आजदेखि रिलिज भएको फिल्म ‘द ब्ल्यू लाइट’ प्रिमियर शो गरिएको छ। बिहीबार साँझ गरिएको प्रिमियर शोमा बलिराम चौहानको निर्देशन रहेको फिल्मलाई राम्रो प्रतिक्रिया मिलेको छ।
साइकोलोजिकल थ्रिलर जनरामा बनेका फिल्ममध्ये ‘द ब्ल्यू लाइट’ एक भएको सिनेमा हेरेपछि प्रतिक्रिया आएको छ। नेपालमा बनिरहेका फिल्ममध्ये फरक खालको भएको प्रतिक्रिया दर्शकले दिकएका छन्।
एकै खालका सिनेमा बने भन्ने गुनासो दर्शक तथा समीक्षकबाट आइरहेका बेला फरक टेस्ट बोकेर ‘द ब्ल्यू लाइट’ आएको सिनेमा हेरेपछि कलाकार तथा निर्माताले बताए। कतिपयले फिल्मको ‘ब्याकग्राउन्ड स्कोर’ (पार्श्व संगीत) ले थ्रिलर मुडलाई अन्त्यसम्म कायम राखेको प्रतिक्रिया दिए।
फिल्ममा अभिनय र मेकिङको सबैले तारिफ गरेका छन्। खलपात्रमा देखिएकी सृष्टि श्रेष्ठको अभिनयको खुलेर तारिफ भएको छ।
प्रिमियरपछि बोल्दै कलाकार तथा निर्देशक दीपक आचार्य (काकु) ले फिल्मको समग्र प्याकेजलाई उत्कृष्ट भने। उनले कलाकारहरूको अभिनयले दर्शकलाई मन्त्रमुग्ध बनाउने दाबी गरे।
उनले फिल्मलाई ‘फरक स्वादको उत्कृष्ट प्याकेज’को रूपमा परिभाषित गरे। ‘सिनेमाटोग्राफीमा नरेन्द्र मैनालीको जादु छ, कथा बिल्कुलै नौलो छ। कलाकारहरूको अभिनयले तपाईंलाई हलभित्र बाँधेर राख्छ,’ उनले भने ।
त्यस्तै, निर्माता अविरल थापाले फिल्म पारखीका लागि नरेन्द्र मैनालीको छायांकनको जादु अनुभूत गर्न यो सिनेमा हेर्नैपर्ने बताए। प्रिमियरमा अभिनेता खगेन्द्र लामिछाने, अभिनेत्री नीति शाह लगायतका कलाकारले पनि फिल्मको प्राविधिक पक्ष र कथावाचनको शैलीलाई तारिफ गरेका थिए।
फिल्ममा मुख्य भूमिका निभाएकी साथै कार्यकारी निर्माताको जिम्मेवारी सम्हालेकी बेनिशा हमालले प्रिमियरपछि खुशी व्यक्त गरिन्। उनले भनिन्, ‘नेपालमा साइकोलोजिकल थ्रिलर बनाउनु एउटा ठूलो चुनौती र जोखिम थियो। तर, आज प्रिमियरमा उपस्थित दर्शक र चलचित्रकर्मीले जुन किसिमको प्रतिक्रिया दिनुभयो, त्यसले हाम्रो मेहेनत सफल भएको महसुस गराएको छ। यो फिल्म मेरो लागि केवल अभिनय मात्र होइन, एउटा सपना पनि हो।’
निर्देशक बलिराम चौहानले आफूले भन्न खोजेको कथालाई कलाकारहरूले पर्दामा जीवन्त उतारिदिएकोमा आभार व्यक्त गरे। उनले भने, ‘हामीले एउटा इमान्दार प्रयास गरेका छौँ। प्रिमियरमा जुन लेभलको तारिफ पाइयो, हलमा आम दर्शकले पनि यसलाई त्यसरी नै माया गरिदिनुहुनेछ भन्नेमा आशावादी छु।’
यस फिल्ममा बेनिशा हमाल, श्रृष्टि श्रेष्ठ, अर्पण थापा, आयुशमान देशराज जोशी, महेश त्रिपाठी र सुरक्षा इटानी मुख्य भूमिकामा छन्। बाल कलाकारमा ग्रिस्मा कटुवाल र सहारा शर्मा छन्।
स्काइफल पिक्चर्सले प्रस्तुत गरेको ‘द ब्ल्यू लाइट’को को–प्रोडुसरको रुपमा भोलानाथ कटुवाल र रमन ग्रे रहेका छन्। कार्यकारी निर्मातामा भने छायाकार नरेन्द्र मैनाली र नायिका बेनिशा हमाल छन्।
Shares

प्रतिक्रिया