गत वर्ष रिलिज भएको फिल्म ‘फर्की फर्की’ मा एउटा विवादास्पद दृश्य छ, जसमा हिरो अनमोल केसी र जसिता गुरुङबीच संवाद हुन्छ।
अनमोलसँग हिरोइन जसिताले नम्बर माग्छिन्। उनले एउटा नम्बर उच्चारण गर्छन्।
फिल्ममा अनधिकृत रूपमा प्रयोग गरिएको त्यही नम्बरका कारण अहिले निर्माण टिम मुद्दा खेप्नुपर्ने अवस्थामा पुगेको छ।
उमेरले सात दशक कटेका कलाकार एवं कवि नरेन्द्रबहादुर श्रेष्ठले आफ्नो मोबाइल नम्बर दुरुपयोग गरिएको भन्दै सोमबार जिल्ला अदालत, काठमाडौँमा दुष्कृतिसम्बन्धी मुद्दा दर्ता गरेका छन्।
चलचित्र निर्माण पक्षले सोध्दै नसोधी आफ्नो नम्बर प्रयोग गरेको, हटाइदिन भनी पटकपटक आग्रह गर्दा पनि बेवास्ता गरेको र यसले आफूलाई मानसिक हैरानी तथा शारीरिक रूपमा पनि नोक्सानी भएको श्रेष्ठको गुनासो छ। त्यसैले आफूले भोगेको हैरानीको पनि उचित क्षतिपूर्ति पाउनुपर्ने उनको माग छ।
अनमोल केसीसहित चलचित्र ‘फर्की फर्की’ टिमविरुद्ध मुद्दा, अर्काको मोबाइल नम्बर दुरुपयोग गरेको आरोप
सुयोग गुरुङ निर्देशित यो फिल्म २०८१ जेठ १० गतेबाट प्रदर्शन भएको थियो। श्रेष्ठका अनुसार, फिल्म रिलिज भएदेखि नै लगातार फोन आउन थालेको थियो।
अनमोल केसीसँग बोल्न चाहने व्यक्तिहरूले बारम्बार फोन गर्न थालेपछि उनी दिक्क भए। र, मोबाइल नै स्विच अफ गर्नुपरेको फिरादपत्रमा उल्लेख गरिएको छ।
यो समस्या समाधानका लागि श्रेष्ठ सुरूबाटै सम्बन्धित व्यक्ति र निकायहरूमा धाएका थिए। फोन गर्ने व्यक्तिलाई सम्झाउने-बुझाउनेदेखि फिल्मका निर्माता र निर्देशकलाई पनि गुहारेका थिए।
निर्देशक सुयोग गुरुङलाई पटकपटक आग्रह गर्दा उनले समस्या समाधानको आश्वासन दिए तर समस्या सम्बोधनतर्फ कुनै काम गरेनन्।
अर्थात्, श्रेष्ठले भोगेको हैरानीलाई उनले खासै गम्भीरतासाथ लिएनन्।
निर्माण पक्षले बेवास्ता गरेपछि श्रेष्ठ चलचित्र विकास बोर्ड, चलचित्र जाँच समिति (सेन्सर बोर्ड) र सञ्चार मन्त्रालयलगायत सरकारी निकाय गुहार्न पुगे।
तत्कालीन अवस्थामा चलचित्र विकास बोर्डको नेतृत्वमा अनमोलकै बुवा भुवन केसी थिए। श्रेष्ठले उक्त फिल्मको संवादले गर्दा निजी जीवनमा समस्या सिर्जना हुँदा फिल्मको संवाद हटाई पाउन बोर्डमा लिखित निवेदन दिनुका साथै अध्यक्ष भुवन केसीलाई पटकपटक फोनबाट पनि अनुरोध गरे।
तर, भुवनले पनि उक्त समस्या समाधानपट्टि कत्ति चासो दिएनन्। पीडितको गुनासो एउटा कानले सुने, अर्को कानले उडाइदिए।
त्यसैको परिणास्वरूप अहिले अनमोल कानुनी झमेलामा फसेका छन्।
अदालतमा दायर फिरादपत्रअनुसार, गत वर्षको असार ९ गते पीडित श्रेष्ठले फिल्ममा निजी फोन नम्बर प्रयोग भएको जानकारी गराई उक्त कार्यले निजी जीवन अस्तव्यस्त बनाई स्वास्थ्य र सामाजिक सम्बन्धमा समेत गम्भीर आघात पुर्याएकोले आफ्नो नम्बर हटाएर मात्र प्रदर्शन गर्न अनुरोध गर्दै निवेदन दिएका थिए। चलचित्र विकास बोर्डका साथै केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) मा समेत त्यो निवेदन दर्ता गराए।
‘उक्त फिल्मको संवादले गर्दा मेरो निजी जीवनमा समस्या सिर्जना भयो, सो फिल्मको संवाद हटाई सार्वजनिक सूचनाबाट सबैलाई जानकारी दिई मलाई उक्त प्रकारको हैरानीबाट फुर्सद दिलाई पाँऊ भनी चलचित्र विकास बोर्डका तत्कालीन अध्यक्ष भुवन केसीलाई फोन गरेर जानकारी गराएको थिएँ। चलचित्र निर्माता रोहित अधिकारीको घरमै गई गुनासो गरेको थिएँ,’ फिरादमा लेखिएको छ, ‘सुयोग गुरुङलाई धेरैपटक आग्रह गर्दा पनि उहाँहरूले मेरो गुनासो सम्बोधन नगरेकोले चलचित्र विकास बोर्ड र केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) लाई फिल्ममा मेरो निजी फोन नम्बर प्रयोग भएको जानकारी गराई उक्त कार्यले मेरो निजी जीवन अस्तव्यस्त बनाई मेरो स्वास्थ्य र सामाजिक सम्बन्धमा समेत गम्भीर आघात पुर्याउने काम भएकोले मेरो नम्बर हटाएर मात्र प्रदर्शन गर्न अनुरोध गरी निवेदन दिएको थिएँ।’
