अभिनेता नाजिर हुसेनको मुख्य भूमिका रहेको फिल्म ‘गुन्यु चोलो: द ड्रेस’ को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलरले पारलैंगिक महिला (ट्रान्सवुमन) को ले आफ्नो पहिचान खुलाउन गरेको संघर्ष वरिपरि घुमेको छ।
जहाँ अभिनेता हुसेन ट्रान्सवुमन पात्रको रुपमा देखिएका छन्। उनले आफूभित्र रहेको लैंगिक पहिचान खोजेको तर त्यसलाई दबाउन खोज्ने बुवाबीचको संघर्ष र तनावलाई ट्रेलरमा समेटिएको छ।
सानैदेखि महिलाको पहिरन मन पराउने नाजिरलाई बुवाले लाउरे बनाउन चाहन्छन्। तर, नाजिरले लाहुरे बन्न पटक्कै मन छैन। आफ्नो वास्तविक पहिचान लुकाएर बस्न नसक्ने अवस्थामा पुगेपछि घर छोड्न गरेको निर्णय समेत ट्रेलरमा छ।
समुन्द्र भट्टको निर्देशन रहेको फिल्म ‘गुन्यु चोलो: द ड्रेस’ लैंगिक अल्पसंख्यक पारालैंगिक पात्रको कथामा बनेको हो। यो फिल्म आगामी भदौ १३ गते रिलिज हुँदैछ।
फिल्मा नाजिरसँगै चलचित्रमा सञ्चिता लुइँटेल, सुशील सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ र विशाल पहारीको अभिनय छ।
यो चलचित्रको अन्तर्राष्ट्रिय वितरण अधिकार अमेरिकाको बफेलो एट्लेले किनेको छ। चलचित्रको सम्पूर्ण पोस्ट प्रोडक्सनको काम बाहिर गरिएको छ। चलचित्रमा हलिउडकी कलाकार लिजा जेरार्डले स्वर दिएकी छिन् भने ब्याकग्राउन्ड म्युजिकको सम्पूर्ण काम मार्सेलो दी फ्रान्सिसीले गरेका छन्। हलिउड चलचित्र ‘ग्ल्याडिएटर– २’ मा लिजाले स्वर दिएकी थिइन् ।
यो चलचित्र नेपाली फिल्म प्रोडक्सन हाउस र हलिउड फिल्म प्रोड्क्सन हाउसको संयुक्त सहकार्यमा बनेको हो । चलचित्रमा आकाश बुढाथोकी र भि–भन्से जानुबोनको लगानी छ। चलचित्रको कार्यकारी निर्माता जेफ्री जे वेन र स्टिभ जोन्स्टन हुन् भने अनुपम श्रेष्ठ चलचित्रका सहयोगी निर्माता हुन्।
आलोक शुक्लाले खिचेको चलचित्रमा लेखु सहयात्रीको गीत रचना रहेको छ। यो चलचित्र अमेरिकाको प्रतिष्ठित तस्वीर फिल्म मार्केटमा छनोट भएको थियो।
Shares

प्रतिक्रिया