नेपाल अन्तराष्ट्रिय फिल्म महोत्सव (निफ)को अवसरमा काठमाडौँ आइपुगेकी चिनियाँ फिल्ममेकर तथा प्राध्यापक झान जुन यसपटक नेपाली दर्शकमाझ आफ्नो फरक दृष्टिसहित प्रस्तुत भइन्। अन्तर्राष्ट्रिय निर्णायक मण्डलको सदस्यका रूपमा सहभागी भएकी उनले ‘डिस्कभरिङ सिजाङ’ डकुमेन्ट्रीमार्फत हिमाली भूगोल, संस्कृति र जीवनशैलीलाई समकालीन ढंगले चित्रण गर्ने प्रयास गरेकी छन्।
प्रस्तुत छ, उच्च हिमाली क्षेत्रमा गरिएको छायांकन अनुभवदेखि नेपाल–चीनबीच फिल्म सहकार्यका सम्भावनासम्मका विषयमा केन्द्रित रहेर नेपालखबरले उनीसँग गरेको कुराकानीको सम्पादित अंश :
तपाईंको डकुमेन्ट्री ‘डिस्कभरी सिजाङ’ले तिब्बतलाई फरक दृष्टिकोणबाट प्रस्तुत गरेको छ। यसको मुख्य प्रेरणा के थियो र नेपाली दर्शकले यसबाट कस्तो सन्देश वा अनुभूति लिन्छन् भन्ने अपेक्षा गर्नुभएको छ?
यो परियोजना यस वर्षको जनवरी महिनामा सुरु गरिएको हो। हाम्रो उद्देश्य विश्वभरका दर्शकलाई आजको वास्तविक सिजाङ देखाउनु थियो। चिनियाँ सरकारको नेतृत्व र जनताको प्रयासले सिजाङमा उल्लेखनीय विकास भएको छ र त्यहाँको जीवन स्तर दिनानुदिन सुधार हुँदै गएको छ। यस फिल्मका लागि हामीले ६ देश अर्थात् अमेरिका, रूस, इटाली, कम्बोडिया, मोरक्को र नेपालबाट गरेर ९ जना युवाहरूलाई समेट्यौँ। तीमध्ये ४ जना नेपाली कलाकारहरूले सिजाङ भ्रमण गरेका थिए।
उनीहरूको यात्राको क्रममा खिचिएको यो डकुमेन्ट्रीमार्फत हामीले त्यहाँको वास्तविकता देखाउने प्रयास गरेका छौँ। हामी दर्शकले आजको सिजाङ कति शान्त, सुन्दर र खुसीपूर्ण छ भन्ने महसुस गरून् भन्ने चाहन्छौँ।
नेपाल र सिजाङबीच गहिरो भौगोलिक, आध्यात्मिक र सांस्कृतिक सम्बन्ध छ। काठमाडौँ आउँदा यहाँका मानिस र वातावरणमा के समानता देख्नुभयो?
‘विश्वको छाना’ भनेर चिनिने उच्च हिमाली क्षेत्रमा फिल्मांकन गर्नु निकै चुनौतीपूर्ण मानिन्छ। तपाईंले सामना गर्नुभएको प्रमुख चुनौती के थियो?
त्यो वातावरणमा डकुमेन्ट्री खिच्नु साँच्चिकै कठिन थियो। सबैभन्दा ठूलो चुनौती भनेको ‘अल्टिच्युड सिकनेस’ अर्थात् उचाइका कारण हुने समस्या थियो। औसत ४,००० मिटर उचाइमा अक्सिजनको कमीका कारण काम गर्न गाह्रो हुन्छ। अझ हामी जाडो मौसममा गएका कारण अवस्था झनै कठिन थियो। तर सौभाग्यवश, हाम्रो टिममा रहेका नेपाली कलाकारहरू– मिस पबी, बुद्धि तामाङ, पत्रकार अनिल यादव र भ्लगर साङ्केन राई लगायतले उत्कृष्ट प्रर्दशन गरे। उनीहरूलाई खासै समस्या भएन र उनीहरूले निकै राम्रो काम गरे।

विश्वव्यापी रूपमा पहाडी र आदिवासी कथाहरूमा चासो बढ्दो छ। चीन र नेपालका फिल्मकर्मीहरूले ‘हिमाली कथा’ विश्वमञ्चमा कसरी अघि बढाउन सक्छन्?
फिल्म महोत्सवहरू मानिसहरूबीच संवादको अत्यन्त प्रभावकारी माध्यम हुन्। यस्ता महोत्सवहरूले निर्देशक, निर्माता, कलाकार र दर्शकबीच सांस्कृतिक आदान–प्रदान गराउँछन्। क्यामेरा, दृश्य, आवाज र संगीतमार्फत हामी साझा भावना व्यक्त गर्न सक्छौँ। अन्तर्राष्ट्रिय स्तरका यस्ता प्लाटफर्महरूमार्फत हामीले हिमाली कथालाई विश्वमञ्चमा पुर्याउन सहकार्य र संवादलाई मजबुत बनाउन सक्छौँ भन्ने लाग्छ।
निफको सिजाङ प्यानोरमामा सहभागी हुँदै गर्दा नेपाल–चीनबीचको सांस्कृतिक सम्बन्धमा फिल्म महोत्सवको भूमिका कस्तो देख्नुहुन्छ?
मेरो विचारमा फिल्म महोत्सवहरू मित्रता र समझदारी निर्माण गर्ने महत्वपूर्ण पुल हुन्। नेपाल र चीन ऐतिहासिक रूपमा नजिक छन्, हामीबीचमा लामो सिमाना छ र एकअर्कालाई छिमेकी र दाजुभाइको रूपमा हेर्छौँ। यस्ता प्लाटफर्महरूले निर्देशक र दर्शकबीच प्रत्यक्ष संवाद सम्भव बनाउँछन्। यो महोत्सव हाम्रो सम्बन्धलाई जोड्ने एउटा ‘सुनौलो सेतु’ जस्तै हो।
नेपालको सौन्दर्य र आतिथ्य अनुभव गरेपछि, के तपाईं भविष्यमा नेपाल–चीनबीच फिल्म सह–निर्माणको सम्भावना देख्नुहुन्छ?
अहिले हामी एकअर्कालाई अझ राम्रोसँग बुझिरहेका छौँ, र भविष्यमा फिल्म तथा मिडिया क्षेत्रमा सहकार्य अझ बढाउन सक्छौँ भन्नेमा म विश्वस्त छु। यसपटक मैले ‘डिस्कभरिङ सिजाङ २०२६’ ल्याएकी थिएँ, जसमा नेपाली कलाकारहरूले उत्कृष्ट काम गरेका छन्।
यहाँ यसको पहिलो प्रदर्शन पनि गरियो। महोत्सवमा सहभागी भएपछि हामीबीच बहुआयामिक सम्बन्ध स्थापित भएको छ। अब हामी सह–निर्माण र संयुक्त परियोजनाबारे गहिरो छलफल गरिरहेका छौँ। भविष्यमा एकअर्काका महोत्सव र सांस्कृतिक कार्यक्रमहरूमा सहभागिता जनाउँदै सहकार्य अघि बढाउने अपेक्षा छ।
नेपाली कलाकार, गायक–गायिका र फिल्मकर्मीहरू चीन जानुपर्छ, र चिनियाँ कलाकारहरू पनि नेपाल आउनुपर्छ। यसरी हामी मिलेर नयाँ कार्यक्रम र परियोजनाहरू निर्माण गर्न सक्छौँ। आउनुहोस्, यस्ता सम्भावनाहरूलाई साकार पार्ने दिशामा सँगै अघि बढौँ।

प्रतिक्रिया