ती कुनै पनि निकायले निवेदनमा कारबाही नगरिदिएको गुनासो श्रेष्ठले गरेका छन्।
कहीँ कतैबाट उपचार नपाएपछि श्रेष्ठ निराश थिए।
यसैबीच, गएको जेठ १ गतेदेखि यो फिल्म ओटीटी प्लेटफर्म एमएसएममा स्ट्रिमिङ भयो। अझ उनको मोबाइल नम्बर आदान–प्रदान गरिएको संवादकै प्रोमो (प्रचार सामग्री) बनाएर फेसबुक र अरू सामाजिक सञ्जालहरूमा राखियो।
त्यसपछि त अनमोललाई खोज्दै पहिलाभन्दा धेरै फोन आउन थाल्यो। रातदिन फोन आउन थालेपछि आफू निकै तनाव र पीडामा रहेको उनले फिरादमा खुलाएका छन्।
चलचित्रको निर्माण पक्षले नियतवश नै आफूलाई हैरानी दिने उद्देश्यले काम गरिरहेको निष्कर्ष निकाल्दै श्रेष्ठ वयोवृद्ध उमेरमा अदालतको ढोका ढक्ढक्याउन पुगेका छन्, त्यो पनि नाति उमेरका अनमोलविरूद्ध।
भुवन केसीले चाहेको भए यो विषय एक वर्षअघि नै सल्टिन्थ्यो। त्यतिखेरै सल्टाएको भए अनमोलले अहिले आएर कानुनी झमेला बेहोर्नुपर्ने थिएन।
भुवनले श्रेष्ठको निवेदनलाई गम्भीरपूर्वक नलिँदा अहिले मुद्दा-मामिलाको तहसम्म यो विषय पुगेको छ। आफ्नै छोराको फिल्मसम्बन्धी उजुरीमा बेवास्ता गर्दा अनमोलले अदालतको तारिख धाउनुपर्ने भएको छ।
‘म पनि कला क्षेत्रकै मान्छे हुँ,’ श्रेष्ठ दुःखी हुँदै भन्छन्, ‘अहिले कलाकारबाटै पीडा र हैरानी खेप्नुपरेको छ र अदालत नै गुहार्नुपरेको छ।’
त्यसो त हालका चलचित्र विकास बोर्ड अध्यक्ष दिनेशराज दाहाल (दिनेश डीसी)ले सुयोग गुरुङ र अधिकारी फिल्म्सलाई असार २ गते मात्र पत्रचार गरी श्रेष्ठको नम्बर चलचित्रको संवादबाट हटाउन निर्देशन दिएका थिए।
निर्माण पक्षले उक्त पत्रको पनि बेवास्ता गरेपछि श्रेष्ठ अदालतको ढोका ढक्ढक्याउन पुगेको श्रेष्ठको भनाइ छ।
तर, यसो भन्छन् निर्माता
निर्माता अधिकारी भने आफूहरूले पहिले नै यसबारे सम्बन्धित व्यक्तिलाई भेटेर माफी मागेर उक्त नम्बर हटाइसकेको दाबी गर्छन्। उनले नम्बर राख्दा भूल भएको पनि स्वीकार गरे।
'सुयोग गुरुङजीले डाइलगमा.... फोन नम्बर राख्नु भएको रहेछ। राख्नुभन्दा अगाडि उहाँले नम्बर डायल गर्नु भएको पनि रहेछ। त्यो नम्बर छैन भन्ने कन्फर्म भइसकेपछि डाइलगमा राख्नु भयो। भुलवस भयो त्यो,' उनले नेपालखबरसँग भने, 'फिल्म रिलिज भइसकेपछि त्यो नम्बर अन रहेछ। त्यो नम्बर अन भइसकेपछि अहिले जसले मुद्दा हाल्नु भएको छ उहाँ हाम्रो कन्ट्याक्टमा आउनुभयो। मलाई पनि फोन गर्नुभयो मैले सुरुमै हाम्रो गल्ति भयो भनेर सरी पनि भनेँ। उहाँहरूलाई सोधे पनि हुन्छ।'
अधिकारीले सुयोग गुरुङले उनीहरूको घरमै गएर माफी मागेको पनि दाबी गरे। उनले फिल्ममा नम्बर भनेको ठाउँमा 'बीप' राखेर पठाएको पनि बताए।
'मैले माफी मागेँ सुयोग गुरुङजी त उहाँको घरमै गएर माफी मागिसक्नु भयो। हामीले फिल्ममा जहाँ नम्बर भनेको छ त्यहाँ बीप हालेर पठाइदियौँ त्यो बेलाको समस्या समाधान भएको थियो,' उनले थपे, 'रह्यो कुरा एमएसएमको भिडिओको। भिडिओ चाहिँ टिकटकमा ट्रेलर बनाएर हाल्या रहेछ। मैले केही कुराहरू देखिनँ। मलाई विकास बोर्डको पत्र आउनसाथ तुरुन्तै त्यो हटाउन लगाएँ। अहिले एमएसएममा हेरे पनि थाहा हुन्छ हटाएको छ।' *निर्माता अधिकारीको भनाइ पछि थपिएको हो* - सम्पादक
Shares

प्रतिक्रिया