फिल्म ‘बा: एक योद्धा’को नयाँ पोस्टर सार्वजनिक भएको छ। दुई वटा पोस्टरमा सिनेमाका मुख्य कलाकार समेटिएका छन्।
पोस्टरले चलचित्र ‘बा: एक योद्धा’ पूर्ण पारिवारिक सिनेमा रहेको झल्काएको छ। पहिलो पोस्टरमा सपरिवार बसेर तस्बिर खिचाइरहेको जस्तो देखिएको छ। जसमा दिव्यदेव र झरना थापा बसिरहेका छन् भने बाँकी तीन सुहाना थापा, सागर खनाल र सुप्रज्ञा शर्मा पछाडि उभिएका छन्।
घरको आँगनमा तस्बिर खिचाइरहेका उनीहरू सबै हँसिलो चेहरामा छन्। भर्खरै रातो माटोले लिपपोत गरेर चिटिक्क पारिएको घरले दशैं समयको संकेत गरिरहेको छ। साथमा कुकुर पनि छन्।
दोस्रो पोस्टरका पात्रको चेहरामा कौतुहलता र तनाव छ। यो पोस्टरमा रहेका झरना थापा र सुहाना थापाको मुहारमा केही अचानक आएको अनपेक्षित घटनाले कौतुहलता सिर्जना गरेको देखिन्छ। यो पोस्टरमा रहेका दिव्यदेव र अनिल बुढाथोकीको अनुहारमा रिस देखिन्छ।
यो पोस्टरमा अर्का पात्र छन्, माओत्से गुरुङ। उनको अनुहारमा भने कुटिल मुस्कान देखिएको छ। यसले उनी खलपात्रका रुपमा त रहेका छैनन् भनेर शंका गर्ने ठाउँ छ।
दुई पोस्टरले एक सुखी परिवारमा अचानक आएको केही अनपेक्षित घटनालाई संकेत गरेको छ। यसले पारिवारिक उतारचढाव र त्यसको बैठानका लागि हुने संघर्ष वरिपरि सिनेमाको कथा रहने अनुमान लगाउन सकिन्छ।
हरि लम्सालको निर्देशन रहेको फिल्मको नेपाली समाजमा परिवारमा सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर झेल्ने चुनौती नै मुख्य कथा हो। यस फिल्ममा झरना थापा, सुहाना थापा, दिव्यदेव पन्त, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा, शवि थापा र अनिल बुढाथोकी मुख्य भूमिकामा छन्।
आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्रको कथासँगै पटकथा पनि लम्साल आफैले लेखेका छन्। निर्देशक हरि लम्सालको लेखन रहेको यो फिल्म भदौ १९ गते कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिनको पूर्वसन्ध्यामा रिलिज हुनेछ।
फिल्मका निर्माता वसन्त लम्साल हुन्। गायक तथा सर्जकसमेत रहेका लम्सालले यसअघि अभिनेता विपीन कार्कीलाई लिएर चलचित्र ‘कर्मा’ निर्माण गरेका थिए।
Shares

प्रतिक्रिया