वरिष्ठ अभिनेता सुनिल थापाको आइतबार साँझ अन्त्येष्टि गरिएको छ।
शनिबार हृदयघातका कारण निधन भएका थापाको पशुपति आर्यघाटमा हिन्दूपरम्परा अनुसार दाहसंस्कार गरिएको हो। उनलाई छोरा अनमोलले दागबत्ती दिएका थिए।
अन्त्येष्टिअघि थापाको पार्थिव शरीरमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले राष्ट्रिय झन्डा ओढाएका थिए। त्यसअघि थापाको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि बोर्डको कार्यालयमा राखिएको थियो। जहाँ कलाकारदेखि राजनीतिज्ञसम्मले श्रद्धाञ्जली अर्पण गरेका थिए।
शनिबार थापाको हृदयघातको कारण ६८ वर्षको उमेरमा निधन भएको थियो। उनका श्रीमती, एक छोरा र एक छोरी छन्।
‘राते काइँला’को रूपमा थापाले करिअरमा डेढ सयभन्दा बढी फिल्ममा काम गरेका छन्। हिन्दी फिल्म ‘साहेब बहादुर’बाट अभिनय करिअर सुरु गरेका उनको पहिलो नेपाली फिल्म ‘मसाल’ हो।
उनको बलिउडमा पनि ठूलो नाम छ। उनले प्रियंका चोपडाको मुख्य भूमिका रहेको फिल्म ‘मेरी कोम’ मा समेत खेलेका थिए। उनी पछिल्लो पटक नेपाली फिल्म ‘एक्लो’ मा देखिएका थिए।
Shares

प्रतिक्रिया