मानव अधिकारकर्मीहरूले ओस्कर विजेता वृत्तचित्र ‘नो अदर ल्यान्ड’का चार सहनिर्देशकमध्ये एक प्यालेस्टिनी निर्देशक हमदान बल्लाललाई वेस्ट बैंकमा हिरासतमा लिइएको बताएका छन्।
सेन्टर फर यहुदी ननभायलेन्स समूहका अनुसार सोमबार सुस्या गाउँमा भएको आक्रमणका क्रममा स्थानीय इजरायलीहरूले उनको घर घेरेका थिए।
उनको फिल्मका सहनिर्देशक युवल अब्राहमले बल्लाललाई एम्बुलेन्समा बसेका बेला इजरायली सैनिकहरूले कुटपिट गरी लगेको बताएका छन्।
यद्यपि इजरायलले यो दाबीलाई अस्वीकार गरेको छ।
इजरायल डिफेन्स फोर्सेस (आईडीएफ) ले बल्लालको नाम नलिई तीन प्यालेस्टिनी र एक इजरायलीलाई सुरक्षा बलमाथि ढुंगा हानेको आरोपमा पक्राउ गरिएको बताएको छ।
पाँच जना यहुदी अमेरिकी कार्यकर्ताहरूले बताएअनुसार साँझ ६ बजेतिर करिब एक दर्जन नकाबधारी मानिसले सुस्या गाउँमा हमला गरे।
कार्यकर्ताहरूले घटना रेकर्ड गर्न आफूहरू त्यहाँ गएको तर इजरायली सेटलर्सहरूले कार तोडफोड गर्दै आफूहरूलाई मुक्का हाने र लाठीले हानेको बताएका छन्।
‘नो अदर ल्यान्ड’ वृत्तचित्रका इजरायली निर्देशक युवल अब्राहमले आक्रमणबाट धेरै जना घाइते भएको र सम्पत्तिमा क्षति पुगेको बताएका छन्।
एक कार्यकर्ताले बीबीसीलाई बताएअनुसार इजरायली सेनालाई जानकारी गराएपछि आक्रमणकारीहरू पछि हटेका थिए।
इजरायली सेनाले स्थिति नियन्त्रणमा लिन आईडीएफ सेना र इजरायली प्रहरी घटनास्थलमा पुगेको पुष्टि गरेको छ।
Shares

प्रतिक्रिया