कला


रोबोट बनाउन स्नातक गरे, अहिले चलचित्रका पात्रमा प्राण भर्छन्

इन्जिनियरिङ छाडेर फिल्ममा लाग्दा महेश त्रिपाठीले बेहोरेका कष्ट

लक्ष्मी बलायर
बैशाख ७ , काठमाडौँ

स्कुलमा छँदा होस् वा कलेजमा, महेश त्रिपाठी यन्त्रसँग रमाउँथे। रोबोट बनाउने उनको चाहना थियो। त्यही भएर इन्जिनियरिङमा स्नातक गरे। तर, अहिले उनी कुनै रोबोट या यन्त्र होइन, चरित्र निर्माणको दुनियाँमा नाम कमाउन सफल भएका छन्।

उनी कहिले हल्कारा बनेर गाउँगाउँ चिठ्ठी पुर्‍याउँछन्, त कहिले भ्रष्ट इन्सपेक्टर बनिदिन्छन्। कहिले कर्णालीको विपन्न युवकमार्फत पीडा पोख्छन् त कहिले समलिङ्गीको भावना पर्दामा उतार्छन्।

तर, उनी जुन पात्र जिउँछन्, तिनमा प्राण भरिदिन्छन्। त्यसैले त ‘लाज शरणम्’ को सन्देश होस् वा ‘रेशम फिलिली’ को पुष्पा, दुवैमा अहिले महेशको अभिनयको तारिफ भइरहेको छ।

यो चर्चाले महेशको जीवनमा खुसी थपेको मात्रै छैन, व्यस्तता पनि बढेको छ। त्यसैले होला, धेरैले महेशको दिन आएको समेत भनिरहेका छन्। यसलाई महेश पनि केही हदसम्म स्वीकार्छन्।

‘धेरैले महेशको टाइम आयो भन्नुहुन्छ। हुन त दिन त जन्मेदेखि नै आएको हो। जुन चिज गर्न चाहेको, त्यो चिज बनेको छ। अब यसलाई सही सदुपयोग गर्नुपर्छ जस्तो लाग्छ। प्रेसर पनि थपिएको छ,’ उनले भने, ‘यसै चिजको लागि त १७/१८ वर्षदेखि काम गरिरहेको हो। विदेश नगएर आफ्नै देशमा सिनेमामा काम गर्ने वातावरण बनोस् भनेर काम गरिरहेको हो। जे होस् अब नियमित काम गर्न सक्छु भन्ने वातावरण बनेको जस्तो लागेको छ।’  

चर्चामा हुँदा महेशलाई खुसीसहित जिम्मेवारी पनि महसुस भएको छ।

भन्छन्, ‘कामलाई दर्शकहरुले स्वीकार गर्दिनुहुन्छ भनेर कलाकारलाई आश हुन्छ। मेरो लागि खुसीको कुरा हो। अहिले एकदम ठूलो अडियन्सम्म पुगेको छु, थोरै गह्रुँगो फिल भएको छ। किनकि दर्शकलाई पनि अर्को कुराको अपेक्षा हुन्छ। त्यसले अझ जिम्मेवार बनाएको छ।’

अभिनयको हुटहुटी
पोखरामा जन्मेका महेशको घरमा भर्खरै टेलिभिजन आएको थियो। जब उनी टेलिभिजन हेर्थे, त्यो दुनियाँ उनलाई अजीब लाग्थ्यो। अझ शनिबार आउने सिनेमा हेरेर लोभिन्थे। यस्तै आफूले पनि गर्न पाए हुन्थ्यो भन्दै कल्पिन्थे। कतिपटक त आफूलाई हिरो सोच्दै हाम फाल्थे। सिनेमाको त्यो रंगीन दुनियाको महेशको दिमागमा गहिरो छाप थियो। स्कुलमै केही नाटकहरु समेत खेलेका थिए। 

तर, पछि उनी साइन्सतर्फ ढल्किए। परिवार र शिक्षकको चाहनाअनुसार। र, इलेक्ट्रोनिक इन्जिनियरिङमा स्नातक गरे।

उमेर बढ्दै थियो। घरको जेठो छोरा। पारिवारिक जिम्मेवारी उनकै काँधमा थियो। तर, त्यस क्षेत्रमा भित्रैबाट रमाउन सकिरहेका थिएनन्। बरु उनलाई अभिनयको किरोले टोकिरहेको थियो।

