प्रेमको रङ कस्तो हुन्छ? मञ्चबाट एक कविले प्रश्न सोध्छन्। दर्शकदीर्घाबाट जवाफ आउँछ: रातो, सेतो आदि।
दर्शकहरूको जवाफझैँ प्रेमको रङ ठ्याक्कै एउटै त कहाँ हुन्छ र? कहिले त्यही प्रेम खुसीको कारण बन्छ त कहिले दु:खको। समय न हो, सधैँ एकनास कहाँ चल्छ? जसले जस्तो अनुभूत गरे, सायद प्रेमको परिभाषा पनि सोहीअनुसार हुन्छ।
तर, एउटा कुराचाहिँ मान्नुपर्छ। प्रेम सम्बन्ध जोड्न जति सजिलो हुन्छ, निर्वाह गर्न उत्तिकै कठिन। नाटक ‘कथा–एक’ ले एक जोडीको वैवाहिक सम्बन्धमा आउने उतारचढावको यात्रा गराउँछ।
रिमा (वेदना राई) र आकिश (प्रेम सिलवाल विश्वकर्मा) को बिहे भएकै पाँच वर्ष भइसक्यो। तर, प्रेम बिहे गरेका उनीहरूको सम्बन्धमा पहिलेजस्तो मिठास छैन।
रिमा श्रीमानबाट माया र केयर खोज्छिन्। तर, आकिश भने जहिल्यै काममै व्यस्त। जसकारण रिमाले खोजेजस्तो समय दिन आकिशले पाउँदैनन्। त्यसपछि सुरु हुन्छ रिमाको गुनासो। जुन गुनासो आकिशलाई गुनासोभन्दा किचकिच ज्यादा लाग्छ। अनि सुरु हुन्छ मतभेद।
एउटै छानामुनि बसे पनि उनीहरूको मन नजिक छैन। एकअर्कालाई नबुझ्दा उनीहरूको प्रेमको धागो खुस्किँदैछ। धागो चुडिएपछि मन अरुसँग बहकिँदैछ। एक्लोपनाको रिक्तता अरु कसैले भरिदिँदैछ। किनकि रिमा र आकेश दुवैले बाहिर मनको कुरा सुनिदिने र बुझिदिने मान्छे भेटाएका छन्। यस्तो अवस्थामा दुवैको वैवाहिक सम्बन्ध के होला? त्यो थाहा पाउन भने थापागाउँस्थित मण्डला थिएटर नै पुग्नुपर्छ।
नाटक निर्देशक अनुप न्यौपानेसहित र प्रेम सिलवाल विश्वकर्माले संयुक्त रूपमा लेखेका हुन्। यस नाटकको विषयवस्तु सूक्ष्म र सरल छ। तर, सूक्ष्म ढङ्गले सम्बन्धको विभिन्न आयामबारे बुझाउन खोजिएको छ। जसमा दर्शकहरूले कहीँ न कहीँ आफूलाई भेटाउँछन्। प्रेमभावदेखि पीडा र हास्यरसको सम्मिश्रण हेरेर दर्शकलाई मजा आउँछ।

सूक्ष्म कथालाई पनि रोचक ढङ्गले प्रस्तुत गर्न सक्नु यस नाटकको सशक्त पक्ष हो। निर्देशक स्वयं पनि कवि भएकाले काव्यात्मक शैली बढी प्रयोग गरेको देखिन्छ। कवि तथा निर्देशक अनुप न्यौपानले पनि डेब्यु नाटकबाटै सम्भावना देखाएका छन्। मिलन कार्कीको सहनिर्देशन रहेको यो नाटक वैशाख २८ गतेसम्म चल्नेछ।
पछिल्लो समय विभिन्न कारण वैवाहिक सम्बन्ध टुंगिरहेका छन्। त्यस्तै, एकअर्कालाई बुझ्न नसक्दा बिहेइतर सम्बन्ध पनि झाँगिइरहेको छ। सम्बन्धविच्छेद गर्नु मात्रै समस्याको समाधान नभएको नाटकको दलिल छ।
समय र परिस्थितिले सम्बन्धमा दरार आए पनि एकअर्कालाई बुझेर नयाँ शिराबाट अघि बढ्नुपर्छ भन्ने सन्देश नाटकले दिन्छ। साथै सम्बन्धमा रहेकालाई पनि नाटकले एकपटक आत्मालोचना गर्न बाध्य पार्छ। आफ्नो गल्तीलाई औँल्याएर सम्बन्धलाई एकपटक पुनर्स्थापना गर्ने बाटो रोज्नुपर्ने बताउँछ।
प्राय आख्यान प्रोटागोनिस्ट र एन्टागोनिस्टबीच द्वन्द्व वरिपरि घुम्छ। र, भएजति दोष एन्टागोनिस्टलाई थोपरिन्छ। तर, यस नाटकमा कुनै पनि चरित्रलाई दोष थुपारिएको छ। उनीहरू आ-आफ्नो पक्षबाट सही छन्। रित्तो हुँदा मन बहकिनु स्वाभाविक भएको कुरालाई नाटकले जोड दिन्छ।
वैवाहिक सम्बन्ध मात्रै नभई युवापुस्ताको प्रेमसम्बन्धलाई पनि नाटकले समेटेको छ। युवापुस्ता जोडीको रूपमा देखिएका मिलन कार्की र सनम श्रेष्ठ आफ्नो पात्रमा फिट देखिन्छन्। अहिलेको प्रेमसम्बन्धबारे युवापुस्ताको सोचाइ उनीहरूमा चित्रित हुन्छ। मिलनको बोल्ने शैलि र क्यारेक्टरले दर्शकलाई हसाउँछ।

मुख्य पात्र वेदना राई र प्रेम सिलवाल विश्वकर्माको अभिनय पनि उम्दा छ। दुवैजना पात्रअनुसारको मुड र भावनालाई मञ्चमा उतार्न सफल छन्। कविको भूमिकामा देखिएका संयोग गुरागाईंको काम पनि गजबको छ। उनको कविता वाचनले नाटकमा सुगन्ध थप्ने काम गरेको छ। पात्रको मुडअनुसारका कविताले कथालाई डोर्याउने काम गरेको छ। क्रिस्टिना बस्नेत र अजय कार्कीको पात्र पनि नाटकमा सुहाउँदिला छन्।
मञ्चमा कोठादेखि रेस्टुरेन्ट र कफीसफको सेटअप तयार पारिएको छ। कथाअनुसारको मञ्चको सेटअपले नाटकमा थप आकर्षण पैदा गरेको छ। अझ पृष्ठभूमिबाट बज्ने संगीतले नाटकलाई अझै बलियो बनाएको छ। सागर खाती कामी र पुरण दियालीको संगीत निकै मिठासपूर्ण सुनिन्छ। गीतसहित कविता र पात्रहरूको नृत्यले रोमान्टिक दुनियाँमा पुर्याउँछ।
राम्रो हुँदाहुँदै पनि अन्त्य भने फितलो लाग्छ। लामो समयदेखि रिमा र आकिशको सम्बन्ध बिग्रिएको छ। तर, अन्त्यमा जुन किसिमले सहजै उनीहरूको पुनर्मिलन हुन्छ, त्यो विश्वसनीय लाग्दैन। आखिर दुवैले एकअर्कालाई यति सहजै कसरी स्वीकारे? भन्ने प्रश्न दर्शकको मनमा पैदा हुनसक्छ। त्यस्तै, बढी फिल्मी शैली प्रयोग गर्दा बेला बेला कथा वास्तविकताभन्दा नाटकीय ज्यादा लाग्न सक्छ।
Shares

प्रतिक्रिया