इलामको चुलाचुली थिएटर समूह कहिले विद्यालयमा पुग्छ त कहिले चौरमै नाटक देखाउँछ। कहिले त खेतदेखि जंगलमा समेत पस्छ। धेरैजसो प्राकृतिक स्थलनजिक पुग्ने यो समूह यसपटक भने काठमाडौंस्थित मण्डला थिएटरमा देखियो। यसै समूहको नाटक ‘झोडा’ नेपाल अन्तर्राष्ट्रिय रंगमञ्च महोत्सवमा सोमबार मञ्चन भएको थियो।
निटफेस्टको तेस्रो संस्करणमा १२ देशका १७ नाटक छनोट गरिएको थियो। ‘रैथाने ज्ञानको उज्यालो’ नारा रहेको महोत्सवमा नेपालबाट जम्मा तीन नाटक सूचीमा अटाए। जसमध्येको एक हो: झोडा।
रैथाने शब्दसँग पुस्तान्तरण जोडिएर आउँछ। ‘झोडा’ ले झण्डै पाँच दशकअघि पहाडबाट तराई झरेर बस्ने विपन्नमाथि राज्यले गरेको दमनको कथा भन्छ। विषयवस्तु मिलेकै कारण काठमाडौँबाहिरको यो नाटक छानिएको हो।
गणेश रसिकको उपन्यास ‘आकाशगंगाको ओतमुनि’ उपन्यासमा आधारित यो नाटक चेतन आङथुपोको परिकल्पना र निर्देशनमा बनेको हो। नाटकलाई सुमन लिङ्देनले नाट्य रूपान्तर गरेका हुन्। जुन नाटक इलामसहित एकवर्षअघि काठमाडौँको शिल्पी थिएटरमा समेत मञ्चन भएको थियो।
नाटक मञ्चनपछि स्टेजमा पुगेका चेतन आङथुपो निकै खुसी देखिए। राज्यले शोषण गरेका आदिवासीको कथा नाटकमा उठाएको उनले बताए।

इलामको चुलाचुली गाउँपालिकामा २०६९ मा खोलिएको चुलाचुली थिएटरले प्राय: बस्तीनजिकैको प्राकृतिक थलोमा नाटक गर्छ। यो अभ्यासले राजधानीका रंगकर्मीको समेत ध्यान खिचिरहेको हुन्छ। त्यसैले उनीहरू त्यस शैलीको तारिफ गरिरहेका हुन्छन्। साथै केहीवर्षदेखि यस थिएटरले भूमि, पर्यावरण र कलाको सम्मिश्रणमा चुलाचुली पाठशाला नाट्य महोत्सव समेत गर्दै आएको छ। झोडासहित मुक्कुम्लुङ, बुद्ध र भिखारी लगायतका नाटकहरू निकै चलेका थिए।
चुलाचुलीको आफ्नो थिएटर छैन। तर, लामो समयदेखि यस समूहले थुप्रै नाटकहरू मञ्चन गरिरहेको छ। थिएटरबिनाको यस समूहका चालक हुन्: चेतन आङथुपो। जसले चुलाचुली रंगमञ्च स्थापना गरेका थिए।
अनि सुरू भयो चुलाचुली थिएटर
मान्छेको जीवन उसको बाल्यकालसँग जोडिएको हुन्छ। बाल्यकाल कसरी सुरू हुन्छ र कसरी बित्छ, त्यसले आगामी जीवनमा असर पारिरहेको हुन्छ।
परिवारबाट विचलित हुँदा होस् वा अभिभावकबाट टाढा, एक्लो महसुस हुन्छ। एक्लो हुँदा केलाई साथी मान्ने त? कसैले एकान्तलाई नै साथी मान्छन्। कोही घरेलु जनावरसँग रमाउँछन्। कसैले रेडियो र गीत सुनेर एक्लोपन मेटाउँछन्।
इलामका चेतन आङ्थुपोले भने साहित्यलाई नजिकको साथी माने। कल्पनाशीलताको दुनियाँमा रमाए। र, १७ वर्षको उमेरमा नाटकसँग मितेरी गाँसे। उनले पहिलोपल्ट अभिनय गरेको नाटक थियो: अमरज्योति।

