आगामी भदौ २० गतेबाट प्रदर्शन हुने फिल्म ‘रिमै’को प्रचारप्रचार सुरू भएको छ। गत शनिबार राजधानीमा आयोजित ३१ औं विश्व आदिवासी दिवसको अवसरमा काठमाडौंका विभिन्न ठाउँमा सम्पन्न र्यालीमा सिनेमाको टिमको सक्रिय सहभागिता थियो।
कलाकार, निर्माता तथा निर्देशकलगायत सिनेमासँग सम्बन्धित सम्पूर्ण टोली आदिवासी समुदायको मौलिक पहिचान र संस्कृति जगेर्ना गर्ने सन्देशसहित सहभागी थिए। सिनेमाको निर्माण टिमसहित आदिवासी जनजाति समुदायका अभियानकर्ता हातमा ब्यानर, प्लेकार्ड र सिनेमाको नाम अंकित पोस्टर बोकेर परम्परागत धुनमा नाचगान गर्दै सहभागीलाई सिनेमाप्रति आकर्षित पारेका थिए।
सिनेमा ‘रिमै’ टिमका सदस्यले आदिवासी दिवसलाई केवल उत्सव मात्र नभई अधिकार, समानता र सांस्कृतिक सम्मानका लागि संघर्षको प्रतीकका रूपमा लिएको बताए। सिनेमाका निर्देशक खिल बहादुर गुरुङले सिनेमामार्फत पनि आदिवासी समुदायको वास्तविक कथा, संस्कृति र चुनौतीलाई दर्शकसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गरे।
गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्म्स् प्रालीको प्रस्तुती र रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको सिनेमामा गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरवल घले, डिवी गुरुङ, टेक गुरुङ र बालकलाकार असिम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना राना मगर लगायतको अभिनय छ।
उपेन्द्र सुब्बाको लेखन रहेको फिल्मलाई शैलेन्द्र ध्वज कार्कीले छायांकन गरेका हुन्।
36
Shares

प्रतिक्रिया