हालै बलिउड अभिनेता शाहरुख खानले उत्कृष्ट अभिनयका लागि राष्ट्रिय पुरस्कार हात पारे। ३३ वर्ष लामो प्रतिक्षापछि उनले पहिलोपल्ट देशकै ठूलो अवार्ड जितेका हुन्।
उनको यस सफलतामा फ्यानसहित फिल्मी जगत्का थुप्रै सेलेब्रिटीले बधाई दिए। तर, केहीले भने ‘जवान’बाट शाहरुखले राष्ट्रिय पुरस्कार जित्न योग्य नभएको तर्क गरेका छन्।
यस्तोमा अभिनेता मुकेश खन्ना शाहरुखको समर्थनमा उत्रिएका छन्। स्पष्टवक्ताका रूपमा परिचित खन्नाले शाहरुखलाई दिइएको राष्ट्रिय पुरस्कारका पक्षमा मत राखेका हुन्।
‘जसले शाहरुख खानले यो फिल्म (जवान) का लागि होइन, स्वदेशका लागि पुरस्कार पाउनुपर्थ्यो भनिरहेका छन्, उनीहरूले के बिर्सन हुँदैन भने आर रहमानले जय होका लागि अस्कर पाएका थिए, पहिले रचना गरेका धेरै सुन्दर गीतहरूका लागि होइन,’ उनले भने, ‘शाहरुख ४० वर्षदेखि कडा परिश्रम गरिरहेका छन्। त्यसो भए उनले राष्ट्रिय पुरस्कार पाए त के गलत भयो?’
मुकेश खन्नाका साथै हिन्दी फिल्म उद्योगले शाहरुखलाई समर्थन गरिरहेका छन्। शाहरुख अभिनीत फिल्म ‘जवान’ले रेकर्ड तोड्ने कमाइ गरेको थियो।
हालै मलयालम फिल्म अभिनेत्री उर्वशीले शाहरुख खानलाई दिइएको राष्ट्रिय पुरस्कारप्रति असन्तुष्टि व्यक्त गरेकी छन्।
उत्कृष्ट अभिनेताको पुरस्कार विजयराघवनलाई दिइनुपर्ने टिप्पणी उनले गरेकी छन्।
उर्वशीले पनि उत्कृष्ट सहायक अभिनेत्रीको राष्ट्रिय पुरस्कार जितेकी छन्, तर यसबाट उनी खुसी छैनन्।
Shares

प्रतिक्रिया