कला


२५ वर्षपछि सिनेमामा फर्किँदा रामकृष्ण हिरोबाट बने निर्माता (भिडिओ)

‘मालती मंगले’मा ढकालको लगानी व्यावसायिक कि कलाको माया?

लक्ष्मी बलायर
बैशाख ८ , काठमाडौँ

झण्डै २५ वर्षअघि एउटा फिल्म पर्दामा निकै चल्यो। त्यो फिल्म मात्रै थिएन, कसैको जीवनको दस्तावेज पनि थियो। अझ रोचक त जसको कथामा फिल्म बनेको थियो, उनी नै मुख्य भूमिकामा देखिएका थिए। उनी अर्थात चर्चित गायक रामकृष्ण ढकाल।  

समय बित्यो, नेपाली फिल्मको स्वरूप र प्रविधि पनि फेरियो। तर, ती गायकको सांगीतिक भोक र कलाप्रतिको मोह भने कहिल्यै फेरिएन। त्यसैले त सांगीतिक निरन्तरतामाझ उनी २५ वर्षपछि नयाँ फिल्म लिएर आउँदैछन्। 

साढे तीन दशक लामो सांगीतिक करिअरमा ढकालले गीतमार्फत दर्शकस्रोतालाई मन्त्रमुग्ध पारे। कहिले ‘चरीले त छोडेर गइहाल्यो’ र ‘ओराली लागेको हरिणको ताल’ मा गीतसँगै बगाए। कहिले ‘पहाडको छुकछुके रेल’ देखि ‘बाँचुञ्जेलीलाई’ मार्फत स्रोताको मन बसे। र, ‘बिहान उठ्ने बित्तिकै’ गीतमार्फत जनतामा देशभक्ति जगाइरहे।

नेपाल सुगम संगीतको शिखरमा पुगेका रामकृष्ण यतिखेर फरक भूमिकामा छन्। झण्डै २५ वर्षअघि ‘आशीर्वाद’ मा हिरो बनेका ढकाल यतिखेर निर्माता बनेका छन्। ‘मालती मंगले’ मार्फत उनी चलचित्रको दोस्रो इनिङ सुरु गर्दैछन्। जुन फिल्म वैशाख २५ गतेबाट हलमा लाग्दैछ।

‘गायन, फिल्म खेल्ने र बनाउने कार्य पर्यायवाची नै जस्तो लाग्छ। किनभने हामी फिल्मको लागि गाउँछौँ। विधाले फरक देखिए पनि यो लाइमलाइटकै क्षेत्र हो,’ ढकालले भने, ‘मैले पहिले फिल्म आशीर्वादमा अभिनेताको रूपमा काम गरेको थिएँ। मैले जानेको अरू केही छैन, त्यसैले यसलाई रहरभन्दा पनि कामको निरन्तरताका रूपमा लिएको छु।’

‘आशीर्वाद’ खेल्दाको समयमा रामकृष्ण ढकाल स्टार थिए। त्यतिबेला उनलाई क्यामेराको अगाडि उभिएर अभिनय गर्ने दबाब थियो। तर, अहिले दबाबभन्दा जिम्मेवारी र जोखिम बढी छ।

‘आशीर्वाद मेरै लागि बनेको फिल्म थियो। त्यो बेलामा पनि म संगीतक्षेत्रमा चर्चामा थिएँ। फिल्म खेल्दा एक किसिमको दबाब थियो। त्यो बेलाको आशीर्वाद धेरैले मन पराउनुभयो,’ उनले भने, ‘तर लगानीकर्ताका रूपमा जिम्मेवारी र जोखिम अझ बढेको छ। अहिले एउटा सिंगो फिल्मलाई बोक्ने चुनौती छ। मेहनत र लगानी भएकाले दबाब महसुस भइरहेको छ। तर, फिल्मप्रति कन्फिडेन्ट चाहिँ छौँ।’

हुन त यसअघि ढकालले रानी फिल्ममार्फत ‘बाँचुञ्जेली’ शीर्षकमा फिल्म बनाउने तयारी गरेका थिए। भुइँचालो र त्यसपछिको कोभिड महामारीले बीचमा त्यो फिल्म बनाउन सकेनन्। अन्तत: ‘मालती मंगले’ मार्फत उनी निर्माता बनेका छन्।

पछिल्लो समय फिल्म निर्माणमा सक्रियता बढेको छ। यसैबीच, फिल्ममा निर्माताका रूपमा डेब्यु गरेका ढकाललाई नेपालखबरको स्टुडिओमा सोध्यौँ: फिल्म बनाउनु व्यावसायिक लगानी हो कि कलाप्रतिको मोह?

ढकालले फ्याट्टै जवाफ दिए, ‘दुवै भन्नुपर्‍यो। लगानी गरेपछि व्यावसायिक त हुनु नै पर्छ। त्यो लगानी सुरक्षित हुँदा केही फाइदा हुन्छ। जसले अर्को काम गर्न सकिन्छ। यसमा रहरभन्दा पनि कामलाई निरन्तरता दिनेगरी लागेको हुँ।’

‘मालती मंगले’ शीर्षक सुन्नेबित्तिकै धेरैको दिमागमा राष्ट्रकवि माधवप्रसाद घिमिरेको कालजयी गीतिनाटकको झल्को आउँछ। तर, शीर्षक त्यही भए पनि फिल्मको कथा फरक रहेको उनको दाबी छ। फिल्मको टाइटलसहित मौलिक कथालाई आफूलाई तानेको सुनाउँछन् ढकाल।

‘निर्देशक तथा यस फिल्मका कथाकार प्रकु पाण्डेयजीले जब यो कथा सुनाउनुभयो, मलाई टाइटलले तुरुन्तै तान्यो। यो एउटा शुद्ध लभ स्टोरी हो, जसमा गाउँले जीवनको सादगी, आर्थिक अभावका उकाली-ओराली र समाजका चुनौतीहरू बुनिएका छन्। फिल्मले मनोरञ्जनात्मकसहित स्वास्थ्यक्षेत्रको मिठो सन्देश बोकेको छ। यो डिजिटल युगमा मौलिक नेपाली प्रेम कथा खोज्नेहरूका लागि एउटा मिठो उपहार हुनेछ,’ उनले भने।

धेरैलाई लागेको हुनसक्छ, रामकृष्ण यस फिल्ममा अभिनेताकै भूमिकामा देखिनेछन्। तर, अभिनय रूचिको पाटो भए पनि कथाको मागअनुसार आफू नसुहाएको उनको तर्क छ।

‘मलाई संगीतसँगै अभिनयमा पनि रुचि छ। मैले सानोमा दुई वटा बाल टेलिफिल्म पनि खेलेको थिएँ। एउटा नाटक र फिल्म पनि खेलेँ। भिडिओहरू गरिरहेकै छु। तर मालती मङ्गलेको कथामा मैले न्याय गर्न सक्दिनथेँ। यसलाई न्याय गर्ने विजय बरालले नै हो। वर्षा राउत र मेक्सम गौडेलजीले पनि राम्रो काम गर्नुभएको छ,’ उनले भने।

आफू गायक भएकाले ढकालले फिल्ममा संगीतको पाटोलाई विशेष जोड दिएका छन्। जसकारण ढकाल ‘मालती मंगले’लाई म्युजिकल लभस्टोरी फिल्म समेत भन्न रुचाउँछन्।

भन्छन्, ‘मैले फिल्ममार्फत संगीतको पाटोलाई पनि उजागर गर्ने कोसिस गरेको छु। किनभने यसमा धेरै गीतहरू मैले नै गाएको छु। सेन्टिमेन्टल मेलोडीदेखि डान्सिङ नम्बर र भजनसम्मका विविधता छन्। यो एक प्रकारको म्युजिकल फिल्म भन्दा फरक पर्दैन। गीत बनाउनुभन्दा पनि त्यसलाई दर्शकसामु पुर्‍याउन फिल्म एउटा सशक्त माध्यम हो जस्तो लाग्छ।’

ढकाललाई स्वरसम्राट नारायण गोपालको रिक्तता भर्ने गायकका रूपमा पनि चिन्ने गरिन्छ। जसलाई उनी सम्मानसँगै ठूलो जिम्मेवारीको रूपमा लिन्छन्।

‘उहाँजस्तो गायकसँग मेरो नाम जोडिनुलाई मैले ठूलो जिम्मेवारीको रूपमा लिएको छु। जसले म लामो समय यसैक्षेत्रमा काम गरिरहेको छु। मलाई सधैँ सस्तो लोकप्रियताभन्दा पनि स्तरीय गीत गाऊँ भन्ने हुन्छ,’ उनले भने, ‘मेरो गीत किन भाइरल भएन भनेर चिन्तन गर्नुभन्दा पनि मेरो सिर्जना स्लो पोइजन जस्तो होस् भन्ने चाहन्छु। म आफूलाई सिनियर भन्दा पनि नयाँ कलाकार ठान्छु र नयाँ पुस्तासँग प्रतिस्पर्धा गर्ने ऊर्जा सधैँ राखिरहन्छु।’

गायनसहित अभिनय र निर्माणमा लागे पनि आफूलाई गायनमै बढी आनन्द हुने बताउँछन् ढकाल। अभिनय गाह्रो हुने बताउँदै उनले फिल्म निर्माणलाई निकै जोखिमपूर्ण कामको रूपमा व्याख्या गरे। यद्यपि इमान्दारीका साथ काम गरेकाले दर्शकहरूले फिल्मलाई मन पराउनेमा उनी ढुक्क सुनिए।

‘रिस्क हरेक काममा छ। तर अहिलेका दर्शक अबुझ हुनुहुन्न, उहाँहरूलाई झुक्याउन मिल्दैन। सिनेमा राम्रो नबनाई जति हल्ला गरे पनि हलमा पुगेपछि त्यसको नतिजा आइहाल्छ। त्यसैले इमानदार भएर राम्रो काम गर्दा जोखिम कम हुन्छ,’ उनले भने, ‘विश्वास कमाउन गाह्रो छ। त्यसपछि विश्वासलाई कायम गर्न सहज छैन। मैले दर्शकहरूको अपेक्षा कायम हुनेगरी काम गरेको छु। ३५ वर्षभन्दा बढी म सांगीतिक क्षेत्रमा लागेँ। त्यो विश्वास मालती मंगलेमा प्रस्तुत गरेको छु। रामकृष्ण ढकालको फिल्म भनेर हेर्दा मजा आयो भन्ने प्रतिक्रिया आउँदा राम्रो हुन्छ। त्यही नै हाम्रो जित हो।’

बैशाख ८, २०८३ मंगलबार २१:२२

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad