ad ad

कला


अनमोलविरुद्ध भुवन केसीकहाँ उजुरी!

अनमोलविरुद्ध भुवन केसीकहाँ उजुरी!

नेपालखबर
जेठ २०, २०८१ आइतबार ९:४५, काठमाडौँ

नाताले भुवन केसी र अनमोल केसी बाबुछोरा हुन्। तर, भूमिकाले भने भुवन अहिले नियामक निकाय चलचित्र विकास बोर्डको अध्यक्ष छन् भने अनमोल अभिनित चलचित्र ‘फर्की फर्की’ हलहरुमा प्रदर्शन भइरहेको छ।

त्यही ‘फर्की फर्की’ले दिएको हैरानीका बारेमा अहिले भुवन केसीकहाँ गुनासो पुगेको छ, जुन अनमोलको संवादसँग सम्बन्धित छ।

खासमा भएको के भने, संवादमा नायक अनमोलले आफ्नो फोन भन्दै नायिका जसिता गुरुङलाई एउटा नम्बर टिपाउँछन्। 

अहिले फर्की फर्की हेर्ने दर्शकहरु अनमोल केसीसँग कुरा गर्ने भन्दै त्यही नम्बरमा फोन गरिरहेका छन्। जेठ १० गते रिलिज भएको चलचित्र हेर्ने दर्शकको भिड अहिले पनि उस्तै छ। 

तर हलमा लागेको भिडले हैरानी भने उक्त फिल्मसँग कुनै सरोकार नै नराख्ने अर्कै व्यक्तिलाई दिइरहेको छ।

त्यो नम्बर संयोगले प्रसिद्ध कवि, कलाकार एवं समाजसेवी नरेन्द्रबहादुर श्रेष्ठको हुन्छ। त्यो फिल्म रिलिज भएको दिनदेखि राति निद्रा न दिउँसो भोकजस्तै भएको छ। फोन उठाउँदैको हैरानी छ। 

नरेन्द्रबहादुर श्रेष्ठ

फोन गरेर जिस्किने, अनमोलको पीए हो कि भनेर सोध्ने र कुरा गर्न दिनूस् भनेर फोन आइरहेका छन्। त्यसरी फोन गर्नेहरुको नम्बर उनले सुरक्षित राखेका छन्।

‘कति फोन त मैले ब्लकमा राखिसकेँ,’ श्रेष्ठ सुनाउँछन्, ‘तर त्यसरी पनि साध्य नलाग्ने रहेछ। नयाँनयाँ नम्बरबाट प्रत्येक क्षण फोन आइरहन्छ। स्विच अफ नै गरेर बसौँ भने जरुरी काम पर्दा समस्या हुन्छ। बन्दै गर्ने हो भने पनि कति दिन गर्ने?’

अति भएपछि श्रेष्ठले चलचित्रको निर्माण टोलीसँग फोनमा गुनासो गरे। निर्माता रोहित अधिकारी र निर्देशक सुयोग गुरुङले हलुकारुपमा लिएको गुनासो श्रेष्ठको छ।

‘म पनि कलालाई माया गर्ने मान्छे हुँ,’ श्रेष्ठ भन्छन्, ‘तर, मेरो जानकारी र अनुमतिबिना नम्बर त्यसरी प्रयोग गर्नु गैरव्यावसायिक काम हो। अरुलाई हैरानी पुग्न सक्नेतर्फ पहिला नै ध्यान दिनुपर्थ्यो। अहिले गुनासो गरिसकेपछि पनि त्यो नम्बर अनमोलको होइन भनेर सार्वजनिकरुपमा सूचना जारी गर्नुपर्थ्यो। अहिलेसम्म केही गरेको देखिँदैन।’

श्रेष्ठका अनुसार, निर्देशक सुयोगले गुनासोलाई गम्भीरतापूर्वक लिनुको साटो उल्टै फिल्मको प्रचारप्रसारमा व्यस्त भएको जवाफ फर्काएका थिए।

निर्माण पक्षले वास्ता नगरेपछि श्रेष्ठले चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीलाई पनि फोनबाट उजुरी गरे। 

सुरुमा त भुवनले आफू उक्त चलचित्रसँग सम्बन्धित नभएको र विशुद्ध छोराको व्यावसायिक काम भएको भन्दै पन्छिन खोजे।

त्यसपछि श्रेष्ठले भने, ‘तपाईं नियामक निकायको प्रमुख भएकाले मैले चलचित्रका कारण आफूलाई परेको मर्काबारे कम्प्लेन (उजुरी) गरेको हुँ।’

त्यसपछि भने भुवनले सम्बन्धित ठाउँमा खबर गरिदिने बताए। तर, अहिले भुवनले पनि फोन उठाउन छाडेका छन्।

अहिले श्रेष्ठ चलचित्र निर्माण पक्षलाई कसरी जिम्मेवार बनाउने भनेर कानुनी परामर्शमा छन्। 

‘मेरो उमेर, स्वास्थ्य, कार्यव्यस्तता, गोपनीयता कुनै पनि कुराको ख्याल नगरी मेरो नम्बर दुरुपयोग गरिएको छ,’ श्रेष्ठ भन्छन्, ‘व्यापारका नाममा कसैको जीवनमाथि खेलवाड गर्न पाइन्छ?’

७७ वर्षीय श्रेष्ठ काठेकलाका लागि पनि प्रसिद्ध छन्। रुखका जरा र हाँगाबिँगा बटुलेर कलाको रुप दिने उनले धेरैचोटि कलाको प्रदर्शनी गरिसकेका छन्। 

साहित्यिक पत्रकार संघका पूर्वअध्यक्ष श्रेष्ठले नेपाली भाषाको पुरानो पत्रिका शारदा मासिकको पुनः प्रकाशनको पहलकदमी लिएर प्रधान सम्पादकको भूमिका समेत निभाइसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .