कालिनो डिओर’ अवार्ड जितेकी थिइन्। बसन्त बस्नेतले सहजीकरण गर्ने सेसनमा निर्देशकहरुले फिल्ममा कथाको कलात्मक प्रयोगबारे कुरा गर्नेछन्।

लगत्तै ‘इकोज अफ अ बोल्ड भ्वइस’ शीर्षकमा साहित्यकार बुद्धिसागरले आफ्नो यात्राबारे प्रस्तुति दिनेछन्।

त्यस्तै, छैटौँ सेसनमा चलचित्रकै विषयमा कुराकानी हुनेछ। ‘नायक र नायकत्व’ विषयमा अहिलेका चर्चित कलाकारहरु दीपकराज गिरी, दयाहाङ राई र सुरक्षा पन्तबीच अन्तर्क्रिया हुनेछ। यस सेसनलाई पत्रकार सुशील पौडेलले चलाउनेछन्।

त्यस्तै, साहित्यिक महोत्सवको आवश्यकताको विषयमा अमितकुमार शाह, प्रकाश थाम्सुहाङ र शैलेन्द्र अधिकारी छलफल गर्नेछन्। यस सेसनमा राधिका अधिकारीले सहजककर्ताको भूमिका निर्वाह गर्नेछिन्।

महानायक राजेश हमाल दोस्रो दिनको मुख्य आकर्षणको केन्द्र रहनेछन्। हमालले ‘लाइफ डेडिकेटड टु नेपाली फिल्मस्’ मा अनुभव सुनाउनेछन्। टेलिभिजन होस्ट रुपेश श्रेष्ठ सहजककर्ता रहेको कार्यक्रम दिउँसो ३:१५ बजेबाट सुरु हुनेछ।

अर्को सेसनमा सौन्दर्य प्रतियोगिताको विषयमा छलफल चल्नेछ। ‘ब्युटी विथ ब्रेन एन्ड सोसल रेस्पोन्सबिलिटी’ मा पूर्व मिस्टर सुप्रानेसनल नेपाल तथा सुप्रानेसनलका थर्ड रनरअप डा. सन्तोष उपाध्यायले आफ्ना विचार प्रस्तुत गर्नेछन्। त्यसैगरी, पूर्व मिस नेपाल अर्थ प्रिया सिग्देल र मिस युनिभर्स नेपाल २०२३ जैन दीपिका ग्यारेट वक्ताको रुपमा रहेका छन्।

कलिङमा रंगमञ्चका विषयमा पनि सत्र छन्। रीना मोक्तान सहजककर्ता रहेको ‘रंगमञ्चमा पुस्तान्तरण’ विषयमा युवा रंगकर्मीहरु आकांक्षा कार्की, अनिल सुब्बा र प्रवीण खतिवडाबीच अन्तर्क्रिया हुनेछ।

कला/साहित्यसहित समसामयिक, राजनीतिकदेखि मिडियाक्षेत्रका विषयमा समेत अन्तर्क्रिया कार्यक्रमहरु आयोजना हुनेछन्। महोत्सवको दोस्रो दिन ‘रोल अफ मास मिडिया इन लिट्रेचर’ शीर्षकमा उमेश चौहान, दिलभूषण पाठक र बिनु सुवेदीले कुरा गर्नेछन्। जुन कार्यक्रमको विमल आचार्य सहजककर्ता हुन्।

काठमाडौँ-कलिङ साहित्यक महोत्सव यशस्वी प्रज्ञा प्रतिष्ठान र भारतको कलिङ साहित्य महोत्सवको आयोजनामा हुन लागेको हो। भारतको पूर्वी भाग उडिसाको भुवनेश्वरमा वार्षिक रुपमा आयोजना हुने प्रतिष्ठित साहित्यक महोत्सवमध्येको एक हो।

काठमाडौँ कलिङमा नेपालसहित भारत, भुटान, बंगलादेश, श्रीलंकासहित ४०० बढी सहभागी हुनेछन्। भारतकी चर्चित होस्ट मारिया गोरेट्टीसहित लेखक उदयप्रकाश, लक्ष्मी पुरी लगायतका नेपाल आउँदैछन्।

नेपालको भाषा, साहित्य र कलालाई अन्तर्राष्ट्रिकरण गर्ने उद्देश्यले यो महोत्सव सुरु गरिएको महोत्सवकी संस्थापक तथा निर्देशक रञ्जना निरौलाले जानकारी दिइन्।

‘साहित्यभित्र चलचित्र, संगीत, नृत्य, कविता र रंगमञ्च सबै पर्छन्। जसकारण हामीले साहित्यभित्रका विविध विधाहरुलाई महोत्सवमा समेट्न खोजेका छौँ। महोत्सवमार्फत साहित्यका यी विधालाई अन्तर्राष्ट्रियकरण गर्ने हाम्रो प्रमुख उद्देश्य हो।’

यस महोत्सवमार्फत नेपाल, भारत तथा दक्षिण एसियाली देशहरुबीचको सांस्कृतिक, धार्मिक तथा साहित्यिक आदानप्रदानसहित दिर्घकालीन सम्बन्धलाई बलियो बनाउने समेत उनको दाबी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .