कला


सेलिब्रेटीको संसद् यात्रा: पूर्वमिस नेपाल अनुष्का र अभिनेत्री रीमा अब माननीय

सेलिब्रेटीको संसद् यात्रा: पूर्वमिस नेपाल अनुष्का र अभिनेत्री रीमा अब माननीय

नेपालखबर
चैत २, २०८२ सोमबार १६:६, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभा सदस्यका लागि समानुपातिक सूची निर्वाचन आयोगमा बुझाएको छ। जसअनुसार कला क्षेत्रबाट दुई जना सेलिब्रिटी परेका छन्। चर्चित होस्ट तथा अभिनेत्री रीमा विश्वकर्मासहित पूर्वमिस नेपाल अनुष्का श्रेष्ठ सांसद बन्दै छन्।

उसो त नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई झापा-५ बाट हराउँदै सांसद बनेका रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) पनि कलाक्षेत्रकै व्यक्ति हुन्। चर्चित र्‍ यापर बालेन २०७९ सालको स्थानीय तह निर्वाचनमा स्वतन्त्र उठेर काठमाडौँ महानगरको मेयर बन्न सफल भएका थिए। अब भने बालेन प्रधानमन्त्री बन्दै छन्।

त्यस्तै, पूर्वमिस नेपाल अनुष्का श्रेष्ठ रास्वपाको आदिवासी जनजाति क्लस्टरबाट समानुपातिक सांसदमा सिफारिस भएकी हुन्। अनुष्काले सन् २०१९ मा मिस नेपालको उपाधि जितेकी थिइन्। अनुष्काले ‘मिस वर्ल्ड’ मा ‘ब्युटी विथ पर्पस’ र ‘मल्टिमिडिया’ अवार्ड जितेकी थिइन्।

मिस नेपालपछि भने उनको यात्रा व्यवसायतिर मोडियो। उनले स्थानीय डेजर्ट ब्रान्ड माकुसी चलाउँछिन्। जसबाट उनी एक सफल महिला उद्यमीको रुपमा स्थापित भइन्। स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्ने काममा सक्रिय अनुष्का दक्षिण एसियाका उत्कृष्ट १० महिला उद्यमीमा परेकी थिइन्।

यसबाहेक उनले काठमाडौँ महानगरपालिकाको सल्लाहकारका रूपमा स्वयंसेवी भूमिकामा काम गरिसकेकी छ्न्। बालेनले नै समानुपातिकमा उनको नाम सिफारिस गरेको रास्वपा नेताहरू बताउँछन्। उनै अनुष्का अब संसद्‌को यात्रा तय गर्दै छिन्। 

त्यस्तै, चर्चित होस्ट तथा अभिनेत्री रीमा पनि सांसद बन्ने भएकी छन्। दलित महिला क्लस्टरबाट रीमाले सांसदको इन्ट्री पाएकी हुन्।

सुरूमा उनी कुलमान घिसिङको उज्यालो नेपाल पार्टीको केन्द्रीय सदस्य बनेर राजनीतिक यात्सुरा रू गरेकी थिइन्। उनेपाले रास्वपासँग एकीकरण गरेको थियो। त्यसको दुई सातापछि कुलमान रास्वपाबाट अलग्गिए। 

कुलमान तर्फबाट समानुपातिक बन्दसूचीमा सिफारिस भएकी रिमा भने रास्वपामै बसिन्। उनी रास्वपाबाटै समानुपातिक उम्मेदवार बनिन्। रास्वपाकाे चुनावी प्रचारप्रसारमा पनि लागिन्।

रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन पुगेका चुनावी कार्यक्रम समेत रीमाले नै सञ्चालन गरिन्। अन्तत: दलित महिला क्लस्टरको पहिलो नम्बरमा परेकी रीमालाई रास्वपाले सांसदका लागि सिफारिस गरेको छ।

बर्दियाको गुलरियाकी रीमाले कक्षा ७ मा पढ्दा नै नेपाली टेलिश्रृंखला ‘जाँदाजाँदै’ सञ्चालन गरेकी थिइन्। त्यसपछि उनले विभिन्न टेलिभिजनमा सञ्चारकर्मीका रूपमा काम गरिन्।

चर्चित प्रस्तोता तथा मोडल समेत रहेकी रीमाले ‘स्वर’, ‘बाटो मुनिको फूल-२’, ‘भिषा गर्ल’, ‘ऋतु’ लगायतका फिल्म खेलिसकेकी छन्। रीमाले नेपाल आइडल, कमेडी च्याम्पियन जस्ता चर्चित शो पनि होस्ट गरिसकेकी छन्। 

यद्यपि, रास्वपाले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सांसदको सूचीमा चर्चित गायक प्रकाश सपूत अटाउन सकेनन्। त्यसैगरि, रास्वपाबाट समानुपातिक उम्मेदवार रहेका पूर्व मिस्टर नेपाल तथा चिकित्सक रुपक घिमिरे पनि अन्तिम सूचीमा परेनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad