फिल्म ‘१२ गाउँ २’ बनाउने चर्चाबीच अभिनेता विराज भट्टले नयाँ फिल्म साइन गरेका छन्। विराजले फिल्म ‘१२ गाउँ २’को काम तत्कालका लागि पछि सार्दै नयाँ फिल्म ‘राम नाम सत्य’ साइन गरेका हुन्।
फिल्मका निर्देशक माइकल चन्द र नायक विराज भट्टविच सोमबार कागजी संझौता भएको छ। फिल्म ‘१२ गाउँ’ रिलिज भएपछि विराजको चर्चा र क्रेज फेरि एकपटक चुलिएको छ। उनलाई फिल्म अफरको लाइन लागेको छ।
तर, विराजले होम प्रोडक्सनको फिल्मको काम समेत रोकेर ‘राम नाम सत्य’ साइन गर्नुलाई महत्वका साथ हेरिएको छ। फिल्मको कथावस्तु र पटकथा निकै मन परेपछि विराज यो फिल्ममा काम गर्न तयार भएका हुन्। भट्टले पनि यो फिल्ममा काम गर्न आफू उत्साहित रहेको बताएका छन्।
म्युजिक भिडियओ निर्देशन गर्दै आएका माइकल चन्दले यो फिल्मको निर्देशन गर्न लागेका हुन्। फिल्ममा कथा पनि उनको नै छ। फिल्मको छायांकन आउँदो वर्षबाट सुरु गर्ने योजना माइकलको छ।
फिल्ममा अर्जुन पोखरेल र बाबुल गिरीको संगीत रहने पक्का भइसकेको छ। फिल्ममा उत्तम गुरुङ, उपेन्द्र शाही र स्वेता विमलीको लगानी रहनेछ। नरेन्द्र शाह र सन्तोष अर्याल फिल्मका कार्यकारी निर्माता हुन्।
यो फिल्मलाई एक्सन, लभ स्टोरी, कमेडीको कथामा निर्माण गरिनेछ। निर्देशक चन्दले दर्शकले यो फिल्ममा केही फरक र विशेष गर्ने योजना लिएका कारण नै प्रि–प्रोडक्सनमा समय लगाएको बताए। फिल्मका लागि अन्य कलाकार एकपछि अर्को रुपमा जानकारी दिदै जाने योजना निर्माणपक्षको छ।
Shares

प्रतिक्रिया