सुशील पोखेरेलको फिल्म ‘परालको आगो’को टिजर सार्वजनिक भएको छ। सार्वजनिक टिजरमा श्रीमानश्रीमतीबीचको मनमुटाव र झगडा देख्न सकिन्छ।
प्रकाश सपुत र सुहाना थापा श्रीमानश्रीमतीको भूमिकामा देखिएका छन्। श्रीमती पँधेरोबाट पानी लिएर अबेला आएको निहुँमा श्रीमानले कुट्छन्। जहाँ छिमेकीको रुपमा रहेका सौगात मल्ल र उनकी श्रीमतीले छुट्याउन जाँदा ‘अर्काको लोग्नेस्वास्नीको झगडामा नपरेकै राम्रो भन्दै प्रकाशले हप्काउँछन्।
नेपाली समाजको यथार्थ घटनामा आधारित फिल्मले ग्रामीण परिवेश, परम्परागत टोकरी र पहाडी पृष्ठभूमिमा हुने गरेका नेपाली समाजको कथालाई समेटेको देख्न सकिन्छ।
गुरु प्रसाद मैनालीको अमर कृति ‘परालको आगो’बाट प्रेरित यस फिल्ममलाई लक्ष्मण सुनारले निर्देशन गरेका हुन्। फिल्ममा सुहाना थापा,सौगात मल्ल,प्रकाश सपुत,सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार मन्जिला बानियाँको अभिनय रहेको छ।
सुशील पोखरेलको लगानी रहेको यस फिल्मलाई सुशील देवकोटाले लेखेका छन्। आगामी बैशाख ११ गतेबाट प्रदर्शन हुने फिल्मलाई नेपालभर आरआर फिल्मसले वितरण गर्नेछ।
गुरुप्रसाद मैनालीको ‘नासो’ कथा संग्रहमा समावेश कथा ‘परालको आगो’ नाममा ४५ वर्षअघि प्रताप सुब्बाले पनि फिल्म निर्देशनमा निर्माण भएको थियो। सोही अनुसार कथालाई नमारिकन नयाँ र उत्कृष्ट रुपमा पुन निर्माण गरिएको निर्माता पोखरेलले बताए।
Shares

प्रतिक्रिया