नेपालका नरेन्द्र श्रेष्ठले विश्वकै प्रतिष्ठित 'वर्ल्ड प्रेस फोटो' अवार्डमा वेस्ट, सेन्ट्रल एण्ड साउथ एसिया क्षेत्रबाट 'सिंगल' क्याटेगोरीमा ऐतिहासिक सफलता हात पारेका छन्। श्रेष्ठको सिंहदरबारमा आगजनीको तस्बिर ५७ हजारभन्दा बढी तस्बिरहरूमध्ये उत्कृष्ट ठहरिएको हो।
'वर्ल्ड प्रेस फोटो-२०२६' अवार्ड प्रतियोगितामा श्रेष्ठले वेस्ट, सेन्ट्रल एण्ड साउथ एसिया क्षेत्रबाट 'सिंगल' क्याटेगोरीमा प्रथम स्थान हासिल गरेका हुन्।

गत भदौ २४ मा जेन-जी प्रदर्शनका क्रममा आगजनी भएपछि जल्दै गरेको सिंहदरबारको उनको तस्बिर उत्कृष्ट ठहरिएको हो। यस वर्षको प्रतियोगितामा विश्वका १४१ देशका ३ हजार ७ सय ४७ फोटोग्राफरले पठाएका कूल ५७ हजार ३७६ तस्बिरहरूबीच प्रतिस्पर्धा भएको थियो। ती सबैलाई उछिन्दै श्रेष्ठको तस्बिरले ऐतिहासिक सफलता प्राप्त गरेको हो।
यसअघि सन् २००६ को जनआन्दोलन र २०१५ को भूकम्पका बेला नेपालका तस्बिरले वर्ल्ड प्रेस फोटोमा स्थान पाए पनि ती प्राय: विदेशी फोटोग्राफरले खिचेका हुन्थे। नेपाली फोटो पत्रकारले नै यो अवार्ड जित्नुलाई नेपाली फोटो पत्रकारिताकै लागि एउटा महत्वपूर्ण 'माइलस्टोन' मानिएको छ।
मे २८ मा नेदरल्याण्डमा हुने औपचारिक समारोहमा श्रेष्ठलाई यो अवार्ड प्रदान गरिनेछ, जसमा १ हजार युरो नगद पुरस्कार र अन्य सम्मान समावेश छ। कान्तिपुर पब्लिकेसन्सबाट करियर सुरु गरेका श्रेष्ठ हाल स्वतन्त्र फोटो पत्रकारका रूपमा सक्रिय छन्।
Shares

प्रतिक्रिया