नीर शाहको मुख्य भूमिका रहेको फिल्म ‘परान’ ले बक्सअफिसमा आक्रामक व्यापार गरिरहेको छ। सुरूवातीमा न्युन व्यापार गरेको यस फिल्मले चौथो सातासम्म पनि दर्शकको राम्रो साथ पाइरहेको छ।
कात्तिक १४ गतेबाट प्रदर्शनमा आएको ‘परान’ ले पहिलो दिन ६ लाखको मात्रै ओपनिङ गरेको थियो। तर, २३ दिनसम्म आइपुग्दा यस फिल्मले १४ करोड बढीको आकंडा पार गरेको छ।
आज सोमबार चलचित्र विकास बोर्डले तिहारदेखि रिलिज भएका फिल्महरूको बक्सअफिस रिपोर्ट सार्वजनिक गरेको छ। मंसीर ६ गते रातिसम्मको तथ्यांकअनुसार ‘परान’ ले भने २३ दिनसम्म १४ करोड १६ लाख ५१ हजार ग्रस कलेक्सन गरेको हो।
योसँगै फिल्मले यसवर्षको सर्वाधिक कमाइ गर्ने ‘जेरी अन टप’ को रेकर्ड तोडेको छ। अनमोल केसी अभिनीत ‘जेरी अन टप’ लाई उछिन्दै ‘परान’ यसवर्षको सर्वाधिक कमाइ गर्ने फिल्म बनेको हो। ‘जेरी अन टप’ ले भने गत शनिबारसम्म १२ करोड ९७ लाख ४८ हजारको व्यापार गरेको छ।
दीपक प्रसाद आचार्य (काकु) निर्देशन रहेको यस फिल्ममा अभिनेता नीर शाह मुख्य भूमिकामा छ्न्। यो फिल्ममा चर्चित व्यापारिक घराना गोल्छा समूहका शेखर गोल्छा र विज्ञापन एजेन्सी प्रिज्मा एड्भर्टाइजिङका रञ्जित आचार्यको लगानी छ।
फिल्ममा शाहसँगै मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, महेश त्रिपाठी, अञ्जना बराइली, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुब्रतराज आचार्य, सुरेश थापा, बिनोद राई र बाल कलाकार आर्यादीप आचार्य लगायतको अभिनय छ।
Shares

प्रतिक्रिया