अभिनेत्री मनिषा कोइरालाको चर्चित बलिउड फिल्म ‘१९४२ः अ लभ स्टोरी’ पुनः सिनेमाघरमा प्रदर्शन हुने भएको छ। सन् १९९४ मा प्रदर्शनमा आएको यो फिल्म ३२ वर्षपछि पुन: हलमा आउन लागेको हो।
फिल्मलाई अत्याधुनिक प्रविधिमार्फत ‘८ के’ मा डिजिटल रूपमा पुनः रिस्टोर गरेर प्रदर्शनमा ल्याउन लागिएको हो। साथै, यसको ध्वनिलाई डोल्बी ५.१ मा पुनः तयार पारिएको छ। निर्माण पक्षले चाँडै नै फिल्म पुनः प्रदर्शनमा ल्याउने घोषणा गरेको छ।
फिल्मको पुनः प्रदर्शनको घोषणा भएसँगै मनिषाले सामाजिक सञ्जालमार्फत खुशी व्यक्त गरेकी छन्। उनले ३२ वर्षअघि यो फिल्मले दर्शकको मनमा विशेष स्थान बनाएको स्मरण गर्दै प्रेम, आशा, त्याग र देशभक्तिको कालजयी कथा आज पनि पुस्तौंपुस्तासम्म जीवित रहेको उल्लेृख गरेकी छन्।
उनले ८ केमा पुनः रिस्टोर गरिएको र डोल्बी ५.१ ध्वनिसहित फिल्मलाई नयाँ जीवन दिइएको देख्दा आफू भावुक भएको उल्लेख गरेकी छन्। मनिषाले नयाँ पुस्ताले पनि ‘१९४२ः अ लभ स्टोरी’ लाई ठूलो पर्दामै, यसको वास्तविक अनुभवसहित हेर्न पाउने बताएकी छन्।
विदु विनोद चोपडाको निर्देशन रहेको यस फिल्ममा मनिषासहित अनिल कपूर र ज्याकी श्राफको मुख्य भूमिका छ। आरडी बर्मनको संगीत, प्रभावशाली कथा र कलाकारहरूको अभिनयका कारण यो फिल्म बलिउडका चर्चित क्लासिकमध्ये एक मानिन्छ।
विशेषगरी मनिषा र अनिलको केमेस्ट्री तथा फिल्मको गीत ‘एक लड्की को देखा तो ऐसा लगा’ निकै चर्चित छ।
Shares

प्रतिक्रिया