निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेललाई पक्राउ गर्न उच्च अदालत पाटनले आदेश दिएको छ।
न्यायाधीशद्वय रमेश भण्डारी र सरला पाण्डेको संयुक्त इजलासले शुक्रबार यस्तो आदेश दिएको हो। यसअघि छविकी पहिलो श्रीमती हेमा ओझाले बहुविवाहको मुद्धा दर्ता गरेपछि जिल्ला अदालतको अनुमतिमा प्रहरीले छवि र शिल्पाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।
शिल्पाले पक्राउ पूर्जी खारेज गराउन उच्च अदालत पाटनमा निषेधाज्ञाको निवेदन दिएकी थिइन्। तर, उच्च अदालतले उनको निवेदन खारेज गरेपछि पक्राउ गर्ने बाटो खुलेको हो।
अदालतमा शिल्पाको तर्फबाट बरिष्ठ अधिवक्ता रमेश प्रसाद गुरागाईं र अधिवक्ता मनोद यादवले बहस गरेका थिए। हेमा ओझाको तर्फबाट अधिवक्ताहरु स्वागत नेपाल र तुलसा शर्माले बहस गरेका थिए। छविको तर्फबाट भने कसैले बहस गरेनन्।
उच्च अदालतले प्रहरीले पक्राउ पूर्जी जारी गरेको अवस्थामा अदालत र प्रहरीलाई नै असहयोग गरी निषेधाज्ञाको निवेदन लिएर आउनु राज्यको कानुनविरुद्ध भएको भन्दै पक्राउ पुर्जी जारी नै रहने आदेश गरेको हो।
शिल्पाले छविले घरेलु हिंसा गरेको भन्दै केही समयअघि उनीविरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन्। स्रोतका अनुसार छविसँग सम्बन्धविच्छेद गर्ने तयारीमा उनी थिइन्। सोही समयमा हेमा बहुविवाहको मुद्धा लिएर एकाएक आएकी हुन्।
छविले हेमासँग सम्बन्धविच्छेद नगरी अंशबन्डा गरेर बसेका थिए। छवि र शिल्पाबीच २०७३ सालमा गुपचुप विवाह भएको थियो।

प्रतिक्रिया