लालाबाला काठमाडौँ अन्तर्राष्ट्रिय बालनाटक महोत्सवको पाँचौ संस्करण सुरू भएको छ। कार्तिक १७ गते सोमवार इम्पेरियल वर्ल्ड स्कुलको प्रेक्षालयमा नेपाल लगायत बाह्र देशका कलाकारको उपस्थितिमा महोत्सव सुरू भएको हो।
बालनाटकको अग्रणी संस्था लालाबालाको अवधारणा र सक्रियतामा यो महोत्सव हरेक वर्ष आयोजना भइरहेको छ। आफ्नो विद्यालयमा कलाको अन्तर्राष्ट्रिय हब बनाउने ईच्छाले लालाबालासँग सहकार्य गरिएको विद्यालयका संस्थापक, चेयरम्यान कुमार कार्की बताउँछन्, ‘विदेशी कलाकारहरु बस्ने, खाने, नाटक प्रस्तुत गर्ने एउटा अन्तर्राष्ट्रिय भेन्यु बनाउने रहर छ। जसमा हाम्रा विद्यार्थीले पनि अन्तर्राष्ट्रियस्तरको नाट्य प्रशिक्षण प्राप्त गर्नेछन्।
१२ देशका ५० जना कलाकार आआफ्ना देशका भेषभुषा लगाएर, झन्डा बोकेर एकैसाथ एकैठाउँमा देखिँदा थरिथरिका फूल फुलेका बचैँचाजस्तो देखिने महोत्सव निर्देशक टंक चौलागाईं बताउँछन्।
यसपाली महोत्सव भव्य हुनेमा उनी विश्वस्त छन्, ‘यो वर्ष अप्ठ्यारो समय हो। यहि अप्ठ्यारोमा हामी विभिन्न देशका कलाकार एउटै मञ्चमा उभिएर एक स्वर बनाएर सकारात्मक सन्देश प्रवाह गर्न चाहान्छौँ। हरेक वर्ष नेपालका नाट्य संस्था, रङ्गकर्मीहरुको साथ, सहयोग पाउँदै गएका छौँ।’ टंक चौलागाईंको बुझाई छ।
सोमबारदेखि सुरू भएको महोत्सवमा आज मंगलबार जापान, बेलायत, थाईल्यान्ड, लातिभया, इरानको प्रस्तुति रहेको छ। बुधबार जोय हाउस कलेक्टिभ नेपाल र श्रीलंकाको प्रस्तुति रहेको छ। बिहीबार भ्याली भ्यु स्कुल र चेक रिपब्लिकको नाटक मञ्चन हुनेछ। शुक्रबार श्रीयन्त्र एजुकेसन फाउन्डेसन, भारत र स्लोभाकियाको नाटकपछि समापन हुनेछ। नाटक मञ्चन समय हरेक दिन १०ः३०, १ः ०० र ५ः ०० बजे रहने छ।
Shares

प्रतिक्रिया