तीनमहिना अभिनय कक्षा लिएर उनले केही नाटकहरू खेले। तर, सुरूवाती दिनमा नाटक गर्न उनलाई निकै गाह्रो हुन्थ्यो। बिहान रिहर्सल त्यसपछि स्कुल। अझ लामो दृश्यका संवाद बोल्न सास्ती। जसकारण केही नाटक खेलिसकेपछि उनले विश्राम लिए। तर, नाटकप्रतिको हुटहुटी भने उनमा बाँकी नै थियो।
उनका अनुसार त्यो बेला अभिनयमा अनुहार र वर्णको कुरा हुन्थ्यो। जुन कुरा उनलाई पटक्कै मन पर्दैनथ्यो। त्यसपछि चेतनले अभिनयभन्दा पनि कसरी नेतृत्व गर्ने भनेर सोचे। र, पुरानो शैलीको थिएटर बदल्ने उपायमा लागे। त्यसअघि इलाममा प्राय: चाडपर्वमा मात्रै नाटक देखाइन्थ्यो।
‘हुन त गाउँमा परम्परागत हिसाबले चाडपर्वहरूमा नाटक गरिन्थ्यो। म त्यसलाई निरन्तरता दिन चाहन्थेँ। जसले अभिनयभन्दा पनि कला मन पराउने र भावी पुस्ताको लागि कसरी गाउँमै माहोल सिर्जना गर्न सकिन्छ भन्नेतर्फ लागेँ,’ उनले भने।

२०६५ सालताका उनले गाउँकै ३०/४० जनालाइ टिममा समावेश गरे। जसमा १० वर्षदेखि ४५ सम्मका उमेरसम्मका थिए। बुद्धजयन्तीको साकेला मेलामा नाटक ‘परिवर्तन’ देखाए। त्यलाई दर्शकहरूले निकै मन पराए।
त्यसपछि चेतन हौसला बढ्यो। उनले गाउँको कथामा आधारित रहेर समाजका संस्कृतिदेखि विभेदका मुद्धाहरूलाई टपक्क टिपेर नाटकका विषयवस्तुमा ढाल्न थाले। जसलाई सडकदेखि विद्यालय र खाली चौरमा देखाउन थाले।
तर, केहीवर्षपछि उनलाई आफ्नो समूह संस्थागत रूपमा आउनुपर्छ लाग्यो। जसअनुसार २०६७ मा गाउँकै युवापुस्तालाई समेट्दै १५ जनाको टिम बनाएर चुलाचुली थिएटरको स्थापना गरे। विद्यालय र गाउँमै थुप्रै नाटकहरू गरेका उनले २०७० मा दुई दिवसीय नाट्य उत्सव समेत गरे।

‘ब्ल्याक बक्स’भन्दा पर
आफ्नै थिएटर नहुँदा नाटक मञ्चन गर्दा निकै चुनौती भोग्नुपर्थ्यो। गाउँकै पुरानो भवन टालटुल गरेर नाटक देखाउनुपर्ने बाध्यता। त्यसमाथि कहिले बत्ती जाने त कहिले प्राविधिक समस्या। हैरान भइसकेका थिए चेतन आङथुपो।
त्यसै हैरानी र आर्थिक समस्याका कारण उनी थिएटरको विकल्प खोज्न थाले।
उनले भने, ‘ज्ञान र सीप भए पनि स्रोतसाधनको अभावले गाह्रो हुँदोरहेछ। ब्ल्याक बक्सको पनि आफ्नै सीमितता छ। त्यसभन्दा बाहिर निस्केर नाटक गर्ने सोचेँ।’
धेरैवर्षदेखि भारतको मणिपुरमा सालको रुखमुनि नाटक मञ्चन गरिँदै आएको छ। रागा जनजाति समुदायले आफ्नो संस्कृति र पर्यटनलाई प्रबर्द्धन गर्न नाटक मञ्चन गर्छ। त्यो पनि बिनासंगीत, बिनाप्रायोजक। त्यो अभ्यासलाई चेतन नियालिरहेका थिए। त्यसकै प्रभावले २०७९ मा प्रकृतिनजिक पुगेर चुलाचुली पाठशाला नाट्य महोत्सव गर्ने निधो गरे।
‘मेरो ठाउँमा चाहिँ यो होलाजस्तो लाग्यो। जुन प्रयोग नेपालमा आएको थिएन। हाम्रो चुरे ठाउँ हो। ठाउँ खोज्दै म पर्यटनक्षेत्रमा पुगेँ। सालको रुखको भेटिनँ। तर, जंगलको बीचमा खुला ठाउँ रहेछ। एफिल थिएटरको कन्सेप्टमा दुई महिना लगाएर स्टेज तयार गरेँ। जसले धेरैको ध्यान तानेको थियो। दर्शकहरूको पनि उपस्थिति राम्रो थियो,’ उनले सुनाए।

