कला


जेनजीका मुद्दासँग मेल खाने हरिवंशको फिल्म, भन्छन्- भ्रष्टाचार गर्नेको नराम्रो हुँदोरहेछ, जनता चुप बस्दैनन्

जेनजीका मुद्दासँग मेल खाने हरिवंशको फिल्म, भन्छन्- भ्रष्टाचार गर्नेको नराम्रो हुँदोरहेछ, जनता चुप बस्दैनन्

लक्ष्मी बलायर
असोज १२, २०८२ आइतबार १३:५२, काठमाडौँ

गत शनिबार फिल्म ‘हरिबहादुरको जुत्ता’को ट्रेलर सार्वजनिक भयो।

जेलको दृश्यमा हरिबहादुर पात्रको संवाद छ, ‘हरिबहादुर भनेपछि कसले चिन्दैन? तिमीले देखेको देख्यै गर्छौ मलाई। प्रख्यात हुन नसके पनि कुख्यात त भएँ नि। ख्यात त ख्यातै हो।’

हुन पनि हरिबहादुर भनेपछि कसैले चिन्दैन र? टेलिभिजनको जमनाको त्यो चर्चित पात्र। खासै जुक्ति नभएको। तर, आफूलाई खुबै बाठो ठान्ने। छिमेकमा भाँडभैलो मच्चाउन खप्पिस। जसले जहिल्यै अरूलाई रुवायो।

उनले रमाइलो शैलीमा बोल्ने ‘त्यसो गरे कसो होला’ डायलग पनि दर्शकले सायदै बिर्सेका होलान्। नकारात्मक चरित्र हरिबहादुर वर्षौंपछि फिल्मको पर्दामा फर्केको हो। असोज १३ गते फूलपातीबाट रिलिज हुने फिल्म ‘हरिबहादुरको जुत्ता’ले तिनै चर्चित हरिबहादुर पात्रलाई बोकेको छ।

०६२/६३ को जनआन्दोलनपछि महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले कमेडी टेलिसिरियल ‘मदनबहादुर-हरिबहादुर’ बनाए। त्यसै सिरियलबाट जन्मिएको पात्र हो: हरिबहादुर। चोर र ठगको परिचय बनाएको यो पात्र दर्शकमाझ निकै चर्चित भइदियो। यतिसम्म कि धेरैले हरिवंशलाई हरिबहादुर भनेर चिन्न थाले। त्यसैले पनि होला, हरिवंश पहिल्यैदेखि यस पात्रलाई फिल्ममा हेर्न चाहन्थे।

‘१०/१२ वर्षअघि नै यो क्यारेक्टरमा सिनेमा बनाउन पाए हुन्थ्यो भन्ने लाग्थ्यो। यो बच्चादेखि सबै उमेर समूहलाई मनपर्ने क्यारेक्टर हो। हुन त थुप्रै पात्र खेलियो तर यो क्यारेक्टर पहिल्यैदेखि गर्न मन थियो। जसकारण यस पात्रलाई कथामा बुन्दै फिल्ममा ल्याएँ,’ उनले भने।

हरिवंशका अनुसार हरिबहादुर रमाइलो चरित्र हो। सबैलाई प्रतिनिधित्व गर्ने यस पात्रलाई धेरैले मन पराए। सिरियलको पात्रलाई फिल्ममा राख्दा केही फरकपन दिइएको छ।

उनी भन्छन्, ‘फिल्म हरिबहादुर वरिपरि घुम्छ। सिनेमा बनाउँदा केही कमर्सियल कुरा पनि जोडिएको हुन्छ। त्यसमा चाहिँ आम मानिसलाई कसरी समेट्न सकिन्छ भनेर काम गरिएको छ। चोर सधैँ चोर मात्रै हुँदैन। सुध्रिन पनि सक्छ। सप्रिन खोज्दा उसलाई समाजले कसरी हेर्छ भन्ने कुरा कथामा समेटेका छौँ। हरिबहादुरले पहिले धेरैलाई रुवाएको थियो। जसकारण दर्शकलाई हरिबहादुरलाई रुवाउन पाएहुन्थ्यो लागेको हुनसक्छ। त्यो चिज पनि सिनेमामा छ।’

मूल कमेडी जनरा भए पनि हरिवंशका कथामा राजनीति कहिल्यै छुट्दैनन्। यसपटक पनि फिल्मको कथाले राजनीति छोएको छ। केही दिनअघि मात्रै नेपालमा जेनजी आन्दोलन भयो। मानवीय क्षति भोगे पनि उक्त आन्दोलनले केही न केही उपलब्धि दियो। जेनजीले उठाएको प्रश्न फिल्ममा समावेश भएको उनको भनाइ छ।

‘हामीले सिनेमा बनाएपछि केही न केही आउनुपर्‍यो। सानो राजनीतिलाई पनि छोएका छौँ। युवा नेतृत्वमा आउनुपर्छ भन्ने अहिले जेनजीले उठाएको प्रश्न पनि फिल्ममा छ। अहिले आन्दोलन नै भयो। मानवीयदेखि राष्ट्रिय सम्पत्तिको क्षतिचाहिँ दु:खद हो,’ उनले भने, ‘केही न केही उपलब्धि पनि भएका छन्। भ्रष्टाचार गर्नेको नराम्रो हुँदोरहेछ, जे गर्दा पनि अब जनता चुप लाग्दैन भन्ने सन्देश दिएको छ। जेनजी पुस्ताले उठाएको म्यासेजचाहिँ फिल्ममा समेटेका छौँ।’

चारपाँच महिनाअघि सुटिङ भए पनि फिल्मको कथा अहिलेको परिवेशसँग मिल्दोजुल्दो रहेको उनको दाबी छ।

‘देशको मुख्य समस्या भनेकै भ्रष्टाचार नै हो। पछिल्ला विकृतिहरू त्यसबाट जन्मिएका हुन्। ती कुराहरूलाई फिल्ममा रमाइलो तरिकाले बुनिएको छ,’ उनी भन्छन्।

‘हरिबहादुरको जुत्ता’को गीतदेखि ट्रेलरले सकारात्मक प्रतिक्रिया पाइरहेको छ। सोहीकारण फिल्मलाई लिएर उत्साहित छन् हरिवंश। फिल्मले दर्शकको मन जित्नेमा ढुक्क सुनिए उनी। 

‘यो सिनेमामा जति पनि प्रोस्टप्रोडक्सनको काम भयो, त्यो काममा हामी खुसी भएका छौँ। हाम्रो सिनेमा भंयकर राम्रो बनेको छ भन्दैनौँ। अब मूल्यांकन गर्ने दर्शकले हो। जसकारण हामीले सक्दो प्रयास गरेका छौँ,’ उनी भन्छन्, ‘मैले निर्माणको सिलसिलामा २०औँ चोटि हेरिसकेँ। तर, बोर फिल भएको छैन। किनभने एउटा सिन मात्रै बोर हुँदा बाँध्नलाई गाह्रो हुन्छ। तर हामीले हेर्दाखेरि सुरुदेखि अन्त्यसम्म दर्शकलाई बाँधेर राख्छ।’

यसपटक पनि दसैँमा ‘हरिबहादुरको जुत्ता’ सहित तीनवटा फिल्म एकसाथ रिलिज हुँदैछन्। सो बाँडिने निश्चित छ। चाडपर्वको माहोलमा तीनवटा फिल्म जुध्नुलाई स्वाभाविक रूपमा हेर्छन् आचार्य।

‘हामीले जति मेहनत गरेर सिनेमा बनाएका छौ, अरूले पनि त्यति नै दु:ख गरेका हुन्छन्। त्यसकारण हामीले अरूलाई पनि शुभकामना दिऔँ। सबैको लगानी उठोस्। फेस्टिभल मुडमा दुईतीन वटा सिनेमा त मज्जाले चल्छ। राम्रो भयो भने दर्शकले हेर्नुहुन्छ जस्तो लाग्छ।’

चाडपर्वमा सिनेमा हल नेपाली चलचित्रमय हुँदा विदेशी फिल्मलाई भने रोक्नुपर्ने उनको मत छ। जसका लागि हलवालादेखि वितरकसम्मलाई उनले सहयोग गर्न अनुरोध गरे।

‘यो बेलामा चाहिँ विदेशी फिल्महरू नल्याइदिए हुन्थ्यो भन्ने मेरो अनुरोध छ। किनभने आफ्नो उद्योग बनाउनुपर्‍यो नि त। विदेशी फिल्महरू अर्बौँ पैसामा बनाउँछन्। त्यही पनि नेपाली सिनेमाले जितिराखेका छन्। थोरै पैसा खर्च गरेर पनि हामीले उनीहरूसँग प्रतिस्पर्धा गरेर हिँड्न सक्छौँ। तर, यो बेलामा सबै हलवाला र वितरकहरूले पनि नेपाली सिनेमालाई छोडिदिऔँ न भनेर त्याग गर्नुपर्छ। नेपाली सिनेमालाई बचाउनु नेपाली वितरक र हलवालाको धर्म हुन्छ,’ उनले भने।

दीपेन्द्र के खनाल निर्देशित यस फिल्ममा हरिवंशसहित प्रकाश सपुत, स्वस्तिमा खड्का, प्रियंका कार्की, दिव्य देव, हरिहर शर्मा, राजाराम पौडेल, दिनेश काफ्ले, कमलमणि नेपाल लगायतको अभिनय छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad