ad ad

कला


अभिनेता धीरजसँगै नाचे पूर्वउपराष्ट्रपति पुन

अभिनेता धीरजसँगै नाचे पूर्वउपराष्ट्रपति पुन

नेपालखबर
भदौ ३०, २०८१ आइतबार ११:१८, काठमाडौँ

असोज ३ गते रिलिज हुने फिल्म ‘खुस्मा’का मुख्य कलाकार धीरज मगर र उपासनासिंह ठकुरी प्रचारको दौडधुपमा छन्।

यसैबीच शनिबार अभिनेता धीरज मगर नेपाल मगर सा‌ंस्कृतिक संघ विशेष उपत्यका समितिले आयोजना गरेको खुल्ला मौलिक कौराह (कानराहा) नृत्य प्रतियोगिता कार्यक्रममा पुगे।

कार्यक्रमका प्रमुख अतिथि थिए- पूर्वउपराष्ट्रपति नन्द किशोर पुन। सो अवसरमा अभिनेता धीरजले जनयुद्धको परिवेशमा मगर संस्कार र संस्कृति समेटेर निर्माण गरिएको आफ्नो सिनेमा हेर्न पूर्वउपराष्ट्रपति पुनलाई निम्ता दिए। 

धीरजले आफ्नो अघिल्लो फिल्म ‘बाबरी’ रिलिजका क्रममा सिनेमा हेरेर सहयोग गरेको स्मरण गर्दै अहिलेको फिल्मलाई पनि त्यस्तै साथ र सहयोगको अपेक्षा रहेको बताए।

कार्यक्रममा अभिनेता मगरले ‘रुकुम मैकोट’ गीतमा नृत्यसमेत गरेका थिए भने उनलाई पूर्वउपराष्ट्रपति पुनले साथ दिए।

यस क्रममा उनले अभिनेता मगरलाई मगर सांस्कृतिक संघको लोगो अंकित पगरी लगाइदिँदै सफलताको शुभकामना पनि दिए।

रुकुमको तकसेरामा जन्मेको मगरको छोरो जो युकेमा हुर्केर नेपाल फर्केर मगर संस्कृतिलाई सिनेमाबाट विश्वलाई चिनाउन लागिपरेको भन्दै आफूले समय मिलाएर ‘खुस्मा’ हेर्ने वाचासमेत पुनले गरे।

एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको सिनेमाको लेखन तथा निर्देशन अशोक थापा मगर गरेका हुन्। उनले यसअघि केही डकुमेन्ट्री सिनेमा लेखन तथा निर्देशन गरेपनि यो नै ठुलो पर्दाको पहिलो निर्देशकीय फिल्म हो। 

फिल्मको निर्मातामा वीरबहादुर लामा, चन्द्र बहादुरभट्टचन, मानबहादुर धनाह मगर र बेतान मगर छन् भने सहनिर्माता सुस्मिता बुढाथोकी हुन्।

सिनेमा दीपक बज्राचार्यले छायांकन गरेका हुन्। सिनेमाको सार्वजनिक गीत र ट्रेलरले रुचाएका छन्।

जसले गर्दा सिनेमाको गीत र ट्रेलर म्युजिक र मुभिज सेक्सनअन्तर्गत ट्रेन्डिङको शीर्ष स्थानमा छन्। त्यसैले सिनेमाप्रति दर्शकको उत्साह उच्च रहेको बुझ्न सकिन्छ।

सिनेमामा धीरज र उपासनाका अलावा माओत्से गुरुङ,  खड्कबहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगरलगायतले अभिनय गरेका छन्। 

मगर समुदायको परिवेशमा निर्माण भएको प्रेमकथामा आधारित सिनेमाले जनयुद्धको प्रभावका बीच अंकुराएको प्रेमलाई समेटेको छ। फिल्मको वितरण गोविन्द शाहीको काफिया फिल्मस्ले गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .