एक विपन्न परिवारको बुवा, जसको जीवन खासै सहज भएन। कहिले गरिबीकै कारण दैनिकी चलाउन गाह्रो भयो, कहिले तल्लो जातको हुँदा भेदभाव भोग्नुपर्यो। अझ अशिक्षित हुँदा समाजमा कहिल्यै सम्मान पाउन सकेनन्। त्यसैले उनलाई लाग्यो- पढाइबाहेक गरिबीबाट उम्किने कुनै उपाय छैन।
गरिब जिन्दगी। अनि पढ्न नसक्दाको थकथकी। यी सबैबाट मुक्त हुन उनी आफ्ना छोरामा सपना देखिरहेका छन्। त्यसैले सानैबाट उनी छोरालाई पढाइमा फस्ट हुनुपर्छ भनिरहेका छन्। अझ भनौँ, आफूले पूरा गर्न नसकेको भारी छोरालाई बोकाइरहेका छन्। फिल्म ‘रोल नं. १’ मा तिनै बुवाको भूमिकामा छन् अभिनेता मुकुन भुसाल।
‘मेरो पात्र आफ्नो बच्चालाई फस्ट बनाउने दौडमा लागेको बाउ हो। पढाइबाहेक यो गरिबीबाट उम्किने कुनै उपाय छैन भन्ने बुझेर त्यही अनुसार लागिपरेको बाउको भूमिकामा छु,’ उनले भने।
अभिनेता भुसाल फिल्मको कथालाई आफ्नै बाल्यकाल र समाजको भोगाइसँग जोड्छन्। समाज बिस्तारै शिक्षित हुन थालेपछि पढेका र त्यसमा पनि फस्ट हुनेहरूले पाएको मान-सम्मान देखेर फिल्मको बुवा पात्रले आफ्नो छोरालाई पनि त्यही दौडमा दौडाउने निधो गरेको उनले सुनाए।
उनले भने, ‘यो सिनेमामा जुन बच्चा छ, त्यो चाहे मेरो छोरा होस्, अरू कसैको, ती सबै वास्तवमा हाम्रै बचपन हुन्। हामीलाई बाल्यकालमा ठ्याक्कै जे हुन्थ्यो, सिनेमामा त्यही छ। र, भोलिका दिनमा हामी बुवा बन्दा जस्तो हुन्छौँ, त्यस्तै बाबुहरूको कथा हो यो। समाजमा हामीले भोगेकै घटनाक्रमहरू हुन्।’
मुकुन पढाइमा कमजोर विद्यार्थी थिए। आफूलाई पनि सानो छँदा परिवारमा पढ्न निकै प्रेसर दिने उनको भनाइ छ।
विद्यार्थी जीवन स्मरण गर्दै मुकुनले भने, ‘म आफैँ स्कुलमा औसतभन्दा कमजोर विद्यार्थी थिएँ। पढ्न कत्ति मन लाग्दैनथ्यो, तर घरमा थपक्क बस्ने, खुरुखुरु पढ्ने, तँलाई अरू केही गर्न पर्दैन भनिन्थ्यो। जे कुरामा मन लाग्दैनथ्यो, त्यही गर-गर भन्दा मलाई ज्वरो नै आउँथ्यो। स्कुलमा पनि पढेन भने मास्टरहरूले लछारी-लछारी कुट्थे। अहिले सिनेमाको सुटिङ गर्दा ती पुराना दिन सम्झेर म एकदमै नोस्टाल्जिक बनेँ।’
फिल्ममा मुकुनले गाउँघरमा कराएर सूचना बाँड्ने (कटुवाल)को भूमिकामा छन्। त्यसैले उनलाई गाउँलेहरुले ‘सञ्चार’ नामले बोलाउँछन्। यही चरित्रलाई जीवन्त बनाउन मुकुन आफैँ मुस्ताङ पुगेर केही कटुवाललाई भेटेका थिए। उनीहरूको लवज र जीवनशैली अध्ययन गरेका थिए। त्यसपछि पात्रमा काम गर्न सहज भएको सुनाउँछन् भुसाल।

ट्रेलर सार्वजनिक भएपछि धेरै दर्शकले यसलाई हालैको ब्लकबस्टर फिल्म ‘पूर्ण बहादुरको सारंगी’ सँग तुलना गरे। यतिसम्म कि फिल्मको गीत ‘म्यादी रुमाले’ गीत पनि ‘रैया चाँदी’सँग मिलेको बताए।
एउटै मेकर, एउटै ब्यानर र उस्तै ग्रामीण परिवेश भएकाले दर्शकले समानता देख्नु स्वाभाविक भएको स्वीकार्छन् उनी। तर, ‘पूर्ण बहादुरको सारंगी’ को कथासँग केही लेनादेना नरहेको उनी प्रस्ट पार्छन्।
‘पूर्ण बहादुरको सारङ्गीसँग यस फिल्मको केही लेनादेना छैन। त्यसको सेटअप र मुद्दा नै अर्कै हो, यसको सेटअप र मुद्दा बिलकुलै अलग छ। यसले विशुद्ध बाल मनोविज्ञान र हाम्रो शिक्षा प्रणालीमाथि प्रश्न गर्छ,’ उनले भने।
उनका अनुसार फिल्मले शिक्षाको महत्त्वलाई नकारेको छैन, बरु शिक्षालाई हेर्ने दृष्टिकोण बदल्न आग्रह गरेको छ। अहिलेको सरकारले पनि कक्षा ५ सम्म परीक्षा नलिने र हप्ताको एक दिन ‘बुक फ्री डे’ गराउने जुन निर्णय गरेको छ, फिल्मले पनि त्यही मानसिक स्वास्थ्यको मुद्दालाई वकालत गर्ने उनको भनाइ छ।
‘यो नयाँ सरकार बन्नुभन्दा पहिले गरेको सिनेमा हो। सरकारले बालबालिकालाई मानसिक स्वास्थ्यलाई हेरौँ भनेर निर्णय गरेको छ। हाम्रो सिनेमाले पनि त्यही नै भन्छ,’ उनले भने, ‘बच्चाको मेन्टल हेल्थलाई हेरौँ, बुझौँ र प्रेसर नदिऊँ भन्ने छ। ग्रेड र प्रतिशतको नाममा बालबालिकालाई मानसिक तनाव दिने र कम अंक ल्याउनेलाई हेप्ने प्रवृत्तिमाथि फिल्मले व्यग्यं गर्छ।’
यस फिल्मले आफ्नो अधुरा सपना बालबालिकामाथि थोपर्न नहुने सन्देश दिने उनको भनाइ छ।
‘आफ्ना बालबालिकामाथि आफ्नो अधुरो रहर र चाहना थोपर्ने काम नगरौँ। सबै बच्चा पढाइमै अब्बल हुनुपर्छ भन्ने छैन। कोही खेलकुदमा, कोही कलामा वा अन्य एक्स्ट्रा एक्टिभिटिजमा अगाडि हुन सक्छन्। उनीहरूभित्र लुकेको त्यो प्रतिभालाई पहिचान गरेर उत्प्रेरित गर्यौँ भने उनीहरू आफ्नै फिल्डमा रोल नम्बर १ अर्थात् फस्ट हुन्छन्। पढ्नुपर्छ, समाज बुझ्नका लागि पढ्नुपर्छ, तर बच्चालाई फस्ट हुने अन्ध रेसमा नकुदाऔँ,’ उनले भने।
विनोद पौडेल निर्माता रहेको यो फिल्म जोन योञ्जनको निर्देशनमा बनेको हो। फिल्ममा मुकुनसहित सुशांक मैनाली, रेणु योगी र सिर्जना अधिकारी मुख्य भूमिकामा छन्। चलचित्रको बाल–कलाकारमा निर्भीक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठ रहेका छन्। फिल्मको कथा महेश दवाडीले लेखेका हुन्।
शुक्रबारबाट यो फिल्म हलमा लागेको छ। मुकुन उत्साहित र केही भावुक छन्।
‘हामी एक्टरहरूको काम नै यही हो, हामीले त्यो प्रोसेसलाई एकदमै इन्जोय गर्यौँ। भोलि फिल्म रिलिज हुँदैछ। दर्शकले हाम्रो कामलाई कत्तिको सुहायो भन्नुहुन्छ वा इन्जोय गर्नुहुन्छ, त्यसमै हाम्रो सफलता निर्भर छ। पास कि फेल, भोलि रिजल्ट आउनेछ,’ मुकुनले भने।
Shares

प्रतिक्रिया