गत वर्षको बाढीबाट क्षतिग्रस्त बीपी राजमार्गको आपत्कालीन पुनर्निर्माणका लागि जापानले आर्थिक सहयोग गर्ने भएको छ।
काठमाडौंलाई पूर्वी पहाड र तराई जोड्ने छोटो राजमार्ग पुनर्निर्माणका लागि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जापान सरकारले दिने २.८ अर्ब जापानी येन (२ अर्ब ६१ करोड नेपाली रुपैयाँ) अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।
गत साल असोज दोस्रो साता आएको बाढीले बीपी राजमार्गलाई क्षतिग्रस्त बनाएको थियो। उक्त राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्धस्थित चौकीडाँडाबाट रोशी गाउँपालिकाको कालढुङ्गासम्म १२ किलोमिटर सडकखण्डमध्ये आठ किलोमिटर सडक पूर्ण रूपमा क्षति पुगेको थियो।
बीपी राजमार्ग जापानकै आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको थियो। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले २६ अर्ब येन खर्च गरेर धुलिखेल–सिन्धुली–बर्दिबास १५८ किलोमिटर सडक निर्माण गरेको थियो।
जापान सरकारको आर्थिक सहयोग निर्माण गरिएको बीपी राजमार्गमा २०७२ असार १८ गते नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो।
Shares

प्रतिक्रिया