नेपाली फिल्म निर्देशक दीपक रौनियारको नयाँ छोटो फिल्म ‘प्राइभेट प्रोपर्टी’ विश्वकै प्रतिष्ठित फिल्म महोत्सवमध्ये एक लोकार्नो फिल्म फेस्टिभलको ७९औँ संस्करणका लागि छनोट भएको छ।
आगामी अगस्ट ५ देखि १५ सम्म स्विट्जरल्यान्डमा आयोजना हुने महोत्सवको ‘पार्दी दी दोमानी’ अन्तर्गतको प्रतिष्ठित ‘कोन्कोर्सो कोर्ति दुओतेर’ प्रतिस्पर्धामा फिल्म छनोट भएको हो।
अमेरिका-नेपाल-फ्रान्सको सहनिर्माणमा बनेको यो फिल्मको विश्व प्रिमियर पनि यही महोत्सवमा हुनेछ।
यस वर्ष उक्त प्रतिस्पर्धाका लागि विश्वभरबाट केवल १० वटा फिल्म छनोट भएका छन्।
यसअघि पनि रौनियारका फिल्महरूले विश्वका प्रतिष्ठित फिल्म महोत्सवहरूमा स्थान बनाइसकेका छन्। उनको ‘हाइवे’ बर्लिन अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा, ‘ह्वाइट सन र ‘पूजा, सर’ भेनिस फिल्म फेस्टिभलमा तथा ‘फोर नाइट्स’ बर्लिनाले सर्ट्समा विश्व प्रिमियर भएका थिए।
फिल्म छनोट भएपछि निर्देशक रौनियारले सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गरेका छन्। उनले आफूले अहिले शेफ सन्तोष शाहको जीवनबाट प्रेरित फिचर फिल्म ‘द टेस्ट अफ साल्ट’ को लेखन, विकास र लगानी जुटाउने काम गरिरहेको उल्लेख गर्दै त्यसैबीच गत जनवरीमा आफूले अमेरिकाको नर्थ क्यारोलिनामा ‘प्राइभेट प्रोपर्टी’ को छायांकन गरेको स्मरण गरेका छन्।
रौनियारले लेखेका छन्, ‘यो फिल्म साकार बनाउन धेरैधेरै मानिसहरूले साथ दिनुभयो। मैले सन् २०२१ देखि २०२४ सम्म अध्यापन गरेको यूएनसीडब्लू फिल्म स्टडिज विभाग, बोस्टन विश्वविद्यालयको कलेज अफ कम्युनिकेसन, कलाकारहरू, प्राविधिक टोली तथा फिल्मप्रेमी साथीहरूको सहयोगबिनाको यो यात्रा सम्भव हुने थिएन। सबैप्रति हृदयदेखि नै आभारी छु।’
लोकार्नो फिल्म फेस्टिभलले ‘पार्दी दी दोमानी’ लाई नयाँ सिनेमाटिक प्रयोग, सिर्जनात्मक अभिव्यक्ति र भविष्यका फिल्मकर्मीलाई अन्तर्राष्ट्रिय मञ्च उपलब्ध गराउने आफ्नो महत्त्वपूर्ण कार्यक्रमका रूपमा लिने गरेको छ। यस वर्ष यसअन्तर्गत २९ देशका ४० फिल्मको विश्व प्रिमियर हुनेछ।
Shares

प्रतिक्रिया