भारतीय फिल्म ‘अल्फा’ को ट्रेलर सार्वजनिक भएको छ। बुधबार यशराज फिल्मको अफिसियल युट्युबमार्फत सार्वजनिक गरिएको ट्रेलर एक्सनप्रधान छ।
सार्वजनिक ट्रेलरमा अभिनेत्री आलिया भट्टसहित शर्वरी, अनिल कपुर, बबी देओललगायतका कलाकारलाई समेटिएको छ। फिल्ममा आलिया ‘अल्फा’ सीताको भूमिकामा छिन्। खलपात्र बनेका बबी देओल भने फतेहको क्यारेक्टरमा छन्।
ट्रेलरको सुरुवातमा फतेहले शिशु सीतालाई हुर्काएर खतरनाक हत्याराका रूपमा तयार पारेको देखाइन्छ। तर, पछि सीताले फतेहविरूद्ध विद्रोह गर्दै आफ्नै बलमा लंका ध्वस्त पार्ने कुरा देखाइएको छ।
सुरुमा आलिया र शर्वरीबीच टकराव देखिए पनि पछि दुवैलाई मिलेको देखाइएको छ। अनिल कपुरले दुवै एजेन्टलाई मार्गदर्शन गर्ने भूमिकामा देखिन्छन्।
ट्रेलरको अन्त्यमा भने ऋतिक रोशनको सरप्राइजिङ इन्ट्री देखाइएको छ। ‘वार’ र ‘वार २’ का लोकप्रिय पात्र मेजर कबिर धालीवालको भूमिकामा ऋतिक रोशनको झलक देखाइएको छ।
शिव रवैल निर्देशित यो फिल्म आदित्य चोपडाको निर्माणमा बनेको हो। यशराज फिल्मको स्पाई युनिभर्सअन्तर्गतको यो फिल्म आगामी जुलाई ३ (असार १९) बाट रिलिज हुँदै छ।

प्रतिक्रिया