‘बुद्धवीर लामा दशौं गीतिमय साँझ २०२१’ अमेरिकामा आयोजना गरिएको छ। चर्चित गीतकार बुद्धवीर लामाको एकल गीतहरु प्रस्तुत भएको कार्यक्रम शनिबार साँझ (नेपाली समय अनुसार आइतबार’ पेन्सिलभेनिया राज्यको ह्यारिसबर्ग शहरमा आयोजना भएको थियो।
कार्यक्रममा लामाको रचना रहेको दर्जन बढी चर्चित गीतहरु विभिन्न कलाकारहरु प्रस्तुत गरेका थिए। जसमा यमु राईले ‘धोखा दियौ तिमीले’ र ‘लालि गुराँस अजम्बरी’ गीत प्रस्तुत गरेका थिए।
त्यसैगरी टीका लामिछानेले ‘खोटाङ हलेसी’ र ‘कतिमाया लाग्छ रिमै’, मनोज ढकालले ‘बादलुको घुम्टोले’, जितेन्द्र गिरीले ‘सबैकुरा भन्दा नि पैसै ठूलो छ’ निर्मल गुरुङ र रुकु ढुंगानाले ‘आज हाम्रो भेट भाको दिन’, प्रेम गुरुङले ‘चलेछ बतास सुस्तरी’, रुकसमणि ढुंगानाले ‘चोली राम्रो पाल्पाली ढाकाको’ लगायत बोलका गीतहरु प्रस्तुत गरेका थिए।
दर्शकले भरीभराउ र सांगीतिक माहोलमा आयोजित कार्यक्रममा गीतकार लामालाई नेपाली १७ लाख ९५ हजार २ रुपैयाँ नगदसहित सम्मान समेत गरिएको थियो।
कार्यक्रममा गीतकार धन लोप्चनले लामाको सम्मानमा उनका रचनाहरु वाचन गरेर सुनाएका थिए।करिब ३ घण्टा चलेको कार्यक्रममा नेपालीभाषी भुटानी अमेरिकन नागरिकहरुको बाक्लो उपस्थिति रहेको थियो।
विदेशमा नेपाली गीतकारको एकल सांगीतिक कार्यक्रम आयोजना भएको र सोही कार्यक्रममा १७ लाख बढी नगदसहित सम्मान पाउने नेपाली कलाकारमा सम्भवत गीतकार लामा पहिलो व्यक्ति हुन्।
लामाका यसअघि काठमाडौंमा आठ पटक तथा झापामा एक पटक एकल साँझ आयोजना भएको थियो। यस अगाडि कार्यक्रमबाट उठेको रकम खर्च कटाएर बृद्धाश्रम र बाल अनाथालयलाई प्रदान गर्दै आएका लामाले अमेरिकामा सम्मानबाट पाएको आफ्नो जन्मथलो इलामको बौद्धधाममा पहिलो पटक म्याराथन दौड आयोजना गर्ने बताए।
‘विदेशमा गीतकारहरुलाई बोलाएर एकल सांगीतिक कार्यक्रमको आयोजना शुरु भएको छ। यो खुसी र गर्भको कुरो हो’ लामाले भने ‘यसले म मात्र होइन, सम्पूर्ण गीतकारलाई समेत हौसला मिलेको छ।’
करिब ४ दशकदेखि गीत लेखनमा क्रियाशील लामाका सयौं गीतहरु लोकप्रिय छन्।
म्याराथन धावकसमेत रहेका लामाको दशौं एकल साँझको आयोजक समितिमा मुक्तिराज गुरुङ, निर्मला सापकोटा गुरुङ, अर्जुन गुरुङ, दीपा गुरुङ, रत्न गुरुङ र रन राई रहेका थिए।
Shares

प्रतिक्रिया