नेपाली सिनेमाहलमा नेपाली फिल्मको खडेरी देखिएको छ। भोलि शुक्रबार नयाँ नेपाली फिल्महरूको रिलिज तालिका छैन।
साथै यसअघि रिलिज भएका फिल्महरू पनि उत्रिएका छन्। जसले सिनेमाहलहरू नेपाली सिनेमाविहीन भएका हुन्।
देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सका काठमाडौँस्थित कुनै पनि हलमा यो साता नेपाली फिल्म देखिँदैनन्। अन्य मल्टिप्लेक्स हल बिग मुभिज, वान सिनेमाजमा नेपाली फिल्म प्रदर्शनमा छैनन्।
बरु यो साता नेपाली हल विदेशी सिनेमामय बनेका छन्। हाल मिनियन्स एन्ड मन्स्टर्स, ककटेल २, वेलकम टु द जंगल, सुपरगर्ल, कोलोनी, टोय स्टोरी ५ र अब्सेसनसहित ७ वटा फिल्म प्रदर्शनमा छन्।
साथै भोलि शुक्रबारदेखि अल्फा र बेबी डु डाइ डु सहित दुई भारतीय फिल्म प्रदर्शनमा आउँदैछन्।
वैशाखदेखि हालसम्म नेपाली सिनेमाहलमा एक दर्जन बढी सिनेमाहरू रिलिज भए। जसमध्ये ‘लालीबजार’ मात्रै लामो समय चल्नुको साथै बक्सअफिसमा हिट भयो।
तर प्रदर्शनको ५१ औँ दिन मनाएको फिल्मले अब भने दम तोड्दैछ। विदेशी फिल्मको दबदबाबीच ‘लालीबजार’ यो शुक्रबारबाट उत्रिँदैछ।
‘लालीबजार’ मात्रै होइन्, असार ५ गते रिलिज भएको फिल्म ‘आईएम जितबहादुर’ र असार १२ गते प्रदर्शन भएको फिल्म ‘जाँड’ पनि हट्दैछ। यद्यपि केही सीमित हलमा भने ‘रोल नं. १’ प्रदर्शनमा छ।
खासगरी असार र साउनलाई सिनेमाको लागि उपयुक्त समय मानिँदैन। त्यसैले यो बेला फाट्टफुट्ट सिनेमा मात्रै रिलिज मिति तोकिन्छन्। अब असार २६ ‘भागदौड’ प्रदर्शनमा आउँदैछ। साउन १ मा फिल्म ‘गौथली’ र साउन २२ गतेका लागि ‘हली’ को रिलिज डेट छ।
भदौदेखि भने नेपाली फिल्मक्षेत्र चलायमान हुन्छ। त्योबेला थुप्रै फिल्मका रिलिज मिति तोकिएका छन्।
Shares

प्रतिक्रिया