चेतन दोस्रो संस्करण पनि त्यसै क्षेत्रमा गर्ने भनेर पुगे। तर, निजी जमिन भएकाले त्यहाँ वरिपरिका रुखहरू काटिएका थिए। जसले उनलाई त्यहीँ पुरानै ठाउँमा नाटक मञ्चन गर्न मन लागेन। त्यसपछि ३०० पर हिँड्दै जाँदा सालको रुखहरू देखे। त्यसपछि अन्डर द साल ट्री कन्सेप्टमा नाटक गरेको उनी सम्झन्छन्।
‘खासमा साल पर्यावरणीय हिसाबले पनि ठिक रहेछ। सालको रुख बहुजीवन रहेछ। त्यसको छत्रछायामा जुनसुकै बिरुवा पनि हुँदोरहेछ। त्यसलै पनि यो कन्सेप्टमा काम गर्न मजा आयो,’ उनले भने।
यसैवर्ष तेस्रो संस्करणको चुलाचुली पाठशाला नाट्य महोत्सव कुनै सभा र हल नभई खुला ठाउँ पोखरीनजिक गरिएको थियो। चुलाचुली थिएटरले गाउँमा सशक्त रूपमा अभ्यास मात्रै गरिरहेको छैन, नयाँ कलाकारहरू समेत जन्माइरहेको छ। जो मोफसलदेखि राजधानीसम्म व्यस्त छन्। रंगकर्मी तथा निर्देशक अनिल सुब्बादेखि रमिता राई लगायतका कलाकारहरू चुलाचुलीकै उत्पादन हुन्।
केन्द्र र मोफसलका उस्तै समस्या
एक दशकदेखि केन्द्र मात्रै नभई गाउँगाउँमा थिएटर पुगिसकेको छ। पोखरादेखि इलाम, इटहरी, झापा, दमक, बिर्तामोड, कर्णाली लगायतका क्षेत्रमा नाटकघरहरू सञ्चालन भइरहेका छन्। यद्यपि, मिडियादेखि रंगकर्मीहरूको केन्द्रमा भने उपत्यकाका थिएटरहरू पर्छन्। राजधानीका थिएटर चर्चामा भए पनि बजारीकरण हुन नसक्नु केन्द्रसहित मोफसल समस्या रहेको चेतन आङथुपो सुनाउँछन्।

‘नेपाली रंगमञ्चमा केन्द्रदेखि गाउँमा व्यावसायिक पाटो उस्तै छ। हाम्रोमा पनि पाँच सय/तीन सय टिकट हुन्छ। यता पनि उस्तै। मेरो जहिल्यै पनि चिन्तन यहाँनिर छ। हामी संघीय राजधानी भनिरहेका छौँ। थिएटरमा बजारीकरण र व्यावसायीकरण हुनुपर्ने हो। व्यवसाय भनेको नबोलाइकन आउने चिज होला नि! गाउँमा पनि नाटक हेरिदिन भनिन्छ, सहरमा पनि। २०/३० लाख लगानी लगाइरहेका छन्। त्यो उठाउने अझै पनि बन्न सकेको छैन। राजधानी खत्रा हो भने खै त नियमित दर्शक?’ उनले प्रश्न गरे।
नेपाल संघीयतामा गएको धेरै वर्ष भइसक्यो। तर, स्थानीय र प्रदेश सरकारले भौतिक संरचनालाई मात्रै विकास मानिरहेको उनको भनाइ छ। आफूहरूले सात वर्षदेखि गाउँपालिकालाई थिएटर बनाउन जग्गा मागे पनि नदिएको उनको भनाइ छ।
‘रंगमञ्चमा सरकारको लगानी नहुँदा गाह्रो भइरहेको छ। संघीयता आएसँगै एक गाउँपालिका, एक रंगमञ्च हुनुपर्छ भनेर प्रस्ताव राखेका थियौँ। सरकारले नै जग्गा उपलब्ध गराउनुपर्छ। जुन राज्यको सम्पत्ति हुन्छ। सात वर्षदेखि यसै लडाइँमा छौँ। हुन्छ भनेर आश्वासन मात्रै दिन्छ,’ उनले बह पोखे।
Shares

प्रतिक्रिया