ad ad

कला


‘समय त्रासदी’ भोग्दै र सोच्दै साहित्यकार!

‘समय त्रासदी’ भोग्दै र सोच्दै साहित्यकार!

वाशुदेव मिश्र
चैत १७, २०७६ सोमबार १०:१०,

मान्छेले मान्छेको मासु खाने समयको कथा लेखेका सरुभक्तले आफ्नो ६५औँ वर्षवयमा आफैले त्रासदी भोगे।

कोरोना भाइरसका कारण सिर्जित विश्व समस्याबाट उनी कसरी निरपेक्ष बन्न सक्थे र?

विज्ञान कथामा मात्रै नभएर भर्खरै सार्वजनिक भएको प्रतिगन्धमा समेत अन्तर्राष्ट्रिय आतंकवादको खतरा पस्केका उपन्यासकार सरुभक्त भन्छन्, ‘लेखकको नाताले मात्रै नभएर एक नागरिकको रुपमा पनि देशमा के होला? भन्ने चिन्ताले सताएको छ।’

‘एउटा अदृष्य भाइरसले संसार आक्रान्त पार्दाेरहेछ भने यसलाई मानवीय रुपले कसरी सोच्ने हो’ भनी केहि दिनयता घोत्लिँदैछन् उनी।

लकडाउन भएकै दिन ‘मानवतासँग एकदिन कोरोना हार्छ’ भन्ने मुक्तक लेखेका उनको मनमा अहिलेको त्रासदीलाई कसरी अभिव्यक्त गरौँ भन्ने हुटहुटी जागेको बताए।

वनस्पतिविद् डाक्टर तीर्थबहादुर श्रेष्ठले लकडाउन भएकै बिहान अहिलेको त्रासदीलाई ऋजनामार्फत अभिव्यक्त गर्न सुझाएको प्रसंग फोनमा सुनाउँदै उनले बाहिरको समाजभन्दा लेखक पृथक हुननसक्ने स्वीकारे।

यही छेकोमा, कवि तीर्थ श्रेष्ठको फेसबुक वालमा शनिबार बिहानै ‘लयमा’ शीर्षकको कविता झुल्क्यो।

सबै कुरा लयमा हुँदा
प्रलयको सम्भावना कम हुन्छ

जब लय भत्किन्छ– गीतहरु बेसुरा बन्छन्
कुराहरु अधुरा हुन्छन्

जब भत्किन्छ लय– नजिक हुन्छ प्रलय

पहाडका छातीहरु नाङ्गो हुनु लय भत्किनु हो
मैदानका फाँटहरुमा केही नहुनु लय भत्किनु हो

चराहरुले बास बस्न रुखका हाँगाहरु नभेट्नु लय भत्किनु हो
जंगल मासिनु र जनावरहरु मान्छेसँग भयभीत हुनु लय भत्किनु हो

आमाजस्ता नदीहरुमाथि मान्छेका विकार थुपारिनु लय भत्किनु हो
असह्य आणविक÷पारामाणविक परीक्षण हुनु लय भत्किनु हो

अब म कसरी भनुँ प्रलय टाढा छ?

कवि, संस्कृर्तिकर्मी र सामाजिक अभियन्ताजस्ता अनेकौँ उपमाले पुकारिने तीर्थले कोरोना महाव्याधी र लकडाउनकै छेकोमा सामाजिक सञ्जालमा पोष्ट गरेपछि वाहवाही बटुलिरहेका छन।

तर, उनको यो सिर्जना पुरानै हो। उनकै अनुुसार करिब ६ वर्षअघि लेखिएको।

‘लोमान्थाङ जाँदा, झण्डै मरुभूमिजस्तो दृष्य देखेपछि कविता लेखेको हुँ’, उनले नेपालखवरसँग भने, ‘प्रकृतिबाट पर जानु भनेको जीवनबाट पर जानु हो, ताराहरु किन अडिएका छन भने उनीहरु आफ्नो चक्रमै चलेका छन, लय भत्काउनु भनेको प्रलय भित्र्याउनु हो।’

विदेशबाट आएकाहरुको पहिचान र परीक्षणमा सरकार चुकेको गुनासो पनि उनले सुनाए। कोरोना सन्त्रास र लकडाउनले आम मान्छेलाई जस्तै सिर्जनात्मक मनहरुलाई पनि प्रभाव पारेको उनको अनुभूति छ।

‘बाँचेको परिवेशले असर त गर्छ नि, कवि पनि समाजको अंग हो। अलिकति बेग्लै ढंगले हेर्ने सामथ्र्य भएकाहरु लेखक हुने हो,’ उनले भने,

‘हिजो कोरोना संक्रमण नहुँदाको र भएको अवस्थाको मनोवृत्ति फरक हुन्छ नि१’ युवराज पनि बाँकी हुँदो रहेनछ, सडकको लावारिस पनि बाँकी नहुँदो रहेछ भन्ने सोच पलाउनु भनेको घाटमा जाँदा मनमा जुन वैराग्य आउँछ, त्यस्तै भएको पनि उनले अर्थ्याए।

उनका अनुसार प्रकृतिबाट पर जानु भनेको विजय हो कि हैन भन्नेजस्ता कुरा पनि कोरोना महाव्याधीसँगै भोलिको साहित्यमा प्रतिविम्ब हुनेछ।

समयचेतसँगै कुँद्ने विम्वकवि रमेश श्रेष्ठको दिनचर्या पनि उस्तै छ। शुक्रबार मात्रै उनले आफ्नो फेसबुक वालमा असला माछाको फोटो हाले।

अग्रज कवि तीर्थले तत्कालै त्यसमाथि टिप्पणी गरे, ‘लकडाउनको बेला खान आऊँ? भन्न नमिल्ने।’ रमेशले चाहिँ लकडाउनकै अघिल्लो दिन लेखेका थिए–

अखवारको पाँचौँ लहरमा कुद्दै थिए
मेरा बेलगाम आँखाहरु
देश हराएको विस्मातमा
कविले पो आत्महत्या गरेछ! 

चित्रकलामा समेत पोख्त उनै कविले वर्तमान झल्काउँदै बनाएको पेण्टिङ फेसबुक वालमै सार्वजनिक गरे।
अमूर्त उनको चित्रको मर्म पनि वर्तमानको समय त्रासदी नै थियो।

नथियाकी लेखक सरस्वती प्रतीक्षा पनि यतिबेला घरमै सीमित छन। घरमा लोभलाग्दो पुस्तकालय बनाएकी उनी छोरालाई आफूजस्तै पढन्ते बनाउँदै छन।

छोरा आदिमलाई प्रत्येक दिन एकघण्टा कुनै न कुनै नेपाली किताब पढ्नैपर्ने नियममा बाँधेकी छन रे, उनले।

ट्विटरमा सक्रिय रहने तथा खरो अभिव्यक्तिका लागि चर्चित उनले शुक्रबार साँझ कुनै एक अनलाइनमा लेखिएको कोरोना भाइरस अब केही दिनको पाहुना शीर्षकको समाचार सेयर गर्दै लेखिन्, ‘यस्ता समाचार पढ्दा चाहिँ मानसिक रुपमा राहत महशुस हुँदोरहेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .