कला


डंकी रुटमा हन्डर खाएका हरि र लालाबालासाथ कुरिरहेकी सीताहरूको प्रश्न– अमेरिका साँच्चै सुनौलो देश हो?

डंकी रुटमा हन्डर खाएका हरि र लालाबालासाथ कुरिरहेकी सीताहरूको प्रश्न– अमेरिका साँच्चै सुनौलो देश हो?

लक्ष्मी बलायर
साउन २४, २०८२ शनिबार १९:६, काठमाडौँ

डोनाल्ड ट्रम्प दोस्रोपटक राष्ट्रपति भएर आएपछि अमेरिकाले केही नेपालीलाई हत्कडी लगाएर नेपाल फर्काइदियो। सुनौलो संसारको परिकल्पना गरेर अमेरिका गएका उनीहरू काँधमा बोरा च्यापेर विमानस्थलबाट निस्किए।

ती त घर फर्किए। अझै कति फर्किने हुन्। र, डंकी रुटमा हन्डर खाइरहेका थप कति छन्?

अमेरिकालाई सपनाको देश भनिन्छ। जहाँ पुग्ने नेपालीको पनि सुनौलो सपना हुन्छ। जसको लागि उनीहरू ज्यानै दाउमा लगाएर, यताको सिरिखुरी बेचेर, ३६ प्रतिशत ब्याजमा साहुको ऋण लिएर अनेकानेक गर्छन्। अवैध बाटो पनि पछ्याउँछन्।

विडम्बना! अवैध बाटो भएर जानेहरूका लागि अमेरिका सोचेझैँ भएन। देश फेरे पनि दु:ख फेरिएन। पैसा कमाउन हिँडेका उनीहरू रित्तो हात नेपाल फर्किए। जुन रित्तोपनमा सायद आफूलाई समेत गुमाइसकेका थिए।

तिनै डिपोर्ट भएर फर्किएका नेपालीको पीडाबारे नाटक ‘स्वर्णदेश’ ले बोल्छ। जुन नाटक थापागाउँस्थित मण्डला थिएटरमा मञ्चन भइरहेको छ। सरिता कठायतले लेखेको नाटकलाई आकाश नेपालीले निर्देशन गरेका हुन्।

मञ्चमा देखा पर्छ, एक समूह। हातमा हरियो पासपोर्ट, साथमा झोला। ठूलो लौरो बोकेका उनीहरू पालैपालो आफ्नो निराशा पोख्छन्। स्वर्णदेश जानुको कारण खोल्छन्। कसैले बेरोजगारीलाई कारण देख्छन् त कसैले भ्रष्ट राजनीतिलाई। कसैले पोख्छन्, राज्यले तेस्रो दर्जाको नागरिकसरह गरेको व्यवहारको पीडा।

कसैमा बारम्बार भिसा रिजेक्ट हुँदाको रिस सुनिन्छ। कसैमा भने आफ्नो भावी सन्ततिको भविष्यप्रतिको चिन्ता।

उद्देश्य फरक भए पनि उनीहरूको बाटो र गन्तव्य भने एउटै हुन्छ। त्यसैले त उनीहरू एकअर्कासँग ठोकिन्छन्। तर, अवैध बाटो हिँडेका उनीहरूको यात्राको निश्चित गन्तव्य छैन। लाखौं खर्च गरे पनि स्वर्णदेश पुग्ने टुंगो छैन।

तर, पनि उनीहरू स्वर्णदेश पुग्ने आसमा महिनौंसम्म हिँडिरहेका छन्। हप्तौंसम्म भोको पेट बसेका छन्। जसमा देश छोड्नुको बाध्यतादेखि चरम निराशा भेटिन्छ। अवैध बाटो हुँदै विदेश जानेहरूको सपना र कठिन यात्रालाई ‘स्वर्णदेश’ ले समेटेको छ।

सरिताले समकालीन नेपाली समाजको सबैभन्दा पेचिलो विषयवस्तुलाई नाटकमा टपक्क टिपेकी छन्, जसले डंकी रुटबाट विदेश जानेहरूको पीडा र व्यथालाई महसुस गराउँछ। आकाशले पनि डेब्यु नाटकबाटै राम्रो सम्भावना देखाएका छन्। 

उनीहरूलाई थाहा छ, डंकी रूटबाट अमेरिका जानु गैरकानुनी हो र हिँडेरै अमेरिका पुग्न कठिन छ भनेर। किनकि उनीहरूको पाइला–पाइलामा खतरा छ। घना जंगलमा जनावर र सर्पको डर। त्यसमाथि उर्लिँदो बाढी। चोर र डाँकुले लुट्ने डर। अझ महिलालाई त बलात्कृत हुन्छु कि भन्ने पिर।

तैपनि, त्यो अवैध बाटो जान किन विवश छन् नेपाली? यस नाटकले तिनै पात्रको शारीरिक र भावनात्मक पीडाको प्रस्तुतिमार्फत उठाएको केन्द्रीय प्रश्न हो यो।

देश छाडेर सुखशान्तिको खोजीका लागि नारकीय दुःखको बाटो हिँड्ने यस समूहमा मिसिन्छन् पूर्वदेखि पश्चिमसम्मैका नेपाली। अनि भारतीय, बंगलादेशी र अरू देशका नागरिक पनि। तिनको भाषा, संस्कृति र राष्ट्रियता फरक भए पनि पीडा एउटै छ। त्यसैले यस नाटकको एउटा सुन्दर पक्ष हो, फरक देश र भाषीलाई एकआपसमा जोड्न सक्नु।

डोटेली र अन्य स्थानीय भाषिकाको प्रयोगले नाटकलाई थप जीवन्त बनाएको छ। हरि पूर्वी नेपालका हुन्छन् भने उनकी श्रीमती सीता सुदूरपश्चिमकी। दुवैको प्रेमप्रसंगको कुराले नाटक थप रसिलो बनेको छ।

तिनै सीता बेलाबेला मञ्चमा देखापर्छिन्। कहिले बच्चालाई खेलाउँदै त कहिले ऊनको मफलर बुन्दै। उनले आफ्नो बुढालाई नेपाल फर्किन गरेको आग्रहले विदेश गएकाहरूलाई गाउँघरले पर्खिरहेको संकेत गर्छ।

पारितोषिका पन्त सीताको भूमिकामा देखिएकी छन्। उनको आवाजमा डोटेली भाषाको संवाद मिठो सुनिन्छ।

नाटकले अमेरिकालाई सुनौलो देशको रुपमा चित्रण गरेको छ। तर, के साँच्चिकै अमेरिका सोचेजस्तो सहज छ? अमेरिका पुगेपछि के सबै दु:ख र पीडा गायब हुन्छन् त? यी प्रश्नहरूको जवाफ यस नाटकले दिन्छ।

विदेशको तीतो पाटोलाई खोतल्दै आफ्नै गाउँ फर्किएर केही गर्नुपर्छ भन्ने नाटकले सिकाउँछ। साथै नाटकले विदेश जान खोज्ने युवालाई पनि एकपटक सोच्न बाध्य बनाउँछ।

यस नाटकमा पारितोषिकासहित सुजन खतिवडा, सुज्यान सिलवाल, सन्तोष गिरी, भूपि लुहार, जर्निको ‘निक’ कल्मर, सन्देश कार्की, उज्ज्वल बान्तवा राई, चिराग पनेरु, आरती गौतम, अनिल कुर्मी र आदित्य मिश्रको अभिनय छ।

नाटक साउन २५ गतेसम्म चल्नेछ।

(तस्बिर सौजन्य: मण्डला थिएटर)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad