कला


डाक्टर बन्न चाहन्थिन् टिकटकर सना, प्रेम प्रस्ताव अस्वीकार गर्दा भयो हत्या

डाक्टर बन्न चाहन्थिन् टिकटकर सना, प्रेम प्रस्ताव अस्वीकार गर्दा भयो हत्या

पाकिस्तानी टिकटकर सना युसुफ


नेपालखबर
जेठ २३, २०८२ शुक्रबार २१:३५, काठमाडौँ

‘सनालाई चिकित्सा क्षेत्र मन पर्थ्यो, उनी डाक्टर बन्न चाहन्थिन्। म उनलाई यसबाट निरुत्साहन गरिरहेको थिएँ र सीएसएसका लागि एकेडेमीमा भर्ना हुन भनिरहेको थिएँ तर उनलाई चिकित्सामा रुचि थियो।’

यी शब्द १७ वर्षीया पाकिस्तानी टिकटकर सना युसुफका बुबा सैयद युसुफ हसनका हुन्।

सना युसुफको हालै हत्या गरिएको थियो। त्यतिबेला चित्रलमा रहेको उनको गाउँको घरमा शोक व्यक्त गर्न मानिसहरूको ठूलो भिड थियो।

सीएसएस (केन्द्रीय सुपिरियर सेवा) पाकिस्तानको निजामती सेवालाई दिइएको नाम हो।

प्रहरीले सना युसुफको हत्या आरोपमा फैसलाबादका २२ वर्षीय युवकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार, युवकले हत्या स्वीकार गरेका छन्। सनाको मोबाइल फोन र हत्यामा प्रयोग गरिएका हतियार पनि उनीबाट बरामद गरिएको छ।

टिकटकर सना युसुफलाई गत सोमबार साँझ पाकिस्तानको राजधानी इस्लामाबादस्थित घरमा परिवारसँग बसिरहेका बेला गोली हानेर मारिएको थियो।

तर सनाका बुबा सैयद युसुफ हसनले आफ्नी छोरीको हत्या गरेको आरोपमा पक्राउ परेका युवकको तस्बिर अहिलेसम्म देखेका छैनन्।

उनी भन्छन्, ‘मलाई थाहा छैन ऊ कस्तो छ? अहिलेसम्म मैले इन्टरनेटमा उपलब्ध तस्बिर पनि देखेको छैन। यहाँ गाउँमा इन्टरनेट छैन र फोन सिग्नल पनि मुस्किलले उपलब्ध छन्।’

सना उनकी एक्ली छोरी थिइन्। उनी धेरै साहसी थिइन्। 

पाकिस्तानी टिकटकर सना युसुफ

बुधबार पाकिस्तानको राजधानी इस्लामाबादको स्थानीय अदालतले १७ वर्षीया टिकटकर सना युसुफ हत्याका अभियुक्तलाई १४ दिनको रिमान्डमा अदियाला जेल पठाउन आदेश दिएको छ।

यसो भन्छ प्रहरी

प्रारम्भिक अनुसन्धानअनुसार, सना युसुफले आफ्नो प्रेम प्रस्ताव बारम्बार अस्वीकार गरेपछि युवकले उनको हत्या गरेको देखिएको छ। 

प्रहरीले बताएअनुसार जुन २ मा उनी सना युसुफको घर गए र सात-आठ घण्टा पर्खिए। तर पनि सनाले उनलाई भेट्न अस्वीकार गरिन्। त्यसपछि उनमा हत्याको विचार आयो। 

प्रहरीका अनुसार जुन २ तारिख साँझ ५ बजे ती युवक सनाको घरमा प्रवेश गरे र उनलाई दुई पटक गोली हाने।

सनाका बुबा भन्छन्, ‘मैले उनीहरूलाई अस्पताल ल्याउन भनेको थिएँ, म यहीँ पर्खनेछु। तर हामी त्यहाँ पुग्दा डाक्टरले सनाको मृत्यु भएको बताए।’

घटनाबारे के भन्छन् सना युसुफका बुबा?

युसुफ हसन त्यो केटा कसरी घरमा पस्यो भन्ने कुरा थाहा नभएको बताउँछन्। 

उनले भने, ’सायद उसले रेकी गर्‍यो, मलाई थाहा छैन। मेरी कान्छी बहिनी घरभित्र थिइन् र यो केटा सिधै कोठामा गयो र मेरी बहिनीले बेलुन फुटेजस्तो आवाज सुनिन्। उनी मेरी छोरीको कोठामा हेर्न गइन्।’

‘त्यतिबेला यो केटा सनाको कोठाबाट बाहिर निस्कियो र मेरी बहिनीलाई पेस्तोल तेर्स्यायो तर त्यो चलेन। उसले गोली चलाउने प्रयास गर्‍यो र पछि भागेर तल गयो।’

यसपछि उनकी बहिनीले मानिसहरूलाई बोलाइन्, सडकमा गएर डाका आएको भनी हल्ला गरिन्।

त्यतिन्जेलसम्म पनि छोरी मारिएको कुरा आफूलाई थाहा नभएको युसुफ हसन बताउँछन्।

युसुफ हसन भन्छन्, ‘मेरी छोरी धेरै बहादुर थिइन्। उनले धम्कीलाई हल्का रूपमा लिएकी हुनुपर्छ, त्यसैले उनले ती कुरा हामीसँग नगरेको हुनुपर्छ।’

उनका अनुसार सना सामाजिक सञ्जालमा आएको धेरै समय भएको छैन। एक वर्ष र केही महिना मात्र भएको थियो।

सैयद युसुफ हसनका अनुसार उनकी छोरी सना डाक्टर बन्न चाहन्थिन्।

उनले भने, ‘उनी चिकित्सा क्षेत्रमा रुचि राख्थिन् र यसमा राम्रो पनि गरिरहेकी थिइन्।’

उनले थपे, ‘म उनलाई यस क्षेत्रमा काम गर्नबाट रोक्दै थिएँ र सीएसएसका लागि एकेडेमीमा भर्ना हुन भनिरहेको थिएँ, तर उनलाई चिकित्सामा रुचि थियो।’

हसनका अनुसार उनका दुई सन्तानमा सना एक्ली छोरी थिइन्। छोरा १५ वर्षका छन्। यो घटना हुँदा उनी गाउँमा थिए। 

सना युसुफ केवल १७ वर्षकी थिइन्। उनी खैबर पख्तुनख्वाको चित्राल जिल्लाकी थिइन् तर उनको परिवार केही समयदेखि इस्लामाबादमा बसिरहेको छ। 

उनले मारिनुअघि सोमबार नै आफ्नो जन्मदिनको भिडिओ इन्स्टाग्राममा राखेकी थिइन्।

उनका धेरैजसो भिडिओमा उनी इस्लामाबादका विभिन्न ठाउँमा आफ्ना साथीहरूसँग घुम्दै र खानाको आनन्द लिइरहेको देखिएकी थिइन्।

सना युसुफकी एक साथीका अनुसार उनले हत्या हुनुभन्दा केही घण्टाअघि मात्र आफ्नो जन्मदिन मनाएकी थिइन्। 

उनले भनिन्, ‘उनले आफ्ना केही धेरै नजिकका साथीहरूलाई निम्तो दिएकी थिइन् र त्यो सूचीमा म पनि थिएँ।तर कारणवश गर्दा म जान सकिनँ। जसले मलाई जीवनभर पछुतो लाग्ने भएको छ।’ बीबीसी हिन्दी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad