पल शाहको मुख्य भूमिका रहेको फिल्म ‘आ बाट आमा’ ले १३ करोड बढीको व्यापार गरेको छ। चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको बक्सअफिस रिपोर्टअनुसार यस फिल्मले १३ करोड १० लाख ९२ हजारको व्यापार गरेको हो।
जुन ५० दिन अर्थात गत शनिबारसम्मको कमाइ हो। यस अवधीभर फिल्मका ५ लाख ३ हजार ११४ टिकट बिक्री भएका छन्।
माघ १६ गतेदेखि रिलिज चन्द्र पन्त निर्देशित ‘आ बाट आमा’ ले सुरुवातदेखिनै राम्रो व्यापार गरेको थियो। हिजो आइतबार मात्रै निर्माणटिमले प्रदर्शनको ५१ औं दिन पुगेको अवसरमा काठमाडौंमा कार्यक्रम आयोजना गरेको हो।
आर्या इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको यो फिल्ममा निर्देशक पन्तकै कथा तथा पटकथा रहेको छ। यस फिल्ममा पलसहित विपना थापा, प्रदीप रावत, साइग्रेस पोखरेल, उषा उप्रेती, सिम्रन पन्त, गजित बिष्ट, बेगम नेपाली, रचना गौतम लगायतको अभिनय छ।
Shares

प्रतिक्रिया