नेपाली कांग्रेसले समयमै महाधिवेशन सम्पन्न नगर्ने भ्रातृ संस्थाको महाधिवेशन गराउनका लागि निर्देशन समिति बनाएको छ। अहिले उक्त निर्देशन समितिसँग पार्टीका शीर्ष नेताले छलफल गरिरहेका छन्।
पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी छलफलमा सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री विश्वप्रकाश शर्मा सहभागी छन्।
भ्रातृसंस्थाको महाधिवेशन निर्देशन समितिको संयोजकमा तरुण दलका लागि सहमहामन्त्री महालक्ष्मी उपाध्याय, नेविसंघका लागि सहमहामन्त्री किशोरसिंह राठोर, महिला संघका लागि प्रवक्ता डा प्रकाशशरण महत, नेपाल दलित संघका लागि सहमहामन्त्री जीवन परियार, नेपाल किसान संघका लागि केन्द्रीय सदस्य रमेश रिजाल, नेपाल लोकतान्त्रिक खेलकुद संघका लागि केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत, नेपाल थारू संघका लागि केन्द्रीय सदस्य उदयशम्शेर राणा तोकिएका छन्।
आजको छलफलमा शीर्ष नेतासँगै निर्देशन समितिका संयोजक र महाधिवेशन गराउन नसक्ने भ्रातृ संस्थाका अध्यक्षहरू सहभागी छन्।
कांग्रेसका सात भ्रातृसंस्था नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल महिला संघ, नेपाल दलित संघ, नेपाल लोकतान्त्रिक खेलकुद संघ, नेपाल थारू संघ र नेपाल किसान संघले पटकपटक म्याद थप्दा पनि महाधिवेशन गर्न सकेनन्।
पटकपटक म्याद पाउँदा पनि महाधिवेशन गर्न नसक्ने तदर्थ समितिकै अध्यक्षलाई निरन्तरता दिँदै महाधिवेशन गराउनुपर्ने भन्दै सभापति देउवाले एक पटक मौका दिन गत असार १६-२३ गतेसम्म चलेको केन्द्रीय समिति बैठकले पारित गरेको थियो।
आज निर्देशन समितिको काम र अधिकारको विषयमा छलफल हुनेछ। यसअघि शुक्रबारमात्रै सभापति देउवाको निवास बूढानीलकण्ठमा उपसभापति खड्का, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले निर्देशन समितिले केके काम गर्न पाउने भन्नेबारे छलफल गरेका थिए।
Shares

प्रतिक्रिया