कला


चलचित्र स्टारडमले होइन, कथावस्तुले नै चल्छ: गौरी मल्ल

चलचित्र स्टारडमले होइन, कथावस्तुले नै चल्छ: गौरी मल्ल

नेपालखबर
जेठ २४, २०८३ आइतबार २०:२३, काठमाडौँ

वरिष्ठ अभिनेत्री गौरी मल्लले नेपाली चलचित्रको सफलता कुनै कलाकारको नाम वा स्टारडमले मात्र नभई कथावस्तु र कलाकारिताले निर्धारण गर्ने बताइन्। चौथो काठमाडौं कलिङ साहित्य महोत्सवअन्तर्गत आयोजित ‘सिनेमा : हिजो, आज र भोलि’ विषयक छलफलमा बोल्दै उनले नेपाली चलचित्र उद्योगको विगत, वर्तमान र भविष्यबारे आफ्नो अनुभव साझा गरिन् ।

‘कुनै कलाकारको अनुहार वा नामका आधारमा मात्रै सिनेमा चलेको छैन। हिजो पनि विषयवस्तु नै बोल्थ्यो, आज पनि बोल्छ र भोलि पनि बोल्ने त्यही हो’ उनले भनिन् ।

चलचित्र क्षेत्रमा चार दशकभन्दा बढी समय बिताएकी मल्लले आफ्नो सुरुवाती यात्रा सम्झँदै पहिले पनि कलाकारसँग औपचारिक सम्झौता हुने गरेको तर बीमाको व्यवस्था नभएको बताइन्। अहिले भने बीमा अनिवार्य भइसकेको उनको भनाइ थियो।

उनले आफ्नो समयलाई नेपाली चलचित्रको ‘स्वर्ण युग’ को संज्ञा दिँदै त्यसबेला दर्शक र कलाकारबीच गहिरो सम्बन्ध रहेको उल्लेख गरिन्। ‘हामीलाई दर्शकले घरमा बोलाएर दही, मोही र गुन्द्रुकसम्म उपहार दिनुहुन्थ्यो। अहिले त्यो आत्मीयता कम हुँदै गएको छ,’ उनले भनिन्।

कार्यक्रममा अभिनेता बुद्धि तामाङले नेपाली चलचित्रमा चरित्र कलाकारहरूको भूमिका र पहिचान विस्तार हुँदै गएको बताए। पहिले चलचित्र केही सीमित पात्र वरिपरि केन्द्रित हुने गरे पनि अहिले कथाले विभिन्न पात्रलाई समान अवसर दिन थालेको उनको धारणा थियो।
‘आजको सिनेमाले सहायक कलाकारलाई पनि दर्शकमाझ स्थापित हुने अवसर दिएको छ’ उनले भने।

आफूलाई एउटै प्रकारका भूमिकामा सीमित गरिने गरेको अनुभव सुनाउँदै उनले चलचित्र क्षेत्रमा ‘सेफ जोन’ खोज्ने प्रवृत्तिले केही समयसम्म एउटै ढाँचाका पात्र र कथाहरू दोहोरिने गरेको बताए।

अभिनेत्री रेणुनाथ योगी ले नेपाली चलचित्रमा महिलाका पात्रको प्रस्तुतीकरणमा सुधार भए पनि महिला मनोविज्ञानलाई अझ गहिराइमा बुझेर कथा लेखिनुपर्ने आवश्यकता औँल्याइन्। ‘महिला पात्रहरू अहिले पहिलेभन्दा बढी केन्द्रमा आएका छन्। तर महिला मनोविज्ञानको वास्तविक गहिराइ अझै पर्याप्त रूपमा कथामा समेटिएको देख्दिनँ,’ उनले भनिन् ।

छलफलको सहजीकरण पत्रकार लक्ष्मी बलायरले गरेकी थिइन्। कार्यक्रममा वक्ताहरूले नेपाली चलचित्र उद्योगमा प्रविधिको विकास, कलाकारहरूको चुनौती, दर्शकको बदलिँदो रुचि तथा चलचित्रको भविष्यका सम्भावनाबारे पनि विचार राखेका थिए।

कार्यक्रममा सहभागीहरूले नेपाली चलचित्रको विकासक्रमलाई थप सशक्त बनाउन गुणस्तरीय कथा, उपयुक्त कलाकार छनोट र व्यावसायिक संरचनाको विकास आवश्यक रहेको धारणा व्यक्त गरे ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad