मेघौली फिल्म्सको ब्यानर रहेको फिल्म ‘जिरो डिग्री’को छायांकन सकिएको छ। कास्कीको धिताल गाउँमा कलाकारद्वय राजन भुसाल र प्रकाश घिमिरेको अन्तिम टेक लिँदै सोमबार फिल्मको सुटिङ सकिएको हो।
३५ दिनको छायांकन तालिका तय गरेर पोखराको अर्मलाकोट मन्दिरबाट क्यामेरा रोल गरेको निर्माण टोलीले ३७ दिन लगाएर सुटिङ पूरा गरेको छ। फिल्मको सम्पूर्ण छायांकन पोखरा वरपरका रमणीय तथा मौलिक बस्तीहरू अर्मलाकोट, धिताल, घार्मी र बगरमा गरिएको छ।
छायांकनका क्रममा निर्माण टोलीले मौसमको ठूलो चुनौती सामना गर्नुपरेको जनाएको छ। हरेक दिनजसो पानी परिरहँदा पनि सुटिङलाई निरन्तरता दिइएको थियो भने अन्तिमतिर लगातार ३० घण्टासम्म पनि छायांकन गरिएको थियो। यस्तो कठिन परिस्थितिमा पनि सेटको माहोल भने निकै रमाइलो र ऊर्जावान रहेको निर्देशक आकास बरालले बताए।
सजन काफ्ले र आकास बरालको संयुक्त निर्देशन तथा पटकथा लेखन रहेको फिल्म अभिनेता विजय बराललाई दर्शकले अहिलेसम्मकै फरक र नदेखेको अवतारमा देख्न पाउनेछन्। यद्यपि, निर्देशक बरालले विजयको चरित्रबारे भने खुलाउन चाहेनन्।
सडक सञ्जाल राम्रोसँग नपुगेको एक विकट गाउँमा आमाबुवाको निधनपछि विदेशमा रहेका सन्तान नफर्किन्जेल शवलाई सुरक्षित राख्न ‘डीप फ्रिज’ बोकेर गाउँ उक्लिँदा आइपर्ने उथलपुथल र रमाइला परिस्थितिमा फिल्मको कथा घुमेको छ। छायांकनमा जानुअघि नै फिल्मको व्यङ्ग्यात्मक गीत ‘अरे हो नेताजी’ सार्वजनिक गरिएको थियो।
फिल्ममा विजयसहित प्रकाश घिमिरे, राजन भुसाल, सनिशा भट्टराई, वरिष्ठ अभिनेत्री वसुन्धरा भुसाल, रमेश बुढाथोकी, लोकेन्द्र लेखक, सन्जोग रसाइली, प्रवेश महतरा क्षेत्री, शारदा सिलवाल, सबिना थापा क्षेत्री, राम बाबु रेग्मी, सुवास गजुरेल र बासु खनाल लगायतको अभिनय छ। मोती कार्की कार्यकारी निर्माता रहेको यस फिल्मलाई निशाल पौडेलले खिचेका हुन्।
फिल्मको रिलिज यस वर्षको वडा दशैंभन्दा अगावै गर्ने निर्देशक बरालले बताए।
Shares

प्रतिक्रिया