एकातिर काम गर्न तम्तयार बाटो। अर्कोतिर बच्चैदेखि देखेको हिरो बन्ने सपना। कुन बाटो रोज्ने? महेश निकै द्विविधामा परे। तर, धेरै सोचविचारपछि अन्तत: उनले अभिनयको सागरमा डुबुल्की मार्ने निधो गरे।

तर, एक पेसाबाट अर्कोमा यूटर्न गर्न सहज थिएन। किनकि इन्जिनियरिङ पढाइमा लाखौँ खर्च भइसकेको थियो। छोराले यसै पेसामा राम्रो गरिदेओस् भन्ने बुवाआमाको चाह थियो।

परिवारलाई कसरी भन्ने? सिनेमालाई हल्का रुपमा लिने पो हुन् कि भन्ने डर थियो उनमा। जसकारण उनी बुवालाई सिनेमाको महत्त्व बुझाउन चाहन्थे। त्यसको लागि उनले केही जुक्ति लगाए।

महेशका बुवा कलाक्षेत्रमा रुचि राख्छन्। सुरुमा बुवालाई दैनिकजसो राम्रा फिल्म देखाउन थाले। हेरेका सिनेमाका बारेमा बुवाछोराबीच व्यापक छलफल चल्थ्यो। सात/आठ दिनपछि हिम्मत जुटाएर सिनेमा पढ्छु भन्ने कुरा राखे।

छोराको कुरा सुनेपछि उत्साहित हुँदै कुरा गरिरहेका बुवा एकाएक शान्त भए। र, चुरोट तान्दै केही छिन चुपचाप लागे।

एकछिनपछि भने, ‘तिमी आफै बुझ्ने छौ, के गर्दा राम्रो हुन्छ, के गर्दा हुँदैन भनेर। अहिले मैले नगर भनुँला, पछि बुवाको कारण अभिनयमा जान पाइनँ भन्लाऊ। गर्ने आफूले नै हो, जुनसुकै काममा पनि शत प्रतिशत दिनुपर्छ।’

बुवाको स्वीकृति पाएपछि महेशलाई त्यतिबेला निकै कठिन भएको थियो। त्यो पल सम्झँदा अहिले पनि महेशलाई घरपरिवारको जिम्मेवारी नलिएको महसुस हुन्छ।   

‘घरको जिम्मेवारी लिनुपर्नेमा आफ्नो सपनाको पछि लाग्दा निकै गाह्रो भयो। केही गर्नेबेलामा मैले सिनेमा पढ्छु भन्ने निर्णय लिएँ। त्यो पल निकै कष्टकर नै थियो। तर, बुवाआमाले सहज  हिसाबले लिनुभयो। सकी नसकी सपोर्ट गर्नुभयो। जसकारण मैले निरन्तर काम गर्न पाएँ। सायद अब सक्छु कि जस्तो लाग्छ,’ उनले भने।

अनि काठमाडौँ पसे
२०६५/०६६ तिर उनी अभिनय करिअर सुरु गर्न भनेर पोखराबाट काठमाडौँ आए। सुरुमै फिल्ममा काम पाउन मुस्किल थियो। त्यसैले उनी सुरुमा टेलिशृंखलातिर लागे। कलाकारको जुत्ता सफा गर्नेदेखि पानी दिनेसम्मको काम गरे। त्यसपछि केही पासिङ सिनहरुमा काम गर्न पाए। केही सिरियलहरुमा सहायक निर्देशक भएर काम गरे।

त्यसपछि बल्ल उनलाई सिनेमा पढेर अभिनयमा आउनुपर्छ लाग्यो। अनि अस्कर कलेजमा भर्ना भएर सिनेमा पढ्न थाले। त्यसैताका ‘नोभेम्बर रेन’ को अफर आयो। तर, डेब्यु फिल्मबाट उनी सन्तुष्ट हुन सकेनन्।

‘अभिनय पढेर आएको थिएँ। कुनै पात्र निर्वाह गर्दा धेरै चिज होस् भन्ने सोच्थेँ। तर, नोभेम्बर रेन गर्दा खासै मेहनत नगरेको जस्तो लाग्यो। फिल्म हिट भए पनि आफ्नो कामबाट सन्तुष्ट भइनँ,’ उनले भने।

डेब्यु फिल्मको सुटिङ सकिएसँगै महेश डेरा छाडेर निस्किए। उनी कहिले कलेजतिर बसे त कहिले पशुपतिमा रात गुजारे। कहिले भोकभोकै हिँडे त कहिले चुँडिएको चप्पल लगाएर काठमाडौँका सडक चहारे। उनको अवस्थाबारे थाहा पाएपछि गुरु विनोद पौडेलले कलेज पढाउन अफर गरे। त्यतिबेला महेशले अभिनय कोर्स पनि सकिसकेका थिए। कलेज पढाउँदा गुजारा गर्न केही सहज भयो।

