कला


प्रश्रितलाई पुरस्कार दिए यौन हिंसा गर्नेलाई थप बल पुग्नेछ : शारदा भुसाल झा

प्रश्रितलाई पुरस्कार दिए यौन हिंसा गर्नेलाई थप बल पुग्नेछ : शारदा भुसाल झा

नेपालखबर
असोज ११, २०७७ आइतबार १२:५२,

खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले शनिबार २०७६ सालको पद्मश्री साहित्य पुरस्कार आख्यानकार सञ्जीव उप्रेतीको उपन्यास ‘हंस’ लाई र पद्मश्री साधना सम्मान साहित्यकार मोदनाथ प्रश्रितलाई अर्पण गर्ने निर्णय गर्यो।

उक्त समाचार सार्वजनिक हुनासाथ सामाजिक सञ्जालमा भने ‘यौन हिंसा’को आरोप खेपेका प्रश्रितलाई पुरस्कृत गर्न लागिएको भन्दै विरोध सुरु भएको छ।

त्यसमा लेखक तथा समालाेचक उप्रेतीले पनि यौन हिंसाको आरोप लागेका लेखकसँग एउटै मञ्चमा बसेर पुरस्कार लिन आफूलाई गाह्रो हुने प्रतिक्रिया दिएपछि विरोध जनाई रहेकाहरुलाई थप बल पुगेको छ।

SanjeevUpretyसञ्जीव उप्रेती

भ्रष्टाचारविरोधी अभियन्ता शारदा भुसाल झाको २०७२ सालमा ‘धरातल’ नामक आत्मकथा प्रकाशित भएको थियो।

उक्त पुस्तकमा भुसालले किशोरी अवस्थामा आफू प्रश्रितबाट यौन हिंसामा परेको र बलात्कृत भएको दाबी गरेकी छिन। पुस्तकमा भुसालले २०४७ सालमा प्रश्रितले आफूलाई पढाइदिन्छु भनेर काठमाडौं ल्याएको र काठमाडौंमा आफूमाथि यौन हिंसा गरेको आरोप लगाएकी छिन।

प्रश्रितले पुरस्कार पाउने खबर सार्वजनिक भएपछि भुसालले आफू छानाबाट खसेको जस्तै अनुभूति भएको प्रतिक्रिया दिएकी छिन।

‘आज विहानै विश्वासिलो व्यक्तिको ट्याग आयो मैले हेरें अनि छागाँबाट खस्या जस्तो भए। एकछिन रन्थनिएँ। निकै दुखी भए,’ उनले लेखेकी छिन्, ‘बलात्कारीलाइ पद्ममश्री साहित्य सम्मान पुरस्कार त्यो पनि जीवा लामिछाने अध्यक्ष भएको संस्था बाट? मलाइ विश्वास लागि रहेको थिएन।’

नेपालखबरसँगको कुराकानीमा भुसालले यौन हिंसा गरेको व्यक्तिलाई पुरस्कृत गर्नुले त्यस किसिमको व्यवहार गर्नेलाई थप बल पुग्ने बताइन।

‘जानकारी नहुँदासम्मको अवस्था अर्कै थियो। तर जानकारी भएर पनि यौनहिंसा गर्ने व्यक्तिहरुलाई सम्मान गर्नुअघि जीवा लामिछाने जस्तो प्रतिष्ठित व्यक्तिले सोच्नुपर्ने थियो,’ उनले भनिन्, ‘गलत कार्यलाई प्रश्रय गर्ने, सम्मान दिने कार्यले पीडितलाई ठूलो अन्याय हुन्छ। यसले सामाजिक न्याय, पढेलेखेका व्यक्तिहरुमाथि नै प्रश्न चिन्ह लगाएको छ।’

भुसालले आफूले लामिछानेलाई सम्पूर्ण घटनाक्रमबारे जानकारी गराएको हुँदा पुरस्कार रोकिने विश्वास व्यक्त गरिन।

सामाजिक सञ्जालमा यौनहिंसा जस्तो गम्भीर आरोप लागेका व्यक्तिलाई पुरस्कार दिन नहुने विचारहरु प्रस्तुत भएका छन। टुविटरमा अर्चना थापाले पुस्तकमा भुसालले प्रश्रितबारे लेखेको एक अंश पोस्ट गरेकी छिन।

‘मैले उसको कोठामा बिताउनुपरेका सात महिना बम्बैको कोठीमा बेचिएकी चेलीको भन्दा फरक थिएन। उसको दमन र बलात्कार। ऊ आफै यौनाङको रोगी थियो। ऊ यौन पिपासु थियो। हरेक दिन चौबिसै घन्टा मलाई डस्थ्यो । (३५)’ 

प्रश्रितलाई पुरस्कार दिने कुरामा असहमति राखेकी स्तम्भकार सरिता तिवारीले सामाजिक सन्जाल टुविटरमा उनलाई पुरस्कृत गर्ने क्रममा आयोजकको हात किन नकापेको भनि प्रश्न गरेकी छिन।

‘कुनै समय मोदनाथ प्रश्रितका किताब पढेर विचारको ’सेपिङ्’ गरेका मान्छे हौं हामी। तर केही खास कारणहरुले उनीप्रति अलिकति पनि आदर बाँकि नरहेको अवस्था हो,’ उनले टुविटरमा लेखेकी छिन्, ‘जीवा लामिछाने लगायतले उनलाई पुरस्कृत गर्ने निर्णय कसरी गर्न सके? तिनका हात किन काँपेनन्? यो प्रश्नको दाग सधैंलाई रहने भयो।’

पुरस्कार दिने संस्था खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानको अध्यक्ष गैर आवासीय नेपाली संघका पूर्व अध्यक्ष जीवा लामिछाने हुन।

संस्थाले सार्वजनिक गरेको विज्ञप्तिमा विगत छ दशकदेखि नेपाली काव्य, निबन्ध, नाटक, आख्यान, समालोचना तथा संस्कृति लेखनका माध्यमबाट समाज रुपान्तरण तथा राष्ट्रिय एकतामा महत्वपूर्ण योगदान पुर्याएका साहित्यकार मोदनाथ प्रश्रितलाई यसवर्षको पद्मश्री साधना सम्मान अर्पण गरिने उल्लेख छ।

प्रश्रित पूर्वीय दर्शन तथा मार्क्सवादी विचारलाई वैज्ञानिक र वस्तुवादी ढङ्गले विश्लेषण गरी विश्व मानवता र बन्धुत्व जगाउने लेखक भएको विज्ञप्तिमा उल्लेख छ।

आरोपबारे प्रश्रितको प्रतिक्रिया के थियो?
साहित्यकार एवम पूर्व शिक्षामन्त्री समेत रहेका प्रश्रितले भुसालको पुस्तक प्रकाशन भएलगत्तै काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आफूमाथि लगाइएका आरोपमाथि आपत्ति जनाउँदै अस्वीकार गरेका थिए।

प्रश्रितले भुसालको आत्मकथालाई काल्पनिक, मनगढन्ते, दुराशयपूर्ण र समाजका लागि हानिकारक कुराहरु लेखी एउटा अश्लील साहित्यको पुस्तक बजारमा ल्याइएको दाबी गरेका थिए। उनले पुस्तकमा भनेझै आफूले कुनै अपराध गरेको भए यतिका वर्षसम्म किन कतै, कुनै आवाज उठाइएन? भनि प्रश्न गरेका थिए।

प्रश्रितले त्यसबेला शारदा भुसालसँग आफ्नो पुरानो चिनजान रहेको बताउँदै उनी सानैदेखि मानसिक रोगी रहेको समेत दाबी गरेका थिए।

‘उनी हाम्रो पाटीको जिल्लाकी नेता हुन। उनका बुबाको आग्रहमा मैले काठमाडौं ल्याएको हुँ। सुरुमा मैले मेरो स्वयंभूमा रहेको डेरानजिक उनलाई डेरा खोजेर राखिदिएको थिएँ। तत्कालै एकजना मानसिक चिकित्सककहाँ लगेर औषधि पनि गराएका थियौं। तर, उनी १०–१२ दिनमै डेरा छाडेर भागेकी थिइन। सो कुरा हामीले उनका आमाबुबालाई जानकारी गराएका थियौं,’ प्रश्रितले त्यसबेला पत्रकार सम्मेलनमा भनेका थिए।

नेपालखबरले प्रश्रितसँग सम्पर्क गर्न उनका परिवारका सदस्यलाई सम्पर्क गर्दा कोही सम्पर्कमा आउन चाहेनन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .