मंसिर १२ गते रिलिज हुने फिल्म ‘हर्ष’ बाट एकता पौडेल निर्देशनमा डेब्यु गर्दै छिन्।
न्यूयोर्क फिल्म एकेडेमीमा अध्ययन गर्नु र दिवंगत निर्देशक शिव रेग्मीकी भाञ्जी भएकाले उनको डेब्युलाई विशेष चासोका हेरिएको छ। उनी यी दुवै अपेक्षामा आफूलाई सक्षम सावित गर्नुपर्ने चुनौति रहेको सुनाउँछिन्।
उनीसँग रहेका आधा दर्जनभन्दा धेरै स्क्रिप्टमध्ये ‘हर्ष’लाई डेब्यू सिनेमाका रूपमा छनोट गरेकी हुन्। दर्शकले किन ‘हर्ष’ हेर्नुपर्छ भन्ने प्रश्नमा पौडेल भन्छिन्, ‘मेरा सिनेमा पारिवारिक हो, मन छुने कथा भन्न प्रयास गरेकी छु। शिव मामाले जति शतप्रतिशत दिन नसके पनि एउटा संवेदनशील विषय प्रस्तुत गर्ने कोसिस गरेकी छु।’
न्यूयोर्क फिल्म एकेडेमीमा अध्ययन गर्दा उनले विभिन्न देशका विद्यार्थीको सिनेमाप्रतिको दृष्टिकोण नजिकबाट अवलोकन गर्ने अवसर पाइन्। आधारभूत रुपमा धेरै फरक नभए पनि भावना अभिव्यक्तिको शैली, समाज र परिस्थितिले फरक बनाउने अनुभव उनको छ। यही कारण ‘हर्ष’मा उनले नेपाली समाज, परिवारको मनोविज्ञान र परिस्थितिलाई मुख्य केन्द्रमा राखेकी छन्।
नेपाली समाजमा वंश निरन्तरता महत्त्वपूर्ण मानिन्छ। यही क्रममा अवरोध आउँदा परिवार र समाजले गर्ने प्रतिक्रिया तथा त्यसले सिर्जना गर्ने मनोवैज्ञानिक दवाबलाई ‘हर्ष’ले उठान गरेको पौडेल बताउँछिन्।
‘छ-सात वटा स्क्रिप्टमध्येबाट मैले यो छनोट गरेँ। यसले उठाएको विषयमा सार्वजनिक बहस हुनु आवश्यक छ। यदि दर्शकले यसलाई राम्रोसँग बुझे भने यो विषय अझ व्यापक रूपमा अघि बढ्नेछ। सिनेमाले जटिल सिद्धान्तजस्तो होइन, सरल तर प्रभावकारी शैलीमा मनोरञ्जनसहित कुरा भन्छ’, उनी थप्छिन्।
महिला निर्देशक र महिला-केन्द्रित कथावस्तुको कारण सिनेमाले महिलाको दृष्टिकोण प्रस्तुत गर्ने अपेक्षा गरिएको छ। यसबारे पौडेल भन्छिन्, ‘मैले प्रभावकारी ढङ्गले प्रस्तुत गर्ने प्रयास गरेकी छु।’
Shares

प्रतिक्रिया