हुन त महेशलाई ‘नोभेम्बर रेन’ खेलेपछि अफरहरु नआएका हैनन्। तर, चाहेकोजस्तो चरित्र नपाउँदा फिल्म खेल्ने आटँ गर्न सकेनन्। सर्ट फिल्म र नाटकहरु गरे पनि उनले ६ वर्ष फिल्ममा काम गरेनन्।

करिअरकै टर्निङ प्वइन्ट बन्यो ‘हल्कारा’
फिल्मप्रतिको बढ्दो वितृष्णाबीच सन् २०१८ मा एकदिन निर्माता रामकृष्ण पोखरेलले फिल्मको स्क्रिप्ट पठाए। त्यतिबेला महेशले प्रतिक्रिया दिन स्क्रिप्ट पठाए होलान् भन्ने सोचेका थिए।

स्क्रिप्ट पढ्दै जाँदा महेश लोभिँदै गए। आफूले चाहेजस्तो कथा र चरित्र भेट्दा उनी उत्साहित भए। र, तुरुन्तै रामकृष्णलाई फोन गरेर आफूले पनि अडिसन दिने बताए। र, अडिसन दिएर छनोट पनि भए। खासमा ‘हल्कारा’ को मुख्य राम पात्रको लागि निर्माण टिमले पनि महेशलाई नै सोचेका रहेछन्।

मुख्य भूमिका त्यसमाथि आफूले चाहेजस्तो पात्र, उनी मक्ख परे।

‘हल्काराको स्क्रिप्ट आउँदा निकै उत्साहित भएको थिएँ। पहिलोपल्ट लिड क्यारेक्टर। कथावस्तु पनि निकै मन परेपछि यो क्यारेक्टर गर्नुपर्छ भन्ने लोभ लाग्यो। यत्रो वर्षपछि कमब्याक गर्ने छु। सुटिङ गर्न जाँदा पछुतो नहोस् भनेर अडिसन नै दिएँ,’ उनले सुनाए।

र, यो फिल्म महेशको अभिनय करिअरको टर्निङ प्वइन्ट नै बनिदियो। किनकि यसै फिल्मबाट उनी अन्तर्राष्ट्रिय स्तरसम्म चिनिए। महेशले वर्ल्ड फेस्ट ह्युस्टन इन्टरनेसनल फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनेताको अवार्ड जिते।

अवार्ड जित्नुभन्दा मनोनयनमा पर्दा आश्चर्यमा परेको सुनाउँछन्।

‘अवार्ड जित्नुभन्दा नोमिनेसनमा पर्दा सप्राइज भएको थिएँ। किनकि छनोट हुन्छु भनेर सोचेको पनि थिइनँ। नोमिनेसनमा परेपछि जित्न सकिन्छ भन्ने आशा हुन्छ। जितिसकेपछि म ठीक ठाउँमा रहेछु भन्ने आत्मविश्वास मिल्यो। हल्कारा अभिनय र करिअरका हिसाबले टर्निङ प्वइन्ट हो। रिलिज भएपछि फिल्मवृत्तमा राम्रो चर्चा भयो,’ उनले भने। 

अवार्ड जित्दा महेशले खुसी हुँदै सुरुमा आमालाई फोन गरेर सुनाए। तर, आमाबाट केही प्रतिक्रिया आएन। खाली सुँक्सुकाउँदै गरेको आवाज आयो। वर्षौँपछि छोराले सफलता पाउँदा उनकी आमा भावुक बनेकी रहिछिन्। त्यो पल अहिले पनि याद आउँछ महेशलाई।

पात्रका लागि स्वास्थ्य नै जोखिममा
महेश क्यारेक्टरको लागि अथाह मेहनत गर्छन्। यतिसम्म कि उनी स्वास्थ्यको समेत पर्वाह गर्दैनन्। पात्रको लागि कहिले २० केजी तौल नै घटाउँछन् त कहिले महिनौँ खैनी खान्छन्। जसको कारण उनले समस्या झेल्नुपरिरहेको हुन्छ।

आखिर स्वास्थ्यलाई जोखिममा राखेर किन काम गर्छन्?

जवाफमा भन्छन्, ‘एउटा जोस हुन्छ। त्यो कामलाई लिएर काम गर्छु भनेर लाग्दा आफूले आफूलाई दिएका कष्ट पनि याद नहुँदोरहेछ। आफ्नै शरीरलाई त्यति धेरै कष्ट नदिएको भए पनि हुन्थ्यो लाग्छ। त्यतिखेर चरित्र बनाउँदा यो गर्नुपर्छ भन्दाभन्दै के के गरियो।’

डोल्पामा ‘लाज शरणम्’ को सुटिङ गर्दा त महेश बेहोस भएका थिए। तौल घटाउनुपर्ने भएकाले २४ घण्टादेखि खाना खाएका थिएनन्। उचाइमा अक्सिजनको मात्रा कम भएर उनी सुटिङ गर्दागर्दै ढले। त्यो दिन बल्ल आफ्नो स्वास्थ्यबारे सोचेको बताउँछन् उनी।

‘हाइ अल्टिच्युडले सुटिङ गर्दागर्दै ढलेँ। सास फेर्न निकै गाह्रो भयो। शरीर चिसो भइसकेको रहेछ। रेस्क्यु गरेर तल झार्दा आज अन्तिम दिनजस्तो लागेको थियो। यति टाढा आएर जान लेखेको रहेछ भन्ने भयो। स्वास्थ्य र शरीरलाई माया गर्नुपर्छ भन्ने त्यतिबेला फिल भएको थियो। पहिले त स्वास्थ्य हो नि। त्यसपछि पो सपना र काम। मैले आफ्नो सपना पूरा गर्न शरीरको ख्याल नगर्ने अवस्थामा पुगेको रहेछु भन्ने लाग्यो,’ महेशले सुनाए।

फेस भ्यालुका कारण ठूलो ब्यानरका फिल्म गुमाए
महेश लामो समयदेखि अभिनयमा सक्रिय छन्। यसबीच धेरै नयाँ अनुहार आए र स्थापित पनि भए। तर, राम्रो अभिनय गर्दागर्दै महेशले भने आफ्नो नामसँगै संघर्ष गर्नुपर्‍यो। फिल्मक्षेत्रमा प्रोत्साहन गर्ने माहोल नहुँदा यस्तो समस्या भोग्नुपरेको उनले सुनाए।

‘कहिलेकाहिँ आउटसाइडर फिल हुन्छ। मिडियाले पनि खोजेन। कुनै कलाकार कास्ट हुँदा धेरै चर्चा हुन्छ। हुन त मार्केटिङको क्षेत्र भएर पनि होला। मलाई चाहिँ राम्रो र नराम्रो काम समालोचनात्मक तरिकाले हेरिनुपर्छ भन्ने लाग्छ। राम्रो गरिरहेको मान्छेलाई प्रोत्साहन नहुँदा हतोत्साहित भइन्छ। त्यसैले साथ चाहिन्छ। सम्भावना भएको मान्छेलाई साथ नदिँदा हराउँछ कि भन्ने डर लाग्छ,’ उनी सुनाउँछन्।

महेशका नजरमा नेपाली फिल्मक्षेत्रमा फेस भ्यालु महत्त्वपूर्ण छ। फेस भ्यालुकै कारण आफूले केही फिल्म गुमाउनुपरेको उनीसँग तितो अनुभव पनि छ। 

भन्छन्, ‘मलाई भनिराखेको काममा अरु कसैलाई कास्ट गरिएका घटना पनि छन्। तर, मैले सहज वातावरण मिलाइदिएको पनि छु। कम चर्चित भएकै कारणले फिल्ममा नराख्दा दु:ख त लाग्छ। मलाई यति अन्डरएस्टिमेट नगरेको भए हुने लाग्छ। कुनैदिन मलाई दर्शकले माया गर्नुहुन्छ र बोलाउनुहुन्छ जस्तो पनि लाग्छ।’

‘लाज शरणम्’ र ‘फेरि रेशम फिलिली’ बाट धेरै दर्शकसम्म पुगेको ठान्छन् उनी।

‘कसैले लामो म्यासेज पठाएर तारिफ गर्नुहुन्छ। कसैले चपली हाइट ३ बाट चिनेको भन्नुहुन्छ। कसैले हल्कारा नोटिस गरेको भनेर म्यासेज गर्नुहुन्छ। जुन ठूलो साथ र माया हो। मलाई चर्चित हुनुभन्दा पनि लोकप्रिय हुन मन छ। दर्शकले प्रिय पात्रको रुपमा स्वीकार गरुन् भन्ने छ। इमान्दार भएर काम गर्न सकूँ र मभित्र घमण्ड नआओस् भन्ने लाग्छ,’ उनी भन्छन्।

बैशाख ७, २०८२ आइतबार १०:१७

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad