चन्द्र पन्त निर्देशित फिल्म ‘आ बाट आमा’को जापान राइट्स बिक्री भएको छ। फिल्मलाई जापानमा फिल्म वितरण गर्दै आएको ओम शान्ति ओम इन्टरटेनमेन्टले किनेको हो।
जापानका लागि ओम शान्ति ओम इन्टरटेनमेन्टका प्रमुख ईश्वर श्रेष्ठसँग सम्झौता भएको निर्माण पक्षले जानकारी दिएको छ। फिल्मका निर्देशक पन्तले जापान राइट्स प्रदर्शन बिक्री गरेको बताए।
उनका अनुसार यसअघि नै अस्ट्रेलिया, न्यूजिल्यान्ड, यूएई, कतार, बहराइन र इजरायल लगायतका देशमा प्रदर्शन अधिकार बिक्री भइसकेको छ। आर्या इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको फिल्मको गीत र टिजर रिलिजपछि अन्य देशमा पनि उच्च माग बढेको निर्माण पक्षले जनाएको छ।
निर्देशक पन्तकै कथा तथा पटकथा रहेको फिल्ममा विपना थापा, पल शाह, प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित विष्ट, बेगम नेपालीलगायतको मुख्य भूमिका रहेको छ। अभिमन्यू निरवीले लेखेको फिल्मको संवादमा अमर न्यौपाने, अभिमन्यू निरवी र चन्द्र पन्तले सहकार्य गरेका छन्।
फिल्ममा कृष्णप्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर, ध्रुवप्रसाद न्यौपाने र क्षितिज ढुंगानाले लगानी गरेका छन्। यो फिल्म आगामी माघ १६ गते रिलिज हुँदै छ।
Shares

प्रतिक्रिया